मेडिकल कलेज भवनमा ५०० शय्याको आइसोलेसन बन्दै
कोभिड–१९ को दोस्रो लहरमा संक्रमितले सुदूरपश्चिमका अस्पताल भरिएपछि कैलालीमा ५०० शय्याको आइसोलेसन बनाउन थालिएको छ।
कैलालीको गेटास्थित निर्माणाधीन मेडिकल कलेजको भवनमा ५०० शय्याको आइसोलेसन बनाउने काम तीव्र रूपमा चलिरहेको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी आइसोलेसन निर्माण भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।
सरकारले फोकल पर्सन तोकेका वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइसोलेसन निर्माणस्थलको अवलोकन गरेका छन्। आइसोलेसन व्यवस्थापनको जिम्मा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई दिइनेछ। “त्यहाँको सबै व्यवस्थापन धनगढी र गोदावरीले गर्नेगरी छलफल भएको छ, दुवै स्थानीय तहका मेयर पनि त्यसका लागि तयार छन्,” मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले भने।
मेडिकल कलेजको ३०० शय्याको अस्पताल र कलेज भवनको निर्माण अन्तिम चरणमा छ। त्यहाँ खानेपानी र विद्युत्को आपूर्ति गर्ने बित्तिकै आइसोलेसनका रूपमा सञ्चालनमा ल्याउन सकिने देखेर यो भवन रोजिएको हो।
खानेपानीका लागि अत्तरिया खानेपानीको पाइपलाइन जोडिने भएको छ। आईसीयू, भेन्टिलेटर, शय्या, अक्सिजन लगायतका अत्यावश्यक सामग्रीको तुरुन्त आपूर्तिका लागि एक्सन टीम बनाएर काम अगाडि बढाइएको छ।
“स्वास्थ्य मन्त्रालयले आइसोलेसनमा चाहिने चिकित्सकहरूको व्यवस्थापन गर्छ, त्यहाँका लागि छुट्टै स्वास्थ्यकर्मीको टीम हुन्छ, स्टाफ नर्ससहितका प्यारामेडिक स्टाफका लागि गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले करार सेवामा लिने गरी तयारी गरेको छ,” उनले भने।