पर्यटक पर्खिरहेछ नेपालभित्रको अर्को ‘श्रीलंका’
कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने कोशी नदीको भँगालोमा अवस्थित श्रीलंका टापुलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
कोशी नदी र त्यसको पश्चिमी भँगालोबीचमा एउटा टापु छ, ‘श्रीलंका’। समुद्रबीच तैरिएको जस्तो देखिने श्रीलंका देश झैं छ, कोशीबीचको श्रीलंका टापु। यही टापुलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ।
यो टापु रहेको वराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल श्रीलंका टापुलाई कृषि पर्यटनको केन्द्र बनाउन सकिने बताउँछन्। “श्रीलंका टापुको मुख्य आकर्षण नै त्यहाँको कृषि र पशुपालन हो, हामीले कृषि र पशुपालन हेर्नलाई पर्यटकीय गन्तव्य बनाउनुपर्दछ भनेर लागेका छौं,” खनाल भन्छन्।
यो टापु उदयपुरको बेलका नगरपालिका-२ र सुनसरीको वराहक्षेत्र नगरपालिका-६ र ८ मा पर्छ। पूर्वतर्फबाट टापु पुग्न डुंगा चढ्नुपर्छ भने कोशीको पश्चिम भँगालोमा उदयपुरतर्फबाट झोलुंगे पुल छ।
बराह नगरपालिका-६ श्रीलंका टापुका अर्जुन चन्द्रवंशीका अनुसार, अहिले मानिसको बसोबास रहेको यो क्षेत्रमा पाँच दशकअघि कोशी बग्थ्यो। २०२५ सालमा कोशीले धार परिवर्तन गरेपछि पूर्व क्षेत्रबाट बग्न थाल्यो। अहिले कोशी बगिरहेको प्रकाशपुर क्षेत्रका बासिन्दा बिस्तारै पश्चिमतर्फ सर्न थाले। र, यो श्रीलंका टापु बस्तीमा परिणत भयो।
कोशी नदीको यो बगर क्षेत्र अन्न उत्पादनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। तरकारी, गहुँ र मकै यहाँका मुख्य उत्पादन हुन्। बराह क्षेत्रका नगर प्रमुख खनाल कृषि पर्यटनको नयाँ गन्तव्य बन्ने बताउँछन्। उनी भन्छन्, “बजेट लगानीको हिसाबले हाम्रो क्षमताभन्दा बाहिरको विषय भएकाले प्रदेश सरकारसँग अनुरोध गरेका छौं।”
भौतिक पूर्वाधारको अभाव
स्थानीयका अनुसार, श्रीलंका टापुलाई २०४९ सालअघि ‘गराई टापु’का नामले चिनिन्थ्यो। गराई माछाको नाम हो। त्यही माछाको नामबाट टापुको नाम राखिएको स्थानीय राजवंशी बताउँछन्।
२०४९ सालमा तत्कालीन प्रकाशपुर गाउँ विकास समितिका अध्यक्ष पदमबहादुर खड्काले यो ठाउँको नाम परिवर्तन गरेर श्रीलंका टापु राखे। “चारैतिरबाट समुद्रले घेरिएको श्रीलंका देश जस्तै यो ठाउँ पनि बर्खाको समयमा सबैतिरबाट कोशीले घेरिने र समुद्र जस्तै देखिने भएकाले उहाँले श्रीलंका नाम राख्नुभएको हो,” राजवंशी भन्छन्, “त्यसपछि सबैले श्रीलंका भन्न थाले।”
कोशी नदीको भँगालोमा अवस्थित श्रीलंका टापुसम्म पुग्न सडक यातायातका साथै भौतिक पूर्वाधारको अभाव छ। यसको पूर्वतर्फको प्रकाशपुरबाट डुंगामा हेलिएर कोशी तर्नुपर्छ। यो निकै जोखिमपूर्ण हुन्छ।
पश्चिमतर्फ सप्तरीको कञ्चनरूप हुँदै फत्तेपुर भएर उदयपुरको अम्बासीबाट श्रीलंका टापु पुग्न सकिन्छ। अम्बासीसम्म कालोपत्रे सडक भए पनि त्यसभन्दा पूर्व १० किलोमिटर सडक कच्ची छ। जहाँ साना गाडी गुड्न सक्दैनन्।
यसबाहेक श्रीलंका टापुमा खाने तथा बस्ने सुविधा छैन। टापुभित्र गाडी गुड्न सक्ने सडकको अभाव छ। उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापा श्रीलंका टापु पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको गन्तव्य बन्नसक्ने भए पनि स्थानीय तहको प्रयासले सम्भव नहुने बताउँछन्। “बृहत्तर योजना चाहिन्छ, हाम्रो प्रयासले भ्याउँदैन, त्यसैले प्रदेश सरकारलाई गुहारेका हौं,” उनी भन्छन्।
श्रीलंका टापुसहितका क्षेत्रलाई समेटेर प्रदेश १ सरकारले पर्यटकीय गन्तव्य बनाउने प्रयास थालेको छ। प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसयैत कोशी ब्यारेज, कोशी वन्यजन्तु आरक्ष, रामधुनी, वराह क्षेत्र र श्रीलंका टापुसहितलाई जोडेर पर्यटकीय गन्तव्य निर्माण गर्ने उद्देश्यले नीति तथा कार्यक्रममै समावेश गरिएको बताउँछन्।
मन्त्री कुसयैत यसलाई पर्यटकीय गन्तव्य बनाउने काम थालिएको बताउँछन्। “श्रीलंका टापु कृषि पर्यटनको राम्रो सम्भावना भएको क्षेत्र हो, त्यसैले श्रीलंकालाई कोशी टप्पु वन्यजन्तु आरक्ष, कोशी ब्यारेजसँग जोडेर अध्ययन गराउने तयारीमा छौं,” उनी भन्छन्, “कोशी ब्यारेज हेर्नकै लागि आउने मानिसको भीड हुन्छ। ती मानिसलाई आरक्षसहित श्रीलंका टापु तथा वराह क्षेत्रसम्म पुर्याएर पर्यटकीय गतिविधि बढाउने हाम्रो लक्ष्य छ।”
गैंडाको वासस्थान!
स्थानीय सरकार तथा प्रदेश सरकारको ध्यान श्रीलंका टापुलाई पर्यटकीय गन्तव्य बनाउनेतर्फ केन्द्रित भए पनि संघीय सरकारका अधिकारी भने कोशी वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा अवस्थित श्रीलंका टापुमा रहेको मानव बस्तीलाई खाली गर्नुपर्ने बताउँछन्। मानव बस्तीलाई खाली गरेर त्यहाँ अर्नाको वासस्थानलाई वृद्धि गर्नुपर्ने उनीहरूको तर्क छ।
कोशी टप्पुमा अहिले ४७५ अर्ना छन्। त्यसबाहेक यो क्षेत्र गैंडाको राम्रो वासस्थान बन्नसक्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव (प्राविधिक) नारायण रूपाखेती बताउँछन्। उनका भनाइमा यो क्षेत्र गैंडाका लागि उपयुक्त वासस्थान हो।
कोशी टप्पुका प्रमुख संरक्षण अधिकृत अशोक राम पनि कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्र साँघुरो भएकाले विस्तार गर्नुपर्ने बताउँछन्। यसका लागि श्रीलंका टापुबाट मानव बस्तीलाई हटाउनुपर्ने उनको भनाइ छ।