आउनै लाग्याे तामाकोशीको बिजुली, तर अझै लागेन भारतसँग बिक्रीको टुंगो
देशकै सबैभन्दा ठूलो क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनको मिति नजिकिएसँगै नेपाल विद्युत् प्राधिकरण यो बिजुली वर्षायाममा भारतीय बजारमा बेच्ने अनुमतिको व्यग्रताका साथ प्रतीक्षा गरिरहेको छ।
बहुप्रतीक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने दिन नजिकिँदै छ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, जेठको ७–८ गतेदेखि तामाकोशीबाट परीक्षण विद्युत् उत्पादन शुरू हुनेछ।
“जेठ मसान्तसम्ममा दुई वटा युनिटबाट उत्पादन शुरू हुन्छ, भदौसम्ममा सबै ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ,” शाक्यले हिमालखबरसँग भने।
देशको अहिलेसम्मकै ठूलो क्षमता (४५६ मेगावाट)को यो आयोजनामा ७६–७६ मेगावाटका ६ वटा युनिट छन्। एकपछि अर्को गरी क्रमशः यी सञ्चालनमा आउनेछन्। आयोजनाका प्रवक्ता गणेश न्यौपाने आयोजनाको सुरुङमा पानी भर्न शुरू भइसकेको र परीक्षणको तयारी भइरहेको बताउँछन्।
एक दशकअघि निर्माण शुरू भएको यो आयोजनामा रू.८० अर्ब हाराहारीमा खर्च हुने अनुमान छ।
तामाकोशीबाट बिजुली आउने दिन नजिकिँदै गए पनि उत्पादित विद्युत् खपतको टुंगो भने अझै लागेको छैन। प्राधिकरणले भारतीय विद्युत् बजारमा विद्युत् निर्यातको विकल्प हेरिरहेको छ, तर भारतले अझै अन्तिम सहमति दिइसकेको छैन।
भारतले गत फागुनमा अन्तरदेशीय विद्युत् आयात-निर्यात सम्बन्धी कार्यविधि जारी गरेर नेपालको बिजुली भारत लैजान सैद्धान्तिक ढोका खुला गरिदिएको थियो। तीन साताअघि भारतले उसको पावर एक्सचेन्ज मार्केटबाट नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरीद गर्न सक्ने स्वीकृति दिएको थियो। तर, नेपालको विद्युत् पावर एक्सचेन्ज मार्केटमा बिक्री गर्ने स्वीकृति भने अझै प्राधिकरणले पाइसकेको छैन।
तीन साताअघि भारतले उसको पावर एक्सचेन्ज मार्केटबाट नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरीद गर्न सक्ने स्वीकृति दिएको थियो। तर, नेपालको विद्युत् पावर एक्सचेन्ज मार्केटमा बिक्री गर्ने स्वीकृति भने अझै प्राधिकरणले पाइसकेको छैन।
प्राधिकरणका प्रबन्ध निर्देशक शाक्य भारतको ऊर्जा मन्त्रालयमा यस सम्बन्धी प्रस्ताव अड्किएको र एक–दुई साताभित्रै भारतीय विद्युत् बजारमा नेपालले निर्यातको अनुमति पाउने बताउँछन्। “हामीले माथिल्लो तामाकोशी र निजी क्षेत्रले उत्पादन गरेको भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् निर्यात गरी बिक्री गर्न अनुमति मागेका छौं, एक-दुई साताभित्रै यस्तो अनुमति पाउने विश्वासमा छौं,” उनी भन्छन्।
भारतले उसको बजारबाट नेपालमा विद्युत् खरीदका लागि बाटो खोले पनि नेपालको बिजुली बिक्रीको अनुमतिमा भने अझै स्वीकृति दिएको छैन। वर्षायाममा नेपालमा खपत गरेर उब्रिएको बिजुली भारत पठाउने र खाँचो पर्ने हिउँदमा आयात गर्ने इनर्जी ब्यांकिङ गर्ने नेपालको प्रस्तावलाई त भारतले अस्वीकार नै गरिसकेको छ।
भारतको अन्तरदेशीय विद्युत् आयात–निर्यात सम्बन्धी कार्यविधिमा विद्युत् उत्पादनको स्रोत उल्लेख गर्नुपर्ने र चिनियाँ लगानीका विद्युत् आयोजनाबाट उत्पादित बिजुलीले भने बिक्रीको पहुँच नपाउने उल्लेख छ। प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यका अनुसार, तत्कालका लागि तामाकोशीको विद्युत् उत्पादन शुरू भएपछि त्यसले भारतबाट आयात भइरहेको विद्युत्लाई विस्थापन गर्नेछ।
अहिले भारतबाट ५०० मेगावाट हाराहारीमा विद्युत् आयात भइरहेको छ। तर, जेठपछि यो घट्दै गएर वर्षायाममा नेपालमै उत्पादित बिजुली बढी हुन थाल्छ।
साउनपछि बिजुली बढी हुन थाल्ने भएकाले बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गर्नुपर्ने हुन्छ। “यो वर्षायाममा ३५० मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्ने योजना बनाएका छौं,” शाक्य भन्छन्।
शाक्यका अनुसार, भारतमा बिक्री गर्न सक्दा यो वर्षामा नेपालमा उत्पादित बिजुली खेर जाँदैन। तर, आगामी वर्षदेखि भने नेपालभित्रै खपत बढाउन नसक्दा वर्षायाममा बिजुली खेर जान्छ। “भारतीय बजारमा पठाउन पर्याप्त पूर्वाधार नभएकाले आगामी वर्षसम्ममा थपिने बिजुली खपत गर्न देशभित्रै थप माग सिर्जना गर्नुपर्छ,” शाक्यले भने।
तामाकोशीको बिजुली देशभित्रै पनि भने जसरी एक ठाउँबाट अर्को ठाउँमा पठाउन पूर्वाधार छैन। पूर्व–पश्चिम प्रसारण लाइनको क्षमता १३२ केभी मात्र भएकाले तामाकोशीको बिजुली पूर्वतिर वा पश्चिमतिर पूर्ण क्षमतामा ओसारपसार गर्न सकिँदैन।
४०० केभी डबल सर्किट क्षमताको हेटौंडा–ढल्केबर–दुहबी प्रसारण लाइन निर्माण थालिएको एक दशक भयो, तर वनको रूख काट्ने अवरोधका कारण काम सकिएको छैन। यो आयोजना बनेको भए तामाकोशीको बिजुली सजिलै पूर्व–पश्चिम पुर्याउन मिल्थ्यो। खिम्ती र तामाकोशी नदी तथा वरपरबाट काठमाडौं उपत्यकामा विद्युत् ओसार्ने ९० किलोमिटर लामो तामाकोशी–काठमाडौं प्रसारण लाइनको काम पनि सकिएको छैन।
गएको वर्षायाममा रातको समयमा दैनिक ३०० मेगावाटसम्म बिजुली खेर गएको थियो। आगामी वर्षायाममा त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली थपिने भएपछि रातको समयमा झन् धेरै बिजुली खेर जाने देखिन्छ।
अहिले देशका जलविद्युत्गृहहरूको उत्पादन क्षमता १४०० मेगावाट हाराहारीमा छ। वर्षायाममा यी आयोजना पूर्ण क्षमतामा चल्ने भएकाले देशको विद्युत् माग धान्न यी पर्याप्त छन्।
जस्तो कि, गएको वर्षायाममा रातको समयमा दैनिक ३०० मेगावाटसम्म बिजुली खेर गएको थियो। आगामी वर्षायाममा त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली थपिने भएपछि रातको समयमा झन् धेरै बिजुली खेर जाने देखिन्छ।
प्रबन्ध निर्देशक शाक्य आगामी आर्थिक वर्षदेखि भने बिजुली खपतको व्यवस्थापनका लागि साँच्चिकै चुनौती आउने बताउँछन्। करीब ३५०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन भएकोमध्ये करीब एक हजार मेगावाट क्षमताका आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्।
एकाध वर्षमा विद्युत् उत्पादनको क्षमता जति विस्तार हुँदै छ, विगत वर्षहरूको अनुभव हेर्दा सोही अनुपातले माग बढ्नेमा संशय छ। अहिले पनि बिजुलीको औसत माग ११५० मेगावाट जति मात्रै हो, रातिको समयमा त यस्तो माग ७०० मेगावाटसम्म झर्छ। देशभित्र खपत भएर बचेको वर्षायामको बिजुली खेर जान नदिन भारततर्फ निकासी बढाउनुपर्छ। तर, भारततर्फ ठूलो मात्रामा बिजुली पठाउनका लागि प्रसारण लाइन नभएको शाक्य बताउँछन्।