संकटमा किन पन्छिन मिल्दैन बौद्ध विहार र गुम्बा?
अन्य धर्मका मठ–मन्दिर, आश्रम तथा चर्चहरू देखाएर होस् या अन्य कारण देखाएर होस्, यो संकटको बेला बौद्ध विहार र गुम्बाहरू पन्छिन मिल्दैन।
कोभिड-१९ को दोस्रो लहरले छोपेसँगै अस्पतालहरू संक्रमितले भरिन थालेका छन् भने गम्भीर बिरामीले पनि उपचार पाउन कठिन हुँदै गएको छ। यसलाई दृष्टिगत गर्दै १६ वैशाखमा प्रस्ताव गरेको थिएँ- कोरोनाको उपचारमा बौद्ध विहार तथा गुम्बालाई किन प्रयोग नगर्ने?
यो प्रस्ताव अव्यावहारिक र रुमानी कल्पना होइन। मानवीय संकटका बेला सम्भावित ठाउँबाट आशा गर्नु स्वाभाविक पनि हो। तर, राज्यबाट विहार वा गुम्बाहरू हडप्ने र कोरोनाको उपचारमा प्रयोग गर्ने बुझाइ बन्न पुग्यो, जुन दु:खद हो। यो हुनै नसक्ने कुरा हो।
लेखमा विविध प्रतिक्रिया आए। ‘गुम्बा तथा विहारमा रहेका लामा तथा भिक्षुहरूलाई कहाँ राख्ने त?’ भन्ने प्रश्नले पनि त्यही संकेत गर्यो। यी लगायत अन्य थुप्रै प्रश्नको जवाफ लेखमा स्पष्ट छ। बौद्ध धर्मदर्शनको मूल मर्मलाई आत्मसात् गर्ने आशयको प्रस्ताव बेग्लै सन्दर्भमा बुझेको देखियो। त्यसैले फेरि पनि त्यही प्रस्ताव वरिपरि रहेर थप चर्चा गर्न खोजेको छु।
जनस्वास्थ्य जनताको मौलिक अधिकार हो र उपचारको बन्दोबस्त गर्ने जिम्मेवारी स्वतः राज्यको काँधमा आउँछ। तर, महामारीका बेला राज्यको मुख ताकेर मात्रै बस्दा समस्या समाधानको साटो अझ बढ्ने र धेरै नोक्सान व्यहोर्नुपर्ने हुनसक्छ। यस्तो अवस्थामा राज्यलाई सघाउनु व्यक्ति, समाज, संघसंस्थाको पनि कर्तव्य हुन्छ।
बौद्ध विहार तथा गुम्बाहरू आस्थासँग सम्बन्धित जरुर हुन्, तर महामारीको यो गम्भीर मोडमा संवेदनशील नहुनु बौद्ध सन्दर्भमा नै ‘शब्द विलास’ भन्न सकिन्छ।
त्यही अनुसार, सबै तह र तप्काले आफ्नो गच्छे अनुसार समाजसेवामा उत्रिनु नेपालको इतिहासमा नयाँ कुरा होइन। बौद्ध विहार तथा गुम्बाहरू आस्थासँग सम्बन्धित जरुर हुन्, तर महामारीको यो गम्भीर मोडमा संवेदनशील नहुनु बौद्ध सन्दर्भमा नै ‘शब्द विलास’ भन्न सकिन्छ।
कोभिड–१९ को कहर गत वर्षभन्दा अझ कडा रूपमा देखिएको छ। संक्रमण र मृत्युदर बढेको छ। यस्तो स्थिति आउने आकलन उहिल्यै गरिएको थियो। गत वर्ष चिकित्सा क्षेत्रले जेनतेन धानेको थियो, तर यसबीच सुधारका कामहरू हुन सकेनन्। पुरानै ढंगले अगाडि बढ्न खोज्दा ठूलै नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।
हाम्रो परीक्षणको क्षमता कमजोर त थियो नै, बिरामीको उपचारका लागि अस्पतालमा न्यूनतम भौतिक सुविधा पनि अपुग भयो। थोरै स्वास्थ्यकर्मीबाट नै काम चलाउन बाध्य हुनुपरेको छ। शय्याको अभावमा बिरामी भर्ना लिन अस्पतालहरू प्रायः असमर्थ भइरहेका छन्। मृत्युको मुखमा पर्नेमध्ये धेरैजसो उपचार नपाएर वा ढिलो उपचारका कारण भएको स्वास्थ्यकर्मीले नै बताइरहेका छन्। यद्यपि निको भएर फर्कनेहरूको संख्या पनि कम्तीको छैन।
संक्रमित भएको र थोरै हेरचाहले पनि निको हुने स्तरको बिरामीलाई आइसोलेसनमा राखिन्छ। संक्रमण भइनसकेको, तर सम्भावितलाई क्वारेन्टिनमा राखिन्छ। निजी घर भए पनि पर्याप्त कोठा नभएका र भाडामा बसेका व्यक्तिलाई परिवारसँग अलग्गै बस्न गाह्रो हुन्छ। पर्याप्त क्वारेन्टिन र आइसोलेसनको अभावमा पनि संक्रमण बढ्दो छ।
कुनै पनि प्राणीको भलाइमा जस्तोसुकै कष्ट झेल्नुपरे पनि सहर्ष स्वीकार गरेर अघि बढ्नेलाई ‘बोधिसत्व’ भनिन्छ। एउटा सानो जीवका लागि पनि आफ्नो प्राणोत्सर्ग गरेका अनेकौं दृष्टान्त बौद्ध जातक कथामा पाइन्छन्।
स्वास्थ्य समस्याको गम्भीर अवस्थासँग जुधिरहेको राज्यमाथि परेको भारलाई अलि होलो पार्न समुदायस्तरबाट क्वारेन्टिन र आइसोलेसनको बन्दोबस्त गर्न थालिएको पनि छ। पाटनस्थित च्यासल टोलको एउटा गुठीको घरलाई तीन वटा स्थानीय क्लबको संयुक्त प्रयासमा आइसोलेसन बनाएको राम्रो उदाहरण हो। यसरी नै अन्य संघसंस्थाले पनि क्वारेन्टिन र आइसोलेसन बनाउने तत्परता देखाउनु स्तुतियोग्य कुरा हो।
गुठीको घरलाई आइसोलेसन बनाउने तथा यस्तै अन्य सामाजिक स्तरबाट भइरहेका कार्यले बुद्धका गुणहरूलाई स्मरण गराउँछ। बुद्धहरूका विशिष्ट गुण बेग्लाबेग्लै हुन्छन् र गौतम बुद्धको विशिष्ट गुण करुणा मानिन्छ। यसप्रकार उनलाई महाकारुणिक पनि भनिन्छ। बौद्ध परम्परा अनुसार, अहिले गौतम बुद्धको शासन हो र स्वभावतः उनलाई नै अनुसरण गर्ने गरिन्छ। जोकोही बौद्ध अभ्यासी मैत्री र करुणालाई अत्यधिक जोड दिन्छन्।
महायान बौद्ध सम्प्रदाय अन्तर्गतका बौद्धजनको जीवनदर्शन भन्नु मूलतः बोधिसत्वको आदर्शलाई पछ्याउनु हो। कुनै पनि प्राणीको भलाइमा जस्तोसुकै कष्ट झेल्नुपरे पनि सहर्ष स्वीकार गरेर अघि बढ्नेलाई ‘बोधिसत्व’ भनिन्छ। एउटा सानो जीवका लागि पनि आफ्नो प्राणोत्सर्ग गरेका अनेकौं दृष्टान्त बौद्ध जातक कथामा पाइन्छन्।
बोधिसत्वको आदर्शलाई अनुसरण गर्नु सिद्धान्ततः महायानी हुनु हो। तिब्बती बौद्ध धर्म परम्परा अनुसार नेपालमा स्थापित सबै गुम्बाहरू महायानी सम्प्रदायका हुन्। यसबाहेक अन्य सम्प्रदायले बोधिसत्वको आदर्शलाई अक्षरश: अनुसरण गर्ने, नभए पनि करुणाको भावलाई आत्मसात् गरेकै हुनुपर्छ।
त्यस्तै, बौद्ध साधनामा समर्पितहरू स्वभावतः युद्धविरोधी हुन्छन्। युद्धनीतिलाई त्याग्नका लागि नैतिक दबाब दिन निचिरेन अन्तर्गतको जापानी बौद्ध संस्था ‘निप्पोनजान म्योहोजि’ ले विश्वका विभिन्न ठाउँमा ‘विश्वशान्ति स्तूप’को निर्माण अभियान चलाउँदै आइरहेको यसको उदाहरण हो। यही बौद्ध संस्थाका भिक्षुहरू युद्धरत दुई पक्षबीच उभिएर शान्तिको आह्वान गर्ने र दोहोरो भिडन्तमा मृत्युवरण गर्न पनि पछि नपर्ने घटनालाई आधुनिक बौद्ध जगत्को जीवन्त अभ्यासलाई करुणाकै दृष्टिबाट हेर्नुपर्छ।
अरू बेला सुरक्षा वा अन्य कारणले बाह्य जगत्का लागि बन्द रहे पनि महामारीबाट निम्तिएको संकटकालमा मानवीय दृष्टिले खुला राखिनुपर्छ र यो बौद्ध आदर्शलाई आत्मसात् गर्नु हो। पीडितको उपचारका लागि विहार तथा गुम्बाको अल्पकालीन प्रयोगले पनि राज्यलाई सघाउने र कैयौंको ज्यान बचाउने सुन्दर पक्षलाई बेवास्ता गर्न सकिन्न।
बुद्धको यही दृष्टिकोणबाट प्रेरित भएर दाताले दिएको दानबाट यी ठूल्ठूला गुम्बाहरू निर्माण गरिएका हुन्। अरू बेला सुरक्षा वा अन्य कारणले बाह्य जगत्का लागि बन्द रहे पनि महामारीबाट निम्तिएको संकटकालमा मानवीय दृष्टिले खुला राखिनुपर्छ र यो बौद्ध आदर्शलाई आत्मसात् गर्नु हो। पीडितको उपचारका लागि विहार तथा गुम्बाको अल्पकालीन प्रयोगले पनि राज्यलाई सघाउने र कैयौंको ज्यान बचाउने सुन्दर पक्षलाई बेवास्ता गर्न सकिन्न।
मैत्री र करुणाको कुरा गरेरै जीवन बिताउनु र व्यवहारमा उतार्नु बेग्लै कुरा हो। विहार र गुम्बालाई कोरोनाको उपचारमा प्रयोग गर्ने प्रस्ताव मात्रले पनि तिलमिलाउने र विरोधमा अमर्यादित ढंगले प्रतिक्रिया गर्नुको तात्पर्य हो, आफू बौद्ध हुँ भनेर पहिचान दिएर पनि बौद्ध हुनु्को अर्थलाई आत्मसात् गर्न नसक्नु।
यसरी नकारात्मक प्रतिक्रिया दिनेहरू सर्वसाधारण गृहस्थ र सामान्य लामा मात्रै हुन्। निर्णायक स्तरमा रहेका भिक्षु तथा लामाहरूबाट यस सन्दर्भमा खासै प्रतिक्रिया व्यक्त भएको पाइएन। सकारात्मक प्रतिक्रिया जनाउने भिक्षु तथा लामाहरू स-साना विहार र गुम्बासँग सम्बन्धित छन्, जोसँग त्यो स्तरको समाजसेवा गर्ने अवस्था नै छैन।
स-साना विहार तथा गुम्बाहरू यस सन्दर्भमा उपयुक्त हुँदैनन् पनि। यो पनि पक्का हो, भिक्षु वा लामाको अभावमा कतिपय विहार तथा गुम्बाहरू खाली छन्। सयौं व्यक्ति अलग्गै बस्नका लागि पर्याप्त भौतिक संरचना भएका विहार तथा गुम्बाहरूमा दुई–चार जना भिक्षु तथा लामाहरू बस्ने गरेका छन्। बेग्लै आवास क्षेत्र भएका गुम्बाहरूमा अतिथिगृह, अध्ययन र अध्यापनका लागि बनाइएका भवनहरू खाली छन्। यस वर्गका विहार तथा गुम्बाहरूलाई क्वारेन्टिन तथा आइसोलेसनका लागि राज्यले जबर्जस्ती अधिग्रहण गर्ने नभएर सम्बन्धित विहार तथा लामाहरूले नै प्रयोगका लागि दिने वा आफैंले सञ्चालन गर्ने हो।
बौद्ध विहार तथा गुम्बाहरूलाई क्वारेन्टिन वा आइसोलेसन बनाउनुको तात्पर्य त्यहाँ बस्ने भिक्षु तथा लामाहरूलाई जबर्जस्ती निकाल्ने होइन। अरूलाई जस्तै उनीहरूलाई पनि व्यवस्थित रूपमा सुरक्षित राख्ने हो।
क्वारेन्टिन वा आइसोलेसन बनाउन गुम्बाको निर्माण सरकारले गरिदिएको हो र भन्ने प्रतिक्रिया वा प्रश्न पनि आउँदै छन्। कोरोना उपचारका लागि विहार वा गुम्बामा नै आँखा किन लगाउनुपरेको भनेर पनि प्रश्न गरिँदै छ। अन्य धर्मका मठ–मन्दिर, आश्रम तथा चर्चहरूको प्रयोगको विषय किन आएन भनिँदै छ। सही हो, अन्य धर्मका पनि कतिपय संरचना सञ्चालनमा आइसकेका छन्। तैपनि तिनीहरूलाई देखाएर बौद्ध विहार तथा गुम्बाहरू पन्छिन कदापि मिल्दैन।