हिउँमा पाँच घण्टा
कहिल्यै हिउँ नकुल्चेको मेरा लागि उच्च हिमाली भागमा पाँच घण्टा हिउँको यात्रा गर्न पाउनु रोमाञ्चक त थियो, उत्तिकै जोखिमले भरिएको पनि थियो।
‘ह्याभ यू गन एभरेस्ट बेस क्याम्प?’
शाङ्हाईस्थित थोङ्ची विश्वविद्यालयको क्यान्टिनमा लन्चका लागि जाँदै गर्दा एक दिन फिलिपिनो साथीले सोधी।
मैले अहिलेसम्म गएको छैन भनेँ।
उसले किन नगएको भनेर सोधी। आफू बेस क्याम्प जाने योजनामा रहेको सुनाई।
तर, मसँग उसको ‘किन’ को उत्तर थिएन। त्यसैले छिटै जाने योजनामा रहेको बताएर कुराको बिट मारेँ।
डेढ वर्षअघि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूनेप) र थोङ्ची विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गरेको एक हप्ते कार्यक्रममा म नेपालबाट छनोट भएर शाङ्हाई पुगेको थिएँ। विदेशमा भएका कार्यक्रममा परिचय दिँदा नेपालबाट भनेपछि प्रायजसोले ‘माउन्ट एभरेस्ट’ को फुर्को जोडिहाल्छन्।
सोलुखुम्बु क्षेत्रमा पर्ने सगरमाथा र खुम्बु क्षेत्र धेरै विदेशीको रोजाइमा पर्छ। यूरोप, अमेरिकादेखिका पर्यटक यहाँ आउँछन्। तर, मलाई त्यो क्षेत्रमा जाने अवसर मिलेको थिएन। सहज यातायातको सुविधा नहुनु र खर्चिलो यात्रा नै त्यसका बाधक थिए।
फिलिपिनो साथीको जिज्ञासापछि भने आफ्नै देशको यति आकर्षक ठाउँ जसरी पनि जानुपर्छ भन्ने लाग्यो। तर, लागेर मात्र पनि नहुने। त्यसको समय आउनुपर्दो रहेछ। मेरा लागि त्यो समय आयो, २०७८ वैशाखको पहिलो साता।
कोभिड–१९ संक्रमण महामारीको पहिलो लहरको समयमा नै एउटा पदयात्रा गर्ने सोच बनेको थियो। बन्दाबन्दीको बेला घरमा बस्दा पदयात्रा सम्बन्धी धेरै भिडिओ हेरेपछि त्यस्तो हुटहुटी जागेको थियो। तर, जाने कहाँ, टुंगो थिएन।
स्थानीयहरूका अनुसार, कोरोना महामारी शुरू हुनुअघि खुम्बु क्षेत्रमा जाने नेपालीहरू भनेका विदेशी पर्यटकका भारी बोक्नेहरू मात्र हुन्थे। होटल व्यवसायीहरू पनि नेपालीहरूलाई पर्यटक नै मान्दैनथे। मेरा कतिपय चिनजानका साथीहरूले बास नपाएको र होटलबाट निकालिनुपरेको कुरा सुनाएका थिए। तर, कोरोना महामारीपछि त्यो अवस्थामा पूरै परिवर्तन आएछ।
गन्तव्यको सूची बनाउने क्रममा गोक्यो, मनास्लु, अन्नपूर्ण पदमार्ग, हुम्लाको लिमी उपत्यका विकल्पका रूपमा थिए। अन्ततः योजना बन्यो खुम्जुङ–गोक्यो जाने। यो यात्रा रोज्नुको कारण थियो, नजिकैबाट सगरमाथा लगायत अन्य हिमालको दृश्यावलोकन गर्न पाइने विश्वमै चर्चित गन्तव्य। साथै, यस वर्ष महामारीका कारण विदेशी पर्यटकको चाप नभएकाले सहज रूपमा होटल र हवाई टिकटको उपलब्धताले पनि यात्राको योजनामा पखेटा लगाइदिएको थियो।
तर, रहरले मात्र त्यति उच्च भेगमा पुग्न सजिलो थिएन। किनभने, पैदल हिँड्न सक्नुपर्थ्यो। पहाडमा जन्मे–हुर्केको भए पनि मेरो हिँड्ने बानी बिग्रिसकेको थियो।
गत असोजमा खप्तड जाँदा हिँडाइमा म कति कमजोर रहेछु भन्ने थाहा पाएको थिएँ। उकालो छिचोल्न नसकेर बीच बाटोबाटै फर्कने अवस्थामा पुगेको थिएँ।
यसरी त हुँदै भएन भनेर असोजदेखि नै हिँड्ने अभ्यास गर्न थालेँ। तर, मंसीरको पहिलो साता कोरोनाले थलिएपछि त्यसमा ब्रेक लाग्यो। गत माघदेखि हिँड्ने बानीको फेरि अभ्यास गरेँ। साप्ताहिक रूपमा हाइकिङको योजना बनाएर काठमाडौं वरिपरिका प्राय: सबै डाँडाकाँडा पुगेँ। बिस्तारै उकालो–ओरालो मेरा लागि सहज हुन थाल्यो।
फेरिएको आतिथ्य
४ वैशाखमा काठमाडौं छोड्दा कोरोनाभाइरसको दोस्रो लहरले विकराल रूप लिइसकेको थिएन। त्यसैले होला, हामीजस्तै खुम्बु क्षेत्रमा पदयात्रा र सगरमाथा आरोहणका लागि जाने विदेशी र नेपाली त्रिभुवन विमानस्थलमा भेटिए। विमानस्थलमा पदयात्राका लागि जाने विदेशीसँगै स्वदेशीको भीडभाड देखेपछि लाग्यो, कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रले बिस्तारै लय समात्न थालेछ।
यस्तो दृश्य लुक्लामा अवतरण गरेपछि पनि देखियो। लुक्ला विमानस्थलमा विमान कम्पनीलाई भ्याइनभ्याई थियो भने, आउने–जाने मानिसको संख्या पनि उस्तै।
लुक्ला अवतरण गरेपछि हाम्रो पदयात्रा शुरू भयो। लुक्लाका होटल व्यवसायीले कोरोना महामारीपछि पर्यटकको आगमन शुरू भएको भन्दै राहतको महसूस गरेको सुनाए। गोक्योसम्म पुग्दा सबै व्यवसायीको अनुभव त्यस्तै थियो।
लुक्ला अवतरण गरेर अगाडि बढ्दा एउटै डिजाइन र हरियो टिनले छाएका घर देखिए। समान डिजाइनका होटल र पसलमा चिटिक्क सजाइएका सामान। अर्कै देशमा छु कि भन्ने अनुभूति भयो। जताततै सफा सडक। नाम्चे भने ठमेलभन्दा फरक रहेनछ।
खुम्बु क्षेत्र विश्वमै चर्चित पर्यटकीय गन्तव्य हो। विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि ८ हजार मिटरमाथिका अन्य दुई हिमाल पनि यसै क्षेत्रमा पर्छन्। यो क्षेत्रमा पुग्ने धेरै मानिसको सपना हुन्छ।
स्थानीयहरूका अनुसार, कोरोना महामारी शुरू हुनुअघि उक्त क्षेत्रमा जाने नेपालीहरू भनेका विदेशी पर्यटकका भारी बोक्नेहरू मात्र हुन्थे। होटल व्यवसायीहरू पनि नेपालीहरूलाई पर्यटक नै मान्दैनथे। मेरा कतिपय चिनजानका साथीहरूले बास नपाएको र होटलबाट निकालिनुपरेको कुरा सुनाएका थिए।
तर, कोरोना महामारीपछि त्यो अवस्थामा पूरै परिवर्तन आएछ। खुम्बु क्षेत्रमा घुम्न जाने नेपालीहरू प्रशस्त बढेका छन्। मन्जोस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार कार्यालयका अनुसार, कोरोनाको दोस्रो लहर शुरू हुनुअघि खुम्बु क्षेत्रमा जाने नेपालीको संख्या सरदर दैनिक एक सयको हाराहारीमा थियो। विदेशीको संख्या पनि झन्डै त्यति नै।
होटल व्यवसायीका अनुसार, खुम्बु क्षेत्रमा नेपाली नजानुमा दुई मुख्य कारण रहेछन्। पहिलो, काठमाडौंदेखि लुक्लासम्म नेपालीलाई टिकट नै पाउन गाह्रो। दोस्रो, होटल व्यवसायीहरूले नेपालीहरूलाई प्राथमिकता नदिने।
तर, कोरोना महामारीको पहिलो लहरले विदेशी पर्यटक आउन रोकिएपछि भने नेपालीहरू जाने क्रम शुरू भएको रहेछ। जोरसल्लेमा होटल व्यवसाय गर्ने शान्तबहादुर सुनुवारका भनाइमा नेपाली पर्यटकहरूले पनि विदेशीले जस्तै खर्च गर्ने गरेका छन्। लुक्लादेखि गोक्योसम्म पाँच दिनको पदयात्रामा विभिन्न स्थानमा भेटिएका व्यवसायीको अनुभव शान्तबहादुरको भन्दा फरक थिएन।
लुक्ला अवतरण गरेर अगाडि बढ्दा एउटै डिजाइन र हरियो टिनले छाएका घर देखिए। समान डिजाइनका होटल र पसलमा चिटिक्क सजाइएका सामान। अर्कै देशमा छु कि भन्ने अनुभूति भयो। जताततै सफा सडक। फोहोर संकलनका लागि सडकमा ससाना बाकस राखिएका थिए। नाम्चे भने ठमेलभन्दा फरक रहेनछ।
हिमपातमा रमाइलो र डर
हिमाली भेगको यात्रा मेरा लागि नौलो थियो। तीन हजार मिटरभन्दा माथि हिँडेर पुगेको अनुभव थिएन। हाम्रो गन्तव्य गोक्यो झन्डै ४ हजार ८०० मिटरको उचाइमा थियो।
मचेर्मो आइपुगेपछि हिमपात शुरू भइहाल्यो। मचेर्मोमा दिनभर पुराना मानिसहरूसँग कुराकानी गरेर हिमालमा देखिएका परिवर्तनबारे अनुभव सुन्ने मेरो योजना हिमपातले बिथोल्यो।
लेकतिर उक्लिँदा अक्सिजनको मात्रा घट्ने र लेक लाग्ने खतरा थियो। त्यसैले बिस्तारै स्थानीय हावापानीमा अनुकूलित हुँदै जानुपर्ने अवस्था थियो। तर, टोलीमा रहेका हामी चार सदस्य पूर्वनिर्धारित योजनाभन्दा एक दिनअघि नै अन्तिम गन्तव्यमा पुग्यौं।
चौथो दिनको गन्तव्य चार हजार ४०० मिटर उचाइमा रहेको मचेर्मो थियो। डोलेबाट बिहान ८ बजे हिँडेका हामी मध्याह्न १२ बजे नै मचेर्मो पुग्यौं। त्यहाँबाट गोक्यो पुग्न झन्डै चार घण्टा हिँड्नुपर्ने रहेछ।
हामी छिटो पुगेका कारण मचेर्मोका आङनोरु शेर्पाले फटाफट गोक्योतिर बढ्न सुझाव दिए। त्यति उचाइसम्म पुग्दा हाम्रो टीमका कसैमा पनि कुनै स्वास्थ्य समस्या देखिएको थिएन। यसैले शेर्पाकहाँ खाना खाएर उनकै सुझाव शिरोपर गर्दै गन्तव्यतिर लम्कियौं।
करीब पाँच घण्टामा गोक्यो पुग्यौं। गोक्यो तालकै छेउमा रहेको होटल थाङ्काई इनमा हाम्रो बास भयो। विदेशीले भरिभराउ थियो होटल।
अर्को दिन गोक्यो रि पुगेर त्यहाँबाट हिमाल दृश्यावलोकन गर्ने र दिउँसो मचेर्मो फर्केर बास बस्ने पूर्वनिर्धारित कार्यक्रम थियो। बिहान उठ्दा हिमाललाई बादलले छपक्कै ढाकेको थियो, आकाश पनि धुम्मिएको थियो।
मौसमको त्यो अवस्था देखेर जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गर्ने बुलेटिन हेरेँ। हिमाली भेगमा हिमपात र पहाडमा वर्षाको सम्भावना देखाएको रहेछ। त्यसपछि मैले व्यक्तिगत रूपमा गोक्यो रि जाने कार्यक्रम स्थगन गरेँ। टीमका साथीहरूलाई भने सम्भावित मौसमको बारेमा बताइनँ। यसो गर्नुको कारण थियो, नकारात्मक कुरा गर्ने भनेर साथीहरू रिसाउने जोखिम। बरु आफूलाई हिँड्न गाह्रो भएको बताएर फर्कने योजना सुनाएँ।
साँझ मचेर्मोमै बास बस्ने सल्लाह गरेर साथीहरू गोक्यो रि उक्लिनुभयो, म चाहिँ मचेर्मोतिर लागेँ। म मचेर्मो आइपुगेपछि हिमपात शुरू भइहाल्यो। मचेर्मोमा दिनभर पुराना मानिसहरूसँग कुराकानी गरेर हिमालमा देखिएका परिवर्तनबारे अनुभव सुन्ने मेरो योजना हिमपातले बिथोल्यो। होटल बाहिर निस्किन सक्ने अवस्था रहेन।
हिमपात भएपछि साथीहरू पूर्वनिर्धारित कार्यक्रम अनुसार त्यस दिन मचेर्मो फर्कन सक्नुभएन। साथीहरू बसेको होटलका सञ्चालक पासाङ छिरिङ मार्फत सम्पर्क भयो। हिमपात व्यापक भएकाले बाटो बिराइने डरले साथीहरूले मलाई अघि नबढ्न सल्लाह दिँदै अर्को दिन बिहान आउने बताउनुभयो।
तर, अर्को दिन बिहानदेखि झन् ठूलो हिमपात भयो। साथीहरू हिँड्न सक्नुभएन। हिमपातका कारण अघिल्लो दिन मचेर्मोमै रोकिएको २० जना विदेशीको एउटा टोली नेपाली गाइडहरूको सहयोगमा हिमपातका बीच अघि बढ्यो।
दिउँसो तीन बजेदेखि हिमपात हुन रोकियो। विदेशीहरू गोक्योतर्फ लागेको बताएपछि साथीहरू हिँड्न तयार हुनुभयो। हिमपातमा लडीबुडी गर्दै साँझ साढे ६ बजेतिर मचेर्मो आइपुग्नुभयो।
अर्को दिन ८ बजे ब्रेकफास्ट खाएर नाम्चेतिर लाग्यौं। संयोग कस्तो भने, गोक्यो जाँदा छ्याङ्ग खुलेको मौसमले रङ फेरेर फर्कँदा भने हिमपातले बाटो सेताम्मे भएको थियो। झन्डै पाँच घण्टा हिउँमा रमाउँदै हिँड्ने अवसर जुरायो।
तर, मेरा लागि यो अवसरसँगै जोखिम पनि थियो। अवस्था कस्तो थियो भने, दुई दिनअघि फटाफट हिँडेर गएको बाटो हिमपातका कारण पहिल्याउनै सकिँदैनथ्यो। धन्न हामीभन्दा अगाडि एक–दुई जना हिँडेकाले पाइलाको छापले थोरतिनो संकेत दिन्थ्यो। तर, बाटो अप्ठेरो थियो। घुँडासम्म हिउँ आउँथ्यो।
कतैकतै खुट्टाले बाटो बिराउँदा तल एकैचोटि दूधकोशीमा पुग्ने डर थियो। एक–दुई स्थानमा त चिप्लिँदा लडियो भन्ने लागेको थियो। तर, कसोकसो लठ्ठीको सहाराले लड्नबाट बचियो र सकुशल फर्किन सकियो।
हेर्नुस् खुम्बु क्षेत्रको यात्रामा खिचिएका हिमालका तस्वीर-झलक: