काठमाडौं उपत्यकामा थपिए ३८ सय ९३ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा तीन हजार ८९३ जना कोरोना संक्रमित थपिएका छन्।
मंगलबार सात हजार ६६० जनामा संक्रमण पुष्टि हुँदा उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार ७७९, ललिपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १६ हजार ७०२ जनाको कोरोना परीक्षण गरिएको थियो।
कोरोना संक्रमणले ४० वर्षमुनिका युवालाई बढी प्रभावित बनाएको देखिएको छ। आज थपिएका सात हजार ६६० संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका एक हजार ९७४ जना छन् भने त्यसपछि २० देखि २९ वर्षका एक हजार ८९२ जना छन्।
मंगलबार कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४१७ पुगेको छ।