कोरोना संक्रमण बढेपछि मोरङमा बन्दाबन्दी
कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, मोरङले बन्दाबन्दीको घोषणा गरेको छ।
बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बन्दाबन्दी गर्ने निर्णय गरेको हो। २४ वैशाख राति १२ बजेदेखि १ जेठ राति १२ बजेसम्मका लागि बन्दाबन्दी घोषणा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले बताए।
१९ वैशाखदेखि मोरङका चार स्थानीय तहमा लागू गरिएको निषेधाज्ञा जारी रहेको छ। निषेधाज्ञा जारी रहेका बेला मोटरसाइकल चलाउनेलाई प्रशासनको निर्देशनमा प्रहरीले कारबाही गर्दै आएको छ। २३ वैशाखमा मात्रै ४०० भन्दा बढी मोटरसाइकललाई विराटनगरमा कारबाही गरिएको ट्राफिक प्रहरी निरीक्षक चन्द्र खड्काले बताए।
पछिल्लो समय विराटनगर महानगरपालिकामा कोरोना संक्रमण बढ्न थालेको छ। जसले गर्दा जिल्लाभरि नै बन्दाबन्दीको घोषणा गरिएको हो।