के कोभिड-१९ संक्रमित बिरामीको हेरविचार घरमै गर्न सकिन्छ?
एक वर्षभन्दा पनि बढी भइसक्यो, कोभिड–१९ महामारीले हामीलाई सताएको। अहिले त झन् यसको दोस्रो लहर आएको छ। भाइरसको पहिलेभन्दा कडा भेरिएन्टले संक्रमितको संख्या मात्र होइन, ज्यान गुमाउने पनि बढेका छन्। जोखिमसँगै कोरोना भाइरसको प्रकृति, संक्रमण, उपचारको विधि र प्रक्रिया हाम्रा जिज्ञासा पनि बढेका छन्। रहस्यजस्तो गरी।
तपाईंका यिनै जिज्ञासाको जवाफ खोज्न सघाउने उद्देश्यले हिमालखबरले एउटा स्तम्भ थालनी गरेको छ- कोभिड-१९ः जिज्ञासा र जवाफ।
यो स्तम्भमा कोभिड-१९ महामारीबारे तपाईंका जिज्ञासा, प्रश्न हामीलाई निम्न ठेगानामा पठाउनुहोस्, हामी सम्बन्धित विज्ञ, सरकारी अधिकारी, जनप्रतिनिधि लगायतसँग त्यसको जवाफ खोज्ने प्रयत्न गर्नेछौं। यो स्तम्भको आरम्भमा हामीले केही प्रश्न वैज्ञानिक नेपाल ई–प्लेटफर्म हालै प्रकाशित ‘कोरोनाका सय सवाल’ पुस्तिकाबाट लिएका छौं।
के कोभिड–१९ संक्रमित भएका बिरामीको हेरविचार घरमा नै गर्न सकिन्छ?
चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूबाट संक्रमणको पुष्टि भइसकेका, तर लक्षण नदेखिएका व्यक्तिहरू आफ्नो स्वास्थ्य अवस्था हेरी घरमा नै सेल्फ आइसोलेसनमा बस्न सक्छन्। यसका लागि उमेर ६० वर्षभन्दा कम, धूमपान नगर्ने, मोटोपन नभएको हुनुपर्छ। तर, हृदयरोग, मधुमेह, मेलेटस (लामो अवधिसम्म रगतमा उच्च चिनीको मात्रा भएका), फोक्सो सम्बन्धी रोग, क्यान्सर, मिर्गौला रोग र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको भने हुनु हुँदैन।
संक्रमित व्यक्तिहरूलाई पारिवारिक पृष्ठभूमि, व्यवस्थापन गर्नसक्ने क्षमताको मूल्यांकन गरी परिवारका सदस्यहरूले सामूहिक रूपमा प्रयोग गर्ने स्थानहरूलाई सीमित गर्ने, स्वास्थ्य सुझावहरूको पालना गर्ने, बिरामीको स्वास्थ्य अवस्थाको राम्रो पहिचान गर्नसक्ने, अवस्था जटिल बन्दै गएका लक्षणहरू देखिएमा जानकारी गराउनसक्ने क्षमता र आवश्यक परेमा स्वास्थ्यकर्मीहरूको सहयोग समेत तुरुन्त लिनसक्ने अवस्था भएमा कोभिड–१९ का बिरामीको हेरविचार घरमै गर्न सकिन्छ।
प्रशिक्षित स्वास्थ्यकर्मीले समेत घरमा कोभिड–१९ का बिरामीको हेरविचार गर्न उपयुक्त छ कि छैन भन्ने मूल्यांकन गर्दा केही आधारभूत पूर्वाधारका अवस्थाहरू हेर्नुपर्छ। ती हुन्– घरमा छुट्टै बस्न मिल्ने अवस्था छ वा छैन, संक्रमण नियन्त्रण गर्न सकिने वा नसकिने, समय समयमा स्वास्थ्यकर्मीहरूबाट फोन वा अन्य कुनै दूरसेवा दिन सकिन्छ वा सकिँदैन, आदि।
कोभिड–१९ का बिरामीकाे घरमै हेरचाह भइरहेको छ भने घरका अन्य मानिसहरूलाई संक्रमण हुनबाट बचाउन के गर्नुपर्छ?
- बिरामी व्यक्तिलाई छुट्टै कोठामा राख्नुपर्छ। त्यस्तो गर्न सम्भव नभए कम्तीमा एक मिटर दूरी कायम हुने व्यवस्था गर्नुपर्छ।
- बिरामी बसेको कोठा, सामूहिक स्थान, झ्यालढोकाहरूमा हावा राम्रोसँग खेल्नुपर्छ।
- कसैसँग एक मिटरभन्दा कम दूरीको अवस्था रहेमा अनिवार्य रूपमा बिरामी व्यक्तिले मेडिकल मास्क लगाउनुपर्छ।
- घरमा पाहुनाहरूलाई आउन अनुमति दिनु हुँदैन।
- सम्भव भएसम्म सीमित व्यक्तिहरू मात्र हेरविचारमा सहभागी हुनुपर्छ।
- हेरविचारकर्ता, घरका सदस्यहरू, बिरामी एकै कोठामा रहँदा अनिवार्य रूपमा मेडिकल मास्क लगाउनुपर्छ र यस्तो अवस्थामा अरूको मास्क, अनुहार छुने गर्नु हुँदैन। कोठा छोडिसकेपछि मास्क सुरक्षित स्थानमा फाल्ने र साबुन पानीले २० सेकेन्डसम्म हात धुने गर्नुपर्छ। साबुन पानी उपलब्ध नभएमा अल्कोहलयुक्त सेनिटाइजरले हात सफा गर्नुपर्छ।
- बिरामी व्यक्तिले प्रयोग गर्नका लागि छुट्टै भाँडाकुँडा, कप, रुमालको व्यवस्था गर्नुपर्छ। प्रयोगपछि ती सामग्री साबुन पानीले राम्रोसँग सफा गर्नुपर्छ। यी सामग्री अन्य सदस्यहरूले प्रयोग गर्नु हुँदैन।
- बिरामी व्यक्तिले प्रयोगमा ल्याएका सामग्री कम्तीमा दिनको एक पटक सफा गरी कीटाणुमुक्त गर्नुपर्छ।
- घरका सबै सदस्यहरूले नियमित रूपमा साबुन पानीले हात धुनुपर्छ। विशेषगरी खोक्दा र हाच्छ्युँ गरेपछि, खाना तयार गर्नुअघि र पछि, शौचालय गएपछि, बिरामीको हेरचाह गर्नु पहिले र पछि साबुन पानीले हात धुनुपर्छ।
- खोक्दा, हाच्छ्युँ गर्दा कुहिनो वा टिस्यु पेपरले छोप्नुपर्छ र तत्काल त्यसलाई सुरक्षित रूपमा फ्याँक्नुपर्छ।
बिरामी व्यक्तिले प्रयोग गरेका फोहोरहरूलाई झोलामा बलियोसँग गाँठो पारी सुरक्षित रूपमा फाल्नुपर्छ।
कोभिड–१९ भएका मानिसहरू कहिलेसम्म घरमा छुट्टै बस्नुपर्छ?
कोभिड–१९ भएका व्यक्तिहरू कोरोनाभाइरसको संक्रमणमुक्त नहुँदासम्म बेग्लै बस्नुपर्छ।
- लक्षण देखिएको दिनदेखि कम्तीमा १० दिन, साथै लक्षण अन्त्य भएको अर्को तीन दिन समेत छुट्टै बस्नुपर्छ। यस्तो अवस्थामा श्वासप्रश्वासमा कुनै समस्या र ज्वरो आएको हुनु हुँदैन।
लक्षण नदेखिए पनि संक्रमण पुष्टि भएको दिनदेखि १० दिन छुट्टै बस्नुपर्छ।
कोभिड–१९ महामारीको सन्दर्भमा सबै व्यक्तिहरूले आफू र अरूलाई बचाउन गर्नुपर्ने उपायहरू के के हुन्?
चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूबाट संक्रमणको पुष्टि भइसकेका, तर लक्षण नदेखिएका व्यक्तिहरू आफ्नो स्वास्थ्य अवस्था हेरी घरमा नै सेल्फ आइसोलेसनमा बस्नसक्छन्। यसका लागि उमेर ६० वर्षभन्दा कम, धूमपान नगर्ने, मोटोपन नभएको हुनुपर्छ। तर, हृदयरोग, मधुमेह, मेलेटस (लामो अवधिसम्म रगतमा उच्च चिनीको मात्रा भएका), फोक्सो सम्बन्धी रोग, क्यान्सर, मिर्गौला रोग र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको भने हुनु हुँदैन।
संक्रमित व्यक्तिहरूलाई पारिवारिक पृष्ठभूमि, व्यवस्थापन गर्नसक्ने क्षमताको मूल्यांकन गरी परिवारका सदस्यहरूले सामूहिक रूपमा प्रयोग गर्ने स्थानहरूलाई सीमित गर्ने, स्वास्थ्य सुझावहरूको पालना गर्ने, बिरामीको स्वास्थ्य अवस्थाको राम्रो पहिचान गर्न सक्ने, अवस्था जटिल बन्दै गएका लक्षणहरू देखिएमा जानकारी गराउनसक्ने क्षमता र आवश्यक परेमा स्वास्थ्यकर्मीहरूको सहयोग समेत तुरुन्त लिनसक्ने अवस्था भएमा कोभिड–१९ का बिरामीको हेरविचार घरमै गर्न सकिन्छ।
प्रशिक्षित स्वास्थ्यकर्मीले समेत घरमा कोभिड–१९ का बिरामीको हेरविचार गर्न उपयुक्त छ कि छैन भन्ने मूल्यांकन गर्दा केही आधारभूत पूर्वाधारका अवस्थाहरू हेर्नुपर्छ। ती हुन्– घरमा छुट्टै बस्न मिल्ने अवस्था छ वा छैन, संक्रमण नियन्त्रण गर्न सकिने वा नसकिने, समय समयमा स्वास्थ्यकर्मीहरूबाट फोन वा अन्य कुनै दूरसेवा दिन सकिन्छ वा सकिँदैन, आदि।
मास्क र पन्जाले कोरोना संक्रमण नियन्त्रण गर्नसक्छन्?
मास्क र पन्जा राम्रोसँग प्रयोग गरेमा कोभिड–१९ धेरै हदसम्म नियन्त्रण गर्नसक्छन्। मास्कले संक्रमित व्यक्तिमा भएको कोरोनाभाइरस श्वासको माध्यमबाट बाहिर आउन दिँदैन जसले गर्दा अरूलाई रोग सर्ने जोखिम कम हुन्छ। त्यसमाथि सामाजिक दूरी (६ फीट) कायम गरेको छ भने रोग सर्ने सम्भावना कम हुन्छ।
घरबाहिर जाँदा सधैं मास्क लगाउनुपर्छ। बजारमा पाइने कपडाका साधारण मास्कदेखि एन–९५ मास्कसम्म चित्रमा देखाएजस्तै सही तरिकाले लगाए यो रोग नियन्त्रण गर्न धेरै मद्दत पुग्छ। बाहिरबाट मास्क लगाएर घरभित्र पुगेपछि सही तरिकाले फुकालेर सुरक्षित राख्नुपर्छ।
कपडाको मास्क बराबर धोएर सफा राख्नुपर्छ भने अरू मास्क सेनिटाइजर स्प्रे गरी कोठामा २-३ दिन झुन्ड्याएर फेरि लगाउन सकिन्छ। तर, अस्पताल वा कोभिड–१९ संक्रमित व्यक्ति भेट्न जाँदा लगाएको मास्क फोहोर फाल्ने भाँडोमा राम्रोसँग मिल्काउनुपर्छ। काम गर्ने बेला लगाएको हातको पन्जा पनि बराबर साबुन पानीले धुनुपर्छ। पन्जालाई सेनिटाइजरले पनि सफा गर्न सकिन्छ।
(यो जानकारी वैज्ञानिक नेपाल ई–प्लेटफर्मले तयार पारेको पुस्तक ‘कोरोनाका सय सवाल’ बाट लिइएको हो। )