मिल्ने दिशामा एमाले, विन–विनको खोजी
विभाजन नजिक पुगेको एमाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गरेसँगै एकताको दिशामा अघि बढेको छ।
फरक–फरक पार्टीको अभ्यास गर्दै आएका दुवै समूहहरू पार्टीलाई एक बनाएर अघि बढ्नुपर्ने कुरामा सहमत भएर मिलनबिन्दुको खोजीमा जुटेका छन्। त्यसैको परिणाम हो, बिहीबार होटल मेरियटमा एमाले नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेबीचको बैठक।
दुई पक्षबीच औपचारिक र अनौपचारिक रूपमा छलफल भए पनि त्यसको निष्कर्ष निस्किएको छैन। “पार्टी एक बनाएर जानुपर्दछ भन्ने कुरा भयो। पार्टी विभाजन हुँदा त्यसले पार्ने प्रभाव र असरका बारेमा पनि छलफल भयो, त्यो कल्पना पनि हामीले गर्यौं,” आफ्नो नाम उल्लेख गर्न नचाहने छलफलमा सहभागी एक नेता भन्छन्।
ती नेताका अनुसार, पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा सहमति जुटेको छ। “मिलनबिन्दु के हुन्छ भन्ने विषयमा सहमति बनेको छैन,” ती नेताले हिमालखबरसँग भने। आजको छलफलमा एउटा मिलनबिन्दु खोजेर दुवै पक्षलाई सहज हुने गरी ‘सेफल्यान्डिङ्ग’ गर्ने सहमति भएको छ। र, त्यसका लागि केपी ओली र माधव नेपालसँग कुरा गर्ने सहमति भएको बैठकमा सहभागी नेताले बताए।
दबाबमा ओली–नेपाल
सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणलाई बदर गरिदिएपछि माधव नेपाल समूह एमालेमा फर्किए पनि पार्टी र समानान्तर गतिविधि गर्दै आएकाे थियो। एमाले औपचारिक रूपमा विभाजन हुन बाँकी थियो। तर, ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन दुवै पक्षका दोस्रो तहका नेताहरू सक्रिय भए। जसले विभाजनको डिलमा पुगेको एमाले विभाजन हुने अवस्थाबाट जोगिने दिशामा अग्रसर भएको हो।
माधव नेपाल समूहले २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्ने अडान राख्दै आए पनि ओलीले त्यसलाई अस्वीकार गर्दै आएका थिए। नेपाल समूह पनि त्योभन्दा पछि नहट्ने अडानमा रहँदै आएको छ। तर, त्यो अडानमा कायम रहँदा पार्टी विभाजन हुने भएकाले दुवै समूहका नेताहरूले पार्टी जोगाउन ओली र नेपालमाथि दबाब सिर्जना गरेका छन्। जसले गर्दा पनि एमाले फुटबाट जोगिने सम्भावना बढेको हो।
ओली पक्षका नेताहरू विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङले २ जेठ २०७५ को अडानमा रहेर पार्टी विभाजनमा पुर्याउनु हुँदैन भनेर ओलीमाथि दबाब सिर्जना गरेका छन् भने नेपालतर्फका योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतले पनि एउटा अडान लिएर पार्टीलाई विभाजनको अवस्थामा पुर्याउनु हुँदैन भनेर नेपालमाथि लगातार दबाब सिर्जना गरेका छन्।
त्यसले पनि एमालेलाई मिल्ने दिशामा अघि बढाएको हो। “हामीमा समस्या होइन, समस्या दुई जनाको जुँगाको लडाइँले भएको हो, दुई जनालाई विन–विनको अवस्थामा पुर्याउने बित्तिकै पार्टी एक हुन्छ,” पार्टी एकताका लागि वार्ता प्रक्रियामा सहभागी ती नेता भन्छन्, “अहिले हामी त्यही विन–विन हुने मिलनबिन्दुको खोजीमा छौं, त्यो छिटै निस्कने आशा छ।”