अक्सिजन आपूर्ति नभएर कोभिड बिरामीको मृत्यु नरसंहारभन्दा कम होइन : इलाहावाद उच्च अदालत
भारतको एक उच्च अदालतले मंगलबार एक फैसला गर्दै अस्पतालहरूमा अक्सिजनको आपूर्ति हुन नसकेर कोभिड-१९ का बिरामीको मृत्यु हुनुलाई नरसंहारभन्दा कम मान्न नसकिने बताएको छ।
इलाहावाद उच्च अदालतले अक्सिजनको आपूर्ति नभएका कारणले मात्रै अस्पतालहरूमा कोभिडका बिरामीको मृत्यु हुनुलाई आपराधिक कार्य भनेको हो। “त्यस्तो आपराधिक कार्य अक्सिजनको नियमित आपूर्ति गर्ने जिम्मेवारी पाएका निकायहरूद्वारा भएको मानिन्छ,” उच्च अदालतको फैसलामा भनिएको छ।
अक्सिजनको नियमित आपूर्ति नभएका कारण अस्पतालहरूमा बिरामीको मृत्यु भएका भन्ने समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा छाइरहेका बखत इलाहावाद उच्च अदालतको त्यस्तो आदेश आएको हो। अदालतले ती घटनाहरूको अनुसन्धान गर्न पनि आदेश दिएको छ।
आदेशमा भनिएको छ, “अस्पतालहरूमा अक्सिजनको आपूर्ति नभएका कारणले कोभिड बिरामीको मृत्यु हुनुलाई आपराधिक कार्यका रूपमा लिनुपर्छ। यो ती पदाधिकारीका लागि नरसंहारभन्दा कम होइन, जसलाई अक्सिजनको खरीद र आपूर्ति शृंखला सुनिश्चित गर्ने जिम्मेवारी दिइएको थियो।”
फैसलामा थप भनिएको छ, “विज्ञानको क्षेत्रमा यति धेरै विकास भएर मुटु प्रत्यारोपण र मस्तिष्कको सर्जरी जस्ता जटिल उपचार सम्भव भएको अहिलेको समयमा हामी हाम्रा जनतालाई यसरी मर्न दिन (अक्सिजनको आपूर्ति नहुँदा) कसरी सक्छौं?”