दिल्ली सम्झाउने पशुपति आर्यघाटका तस्वीर
कोभिड–१९ को दोस्रो लहरको चपेटामा परेको भारतको राजधानी दिल्लीमा सामूहिक दाहसंस्कार गरेका तस्वीरले संसारको ध्यान खिचेका थिए। त्यस्तै, पीडादायी तस्वीर काठमाडौंको पशुपति आर्यघाटमा चलिरहेको सामूहिक दाहसंस्कारमा पनि देखिएका छन्।
कोभिड-१९ को महामारीका कारण मंगलबार एकैदिन अहिलेसम्मकै बढी ५५ जनाले ज्यान गुमाए। योसँगै नेपालमा कोरोना महामारीमा मृत्यु हुनेको संख्या तीन हजार ४१७ पुगेको छ।
मृतकको संख्या बढेसँगै उपत्यकामा संक्रमितको शवदहन गर्ने एक मात्र स्थान पशुपतिनाथ मन्दिर परिसरको आर्यघाट र विद्युतीय शवदाह गृहमा भीड लागेको छ। सोमबार २० वैशाखमा मात्र त्यहाँ ३६ शव जलाइएका थिए।
एकैदिनमा धेरै शव आएका कारण अहिले आर्यघाटमा विद्युतीय शवदाह गृह र परम्परागत रूपमा दाउराको प्रयोगबाट एकैपटक अन्त्येष्टि गर्न थालिएको छ। यसअघि भने कोरोना संक्रमितका शवलाई विद्युतीय शवदाह गृहमा मात्र जलाइने निर्देशन थियो।
“लाशलाई सकेसम्म अर्को दिनसम्म नराख्नु भन्ने निर्देशनका कारण बाहिर दाउराको सहायताले पनि सद्गत गराउनुपरेको हो, नत्र त विद्युतीय शवदाह गृहमै गराउने हो,” विद्युतीय शवदाह गृहका एक अधिकारीले भने। शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएकाे छ।
उपत्यकामा कोरोना संक्रमितको शव व्यवस्थापन एकै ठाउँमा गर्नुपर्ने सरकारको निर्णयले पनि समस्या निम्त्याएको देखिन्छ। फरक-फरक स्थानमा दाहसंस्कार गर्नसके आर्यघाटमा देखिएको शवको भीड कम हुने मात्र होइन, शव व्यवस्थापनमा सहज हुने थियाे।