कोरोनाका जति भेरिएन्ट देखिए पनि जोगिने उपाय भनेको 'लक-इन' नै हो
कोभिड–१९को दोस्रो लहर, कोरोनाभाइरसको स्वभाव, यसको नयाँ भेरिएन्ट र सुरक्षाका उपायबारे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलोजी विभागकी पूर्वप्रमुख प्रा.डा. बसुधा खनालसँगको अन्तर्वार्ता।
हिमालखबर: कोरोना भाइरस ‘म्युटेट’ भएर भाइरसको नयाँ भेरिएन्ट बनेको र त्यसैले अहिलेको संक्रमणमा बढी क्षति भइरहेको भनिँदै छ। भाइरस म्युटेट र भेरिएन्ट कसरी हुन्छ?
प्रा.डा.बसुधा खनाल: म्युटेसन वा उत्परिवर्तन आनुवंशिक चरित्र बोक्ने जीनको अनुक्रम (सिक्वेन्स)मा हुने फेरबदल हो। रिबोन्युक्लिक एसिड (आरएनए) भाइरसमा सामान्यतया उत्परिवर्तनको दर बढी हुन्छ। सार्स कोभ–२ पनि आरएनए भाइरस हो। त्यसैले यसमा पनि उत्परिवर्तन भइरहेका छन्। जीनमा हुने एकभन्दा बढी उत्परिवर्तनले भाइरसको चरित्रमा केही भिन्नता (भेरिएसन) ल्याउँछ। चरित्र परिवर्तन भएको त्यही भाइरसलाई पहिलेको भाइरसको भेरिएन्ट भनिन्छ।
म्युटेसन नियमित जैविक प्रक्रिया हो। तीव्र गतिमा म्युटेसन हुने सम्भावना भाइरसको तीव्र फैलावटसँगै बढेर जान्छ। यसको साथै भाइरसविरुद्धका औषधिहरू, जनस्वास्थ्यका उपायहरूको प्रभाव, भाइरसविरुद्ध विकसित भएको प्रतिरक्षाको असरले आफ्नो बचावटका लागि यो भाइरसले चरित्र बदल्न जेनेटिक भेरिएसनका तरिका उपयोग गर्छ। भाइरसको म्युटेसन दर जति बढ्छ त्यति नै भेरिएन्ट देखापर्छन्। परिवर्तित स्वरूपका केही भेरिएन्ट जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने किसिमका पनि छन्।
भाइरस म्युटेट भइरहने, नयाँ भेरिएन्ट बनाइरहने हो भने त यो महामारीको अन्त्य कहिल्यै नहुने हो त?
अरू संक्रामक रोग जस्तै कोभिड–१९ पनि भाइरस र मानव जातिबीचको युद्ध हो। बढ्दो संक्रमणसँगै भाइरस जति फैलिरहन्छ त्यति नै म्युटेसन भएर नयाँ भेरिएन्ट बनाउने क्रम पनि भइरहन्छ।
तर, समय र अवस्था अनुसार भेरिएन्ट सधैं शक्तिशाली रूपमा नरहन पनि सक्छ। भाइरसले फैलने मौका पाएन भने यो कमजोर भएर जान्छ। जनस्वास्थ्यका नियमहरू पालन गरिए र धेरै जनसंख्यामा भाइरसविरुद्ध प्रतिरक्षा विकास भएजस्तै खोपको प्रभावले भाइरस फैलन पाउँदैन।
भाइरसले नयाँ भेरिएन्ट बनाउने प्रक्रिया स्वाभाविक भइहाल्यो। तर, कोरोनाभाइरसको चरित्र चाहिँ अलि भिन्न हो?
भाइरसको उत्परिवर्तन भएर भेरिएन्ट बन्ने प्रक्रिया नयाँ होइन र यो सार्स कोभ–२ को मात्र चरित्र पनि होइन। आरएनए भाइरस धेरै उत्परिवर्तन हुने भए पनि तुलनात्मक रूपमा कोरोना भाइरसको उत्परिवर्तनको दर कम हुन्छ। बेलाबेलामा महामारी गराउने इन्फ्लुएन्जा भाइरस त सार्स कोभ २ भन्दा तीव्र गतिमा म्युटेसन हुने, आरएनएको सेगमेन्टहरूको मिश्रण नयाँ भेरिएन्टहरू बनाइरहने भाइरस हो।
कतिपयले कोभिड–१९ विरुद्ध अहिले बनाइएको खोप कोरोनाको नयाँ भेरिएन्टविरुद्ध धेरै काम नगर्ने बताइरहेका छन्। यो कत्तिको सत्य हो?
अहिलेसम्म निर्माण भएका खोपहरू विभिन्न तरिकाले बनेकाले प्रभावकारिता पनि फरक फरक छ। हामीकहाँ उपलब्ध खोप भारतको कोभिशिल्ड र चीनको भेरोसेल बेलायतको–यूके भेरिएन्टविरुद्ध पनि प्रभावकारी भनिन्छ। अरू भेरिएन्टको विरुद्धमा यी खोपको प्रभावकारिताबारे पूर्ण जानकारी आइसकेको छैन।
कोभिड–१९ महामारी रोकथामका लागि खोप नै अन्तिम उपचारविधि हो वा उपचारका अन्य उपाय पनि छन्?
कोभिड– १९ महामारी रोकथामका लागि खोप सँगसँगै संक्रमण फैलिन रोक्ने जनस्वास्थ्यका उपायहरू अवलम्बन गर्न जरुरी छ।
खोपले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाएर भाइरसलाई परास्त गराउँछ। संक्रमण रोक्न भनौं वा ‘चेन अफ ट्रान्समिसन तोड्न’ जनस्वास्थ्यका उपायहरू जस्तै, मास्कको सही प्रयोग, भौतिक दूरी कायम राख्ने, हात सफा गरिरहने, भीडभाडमा नजाने, भीडभाड नगर्ने–नगराउने, बन्द ठाउँ (क्लोज्ड स्पेस) मा नजाने, यी सबै महामारी रोकथामका उपाय हुन्।
अझ प्रष्ट भन्ने हो भने, खोपले भित्रैबाट जोगाउँछ भने जनस्वास्थ्यका उपायहरूले भाइरसलाई शरीरबाहिर रोकेर सुरक्षा दिन्छन्।
कोरोना उपचारमा प्रयोग गरिएका रेम्डेसिभिर, प्लाज्मा थेरापीले संक्रमितलाई खासै सघाउ नपुर्याउने समाचारहरू आइरहेका छन् नि?
कोभिड–१९ को पहिलो लहरमा रेम्डेसिभिर र प्लाज्मा थेरापीको व्यापक प्रयोग भएको थियो। शुरूका केही अनुसन्धानमा रेम्डेसिभिरले बिमारीको ‘निको हुने दर’ सुधारेको भन्ने प्रतिवेदन आए पनि, पछिल्ला अनुसन्धानहरूले संक्रमित बिमारीको मृत्युदर घटाउन नसकेको र अरू उपयोगिताको पनि ठोस वैज्ञानिक आधार नभएको देखाएको छ।
विश्व स्वास्थ्य संगठनले पनि अस्पताल भर्ना भएका कोभिड–१९ का बिमारीमा रेम्डेसिभिर प्रयोग नगर्न सुझाएको छ। त्यस्तै कोन्भालेसेन्ट प्लाज्मा थेरापीको पनि कुनै किसिमको उपयोगिता नदेखिएकाले यसलाई अनुसन्धानको दायराभन्दा बाहिर प्रयोग नगर्न भनिएको छ।
कोरोनाको दोस्रो लहर घातक बनिरहेको बेला अहिले सरकारले के कस्ता उपाय अबलम्बन गर्नुपर्ला? नागरिकले के के गर्नुपर्ला?
कोरोनाको दोस्रो लहर घातक बनिरहेको बेला सरकार र नागरिक सबै एकजुट भएर यो भाइरसको फैलावट रोक्न र संक्रमित नागरिकको सफल उपचार गर्न विभिन्न उपाय अवलम्बन गर्नुपर्छ। मेरो सुझाव सुन्ने हो भने सरकार र नागरिकले निम्न कार्यहरू गर्नुपर्छ।
सरकारले–
क) कोभिड–१९ विरुद्धका जनस्वास्थ्यका उपायहरू लागू गराउने र अनुगमन गर्ने।
ख) खोप उपलब्ध गराउने।
ग) परीक्षणको व्यापक विस्तार गराउने।
घ) स्वास्थ्य सेवा हरेक तहसम्म (सम्भव भएसम्म प्राथमिक स्वास्थ्य केन्द्रसम्म) शय्या, औषधिहरू (जस्तै, अक्सिजन, डेक्सामेथासोन) को उपलब्धता सुनिश्चित गराउने।
ङ) आइसोलेसन (होम आइसोलेसन समेत) र क्वारेन्टिनको सही व्यवस्थापन र अनुगमन गर्ने।
च) स्वास्थ्यकर्मीको उचित व्यवस्थापन।
छ) विज्ञान र विज्ञले देखाएका मार्ग र दिएका सल्लाह, सुझावलाई ग्रहण गरी लागू गर्ने।
ज) सचेतनाका सन्देशहरू जनसमुदाय समक्ष पुर्याइरहने।
नागरिकले–
क. सरकारको सचेतना सन्देश जिम्मेवार नागरिक भएर पालन गर्ने।
ख. अरूमा पनि जिम्मेवार नागरिकका रूपमा सचेतना फैलाउने।
ग. कोभिडबाट बच्न अनुकूलन व्यवहार (कोभिड एप्रोप्रिएट बिहाभिअर) अवलम्बन गर्ने।
- मास्कको उचित प्रयोग गर्ने।
- भौतिक दूरी कायम गर्ने।
- हात सफा राख्ने (साबुन पानीले धुने र सेनिटाइजर प्रयोग गर्ने)।
- खोक्दा मुख छोप्ने तथा खोकी शिष्टाचार अवलम्बन गर्ने।
- भीडभाडमा नजाने, भीडभाड नगर्ने–नगराउने।
- बन्द ठाउँमा नजाने।
- व्यक्तिगत सरसफाइ र घरको पनि सरसफाइमा ध्यान दिने।
- अत्यन्त जरुरी भए मात्र घरबाट बाहिर निस्कने (एक अर्थमा सबैले आफूलाई ‘लक इन’ गर्ने)।
- संक्रमणको शंका लागेमा परीक्षण गर्ने अनि उपचार खोज्ने।
घ. उपलब्ध खोप लगाउने र अरूलाई पनि खोप लगाउन प्ररित गर्ने।
ङ. महामारीको गम्भीरतालाई बुझेर त्यही अनुसारको व्यवहार गर्ने।
च. भ्रामक समाचारहरूमा विश्वास नगर्ने।
कोरोनाभाइरस र यसको क्षतिबाट विभिन्न समयमा अफवाह फैलिने गरेका छन्। प्रधानमन्त्रीजस्ता व्यक्तिसमेत अनेक अभिव्यक्ति दिइरहेका छन्। यसबाट महामारी नियन्त्रणमा कत्तिको असर परिरहेको देख्नुहुन्छ?
वैज्ञानिक आधारमा प्रमाणित नभएका प्रतिरोध तथा उपचार विधिहरू उपयोग गर्नका निम्ति प्रचार गरिएको खण्डमा जनमानसमा सुरक्षाको गलत प्रत्याभूति हुनसक्छ। यसले रोग नियन्त्रणभन्दा फैलाउन नै सहयोग पुग्छ। कुन अफवाह हो, भ्रामक हो, सही हो, त्यो छुट्याउने प्रयास सबैले गर्नुपर्छ।
कोभिड–१९ महामारी समयमै नियन्त्रण हुन नसक्नुलाई कतिपयले विज्ञान र वैज्ञानिकको असफलता पनि भनिरहेका छन्। एउटा वैज्ञानिकको नाताले तपाईंलाई यस्तो सुन्दा कस्तो महसूस हुन्छ?
यो विज्ञान र वैज्ञानिकको असफलता होइन। यो अदृश्य विषाणुसँग जुध्दै गर्दा विज्ञानले विकास पनि गरेको छ। सार्स कोभ २ को जिनोम सिक्वेन्स चीनले ‘शेयर’ गरेसँगै भएको निदानात्मक प्रणालीको विश्वव्यापी विकास, नयाँ भाइरसमाथिको अध्ययन र अनुसन्धान, छोटो समयमै भएको खोपको आविष्कार र प्रयोग, रोग निको पार्ने उपचार सम्बन्धी अनुसन्धानबाट प्रमाणित विधि विज्ञानले प्राप्त गरेका उल्लेख्य उपलब्धि हुन्।