आईपीएलका बाँकी खेल मुम्बईमा खेलाउने तयारी
खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिन थालेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेलहरू मुम्बईमा खेलाउने तयारी गरिएको छ।
खेलाडीमा कोरोना देखिएपछि आईपीएलको सोमबारको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच खेल स्थगित गरिएको थियो। कोलकाताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई संक्रमण देखिएको थियो।
त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलका बाँकी खेलका विषयमा छलफल थालेको हो। यसअघि दिल्ली, ब्यांग्लोर, कोलकाता र अहमदाबादमा खेल हुँदै आएका थिए।
एउटा ठाउँबाट अर्को ठाउँ जाँदा संक्रमणको जोखिम रहेको जनाउँदै अब बाँकी खेल मुम्बईमै गर्ने तयारी भइरहेको बीसीसीआईले जनाएको छ।
भारतीय मिडियाका अनुसार, यही साताबाट सबै खेल मुम्बईमा खेलाउने गरी खेलतालिका सार्वजनिक गर्ने बीसीसीआईले तयारी गरेको छ। अब दिल्लीमा मात्रै होइन, कोलकाता र अहमदाबादमा पनि खेल नहुने भएका छन्। यसअघि प्लेअफका केही खेल र फाइनल अहमदाबादमा गर्ने तय गरिएको थियो।
मुम्बईका तीन रंगशालामा बाँकी खेल खेलाउने तयारी छ। जसमा वानखेडे, ब्रेबार्न र डीवाई पाटिल स्टेडियम रहेका छन्।
आईपीएलका खेल मुम्बई सारेपछि तालिकामा पनि परिवर्तन हुनसक्ने जनाइएको छ। आईपीएलको समय केही लम्बिनेछ।
३० मेमा फाइनल तय भएको छ। यो जुन पहिलो सातासम्म जानसक्ने भारतीय मिडियाले जनाएका छन्। अहिलेसम्म आईपीएलका ३० खेल भएका छन्। अझै ३० खेल बाँकी छन्।