आगन्तुक चराहरूको नेपाल उडान
हिउँदे याममा चिसो छल्न र ग्रीष्म याममा बच्चा कोरल्न आउने हजारौं आगन्तुक चराले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई त जोड्छन् नै, खास प्रकारको वातावरणीय सूचकको काम पनि गरिरहेका हुन्छन्।
मान्छेले जिन्दगीभर कति बसाइँ सर्छ? वा कति यात्रा गर्छ? मान्छेभन्दा पनि लामो दूरीको यात्रा गर्ने कुनै प्राणी होला? परेवा जत्रो शरीर हुने ‘आर्कटिक टन’ चरा संसारकै सबैभन्दा लामो दूरीको यात्रा तय गर्ने प्राणी हो। जसले ९० हजार किलोमिटर दूरी पार गर्दै उत्तरी ध्रुवबाट दक्षिण ध्रुवसम्म बसाइँसराइ गर्छ। करीब ३० वर्ष आयु हुने यो चराले आफ्नो जीवनकालमा चन्द्रमामा चारपटक ओहोरदोहोर गर्ने दूरी पार गर्छ।
त्यस्तै, ‘ग्रेट स्नाइप’ भनिने चाहा प्रजातिको चरा ९७ किलोमिटर प्रतिघण्टाको गतिमा अविच्छिन्न ६ हजार ८०० किलोमिटर दूरी पार गर्छ। जुन तीव्र गतिमा लामो दूरी पार गर्ने चरा हो। नौ दिनसम्म खाना र आराम नगरी ११ हजार किलोमिटर उड्ने चरा हो, ‘बार–टेइल्ड गडविट’।
उड्ने चराहरू मात्र होइनन्, उड्न नसक्ने चरा पेन्गुइन पनि वर्षमा १७ हजार ६०० किलोमिटर टाढासम्मको यात्रा गर्छ। विश्वमा पाइने चराका ११ हजारभन्दा बढी प्रजातिमध्ये करीब ४० प्रतिशत नियमित रूपमा ऋतु अनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गरिरहन्छन्।
अनुकूल मौसम, सुरक्षित बासस्थान, चरन र प्रजननका लागि चराहरू एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशसम्म बसाइँ सरी आउने–जाने गर्छन्। यिनै बसाइँसराइ गर्ने चराहरूको दिगो संरक्षण, आहार, बासस्थान र उडानमार्गको सुरक्षाका लागि विश्वव्यापी हातेमालो तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अंग्रेजी महिना ‘मे’ को दोस्रो शनिबार विश्व बसाइँसराइ चरा दिवस (वर्ल्ड माइग्रेटरी बर्ड डे) मनाइन्छ।
चिसो छल्न नेपाल
नेपालमा पाइने ८८६ प्रजातिका चरा वर्षभरि नै नेपालमा भेटिँदैनन्। त्यस्तै, अन्य देशबाट पनि बसाइँ सरेर नेपाल आउँछन्। हिउँदे याममा उत्तरी भूगोलमा अत्यधिक चिसो र भारी हिमपात हुने भएकाले जाडो छल्न रुस, चीन, मंगोलियासँगै यूरोप, कोरिया र तिब्बती क्षेत्रहरूबाट बर्सेनि करीब १५० प्रजातिका हजारौं चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा बसाइँ सरी आउँछन्।
यसैगरी, करीब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान, श्रीलंका र अफ्रिकासम्म जान्छन्। जाडोयाममा नेपालमा बसाइँ सरी आउने चरामा अधिकांश पानी चराका प्रजाति हुन्छन् भने अन्यमा शिकारी चरा, बगेडी, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्छन्।
हिउँदे आगन्तुक चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी रहन्छ भने चैतसम्म प्रायः आफ्नो स्थायी बसोबासमा प्रजननका लागि फर्किसकेका हुन्छन्। यिनै आगन्तुक चराको आवागमनको समयमा नेपालमा सन् १९८७ बाट बर्सेनि नियमित जलपक्षीको गणना तथा अनुगमन गरिँदै आएको छ। नेपालका करीब ६० भन्दा बढी सिमसार क्षेत्रमा ३०० भन्दा बढी स्वयंसेवकको सहभागितामा गरिने गणनाको तथ्यांक भने पछिल्ला वर्षहरूमा निराशाजनक छ।
दशकअघि कोशी नदी आसपासमा मात्रै पचासौं चरा हुन्थे भने हाल देशभरको गणनामा मुश्किलले ५० हजार चरा पुग्छन्। हिउँदे आगन्तुक चराको मुख्य आश्रयस्थल सिमसारको संकुचन र विनाशले घट्दै गएको छ। त्यस्तै, चोरी शिकारले पनि यी चरा प्रभावित भइरहेका छन्।
बच्चा कोरल्न नेपालको बसाइँ
हिउँदे आगन्तुक चरा गर्मीयामको शुरूआतसँगै आफ्नो बासस्थान फर्किसक्दा फेरि दक्षिणी मुलुकहरू भारत, श्रीलंका र अफ्रिकाबाट हजारौं ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आइसकेका हुन्छन्। यसरी आउने करीब ६२ प्रजातिमा अधिकांश कोइली प्रजाति हुन्छन् भने अन्य मुरलीचरी, सुनचरी, स्वर्गचरी, पिट्टा, कटुस टाउके आदि हुन्छन्। यी चरा असोजसम्म आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन्।
ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान र कृषि भूमि हुन्। बासस्थानमा आइरहेका तीव्र परिवर्तन र वन डढेलो यी चराका लागि मुख्य चुनौती हुन्। ग्रीष्मकालीन आगन्तुक चराको आगमन, गुँड बनाउने र बच्चा कोरल्ने समयमा भइरहेका भीषण वन डढेलोले यी चराका प्रजनन र नवजात शिशु मात्र प्रभावित भइरहेका छैनन्, सयौं माउ चरा पनि मरिरहेका छन्।
हिमशृंखलाको अवरोध
बसाइँसराइ गर्ने चरा आफ्नो गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य तथा अन्य ताराको अवस्थिति, नदी, भौगोलिक शृंखला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्छन्। चराले बसाइँसराइको बेला प्रयोग गर्ने बाटोलाई उडान मार्ग (फ्लाई वे) भनिन्छ। विश्वमा नौ वटा यस्ता उडान मार्ग पहिचान गरिएका छन् र नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित छ।
उत्तरी भूगोलबाट नेपाल र नेपालको बाटो हुँदै दक्षिणतर्फ बसाइँसराइ गर्ने चराका लागि हिमशृंखला प्राकृतिक अवरोध हो। संसारमा सबैभन्दा उचाइमा उड्ने चराका प्रजातिमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका लक्ष्मण सारस र खोया हाँस नौ हजार मिटरभन्दा माथिको उचाइबाट हिमाल नाघी नेपाल भित्रिने गर्छन्। तर, कर्याङकुरुङ, सारस जस्ता धेरै चरा हिमालबीचमा रहेका कालिगण्डकीको खोच जस्ता गल्छीबाट नेपाल भित्रिन्छन्।
मंगोलियाबाट आउने गोमायु महाचिल जस्ता शिकारी चरा भने पूर्वी नेपालबाट प्रवेश गरी पश्चिमतर्फ बसाइँसराइ गर्छन्। ग्रीष्मकालीन आगन्तुक चरा पनि हजारौं किलोमिटर दूरी पार गरी नेपाल भित्रिन्छन्। उदाहरणका लागि जुरे कोइली अफ्रिका महादेशबाट करीब पाँच हजार किलोमिटर लामो दूरी पार गर्दै नेपाल भित्रिन्छ।
सन् २०१६ मा चीनको राजधानी बेइजिङ नजिकबाट स्याटेलाइट ट्याग लगाएर छाडिएका दुई कुक्कु कोइलीले एक वर्षमा १६ देश हुँदै २७ हजार किलोमिटर दूरी पार गरेर अफ्रिकासम्म पुगेका थिए। दर्जनौं देश र महासागर नाघी झन्डै आधा संसारको यात्रा गरेका ती कोइली चरीको रोचक यात्रा प्रेरणादायी छ।
नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र अन्डा पनि अरू चराको गुँडमा पार्छन्। ती चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछन्। आगन्तुक चरा केही बीच–बीचमा बास बस्दै र केही सीधै उडेर हजारौं माइलको यात्रामा कैयौं जोखिम पार गरी नेपाल आउँछन्।
जोखिममा आगन्तुक चरा
नेपालमा बसाइँसराइ गरी आउने चरा खासगरी बासस्थान संकुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, वन डढेलो, अवैध चरा शिकार तथा व्यापार जस्ता कारणले संकटमा परेका छन्। यसका साथै उडान मार्गमा हुने अवरोध र जलवायु परिवर्तन जस्ता कारणले पनि चराको आवागमनमा बाधा पुर्याएका छन्। बसाइँसराइ गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ हुने भएकाले प्राकृतिक तथा मानवीय शिकारको अत्यधिक जोखिम हुन्छ।
बसाइँसराइ गर्ने वन्यजन्तुको महासन्धि (कन्भेन्सन अफ माइग्रेटरी स्पेसिज) अन्तर्गत नेपालमा पाइने ७५ प्रजातिका चरा परेका छन्। तर, नेपालले संयुक्त राष्ट्रसंघको यस महासन्धिमा हस्ताक्षर गरेको छैन। अतः यो सन्धिको पक्ष राष्ट्र बनी संरक्षणमा हातेमालो र जिम्मेवारीबोध गर्नुपर्ने देखिन्छ। बसाइँसराइ गर्ने चराले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जोडेका छन् र खास प्रकारको वातावरणीय सूचकको काम गरिरहेका छन्।
तसर्थ, यी चराको दिगो संरक्षण, आहार, बासस्थान र उडान मार्गको सुरक्षाका लागि स्थानीय समुदायदेखि अन्तरदेशीय साझेदारीको आवश्यकता छ। बसाइँसराइ गर्ने चराको संरक्षणमा विश्वव्यापी जनचेतना अभिवृद्धि र संरक्षणमा सहकार्य तथा साझेदारी स्थापना गर्ने उद्देश्यले मनाइँदै आएको विश्व बसाइँसराइ दिवसको सार्थकताका लागि सबैले हातेमालो गरौं।