आगामी वर्षायाममा औसतभन्दा धेरै वर्षाको सम्भावना, विपद्को जोखिम
नेपालमा आगामी वर्षायाममा औसतभन्दा धेरै वर्षा हुने अनुमान गरिएको छ। यसले खेतीपातीलाई लाभ गरे पनि विपद्को जोखिम बढ्नसक्ने जनाएकाे छ।
दक्षिण एसियाली मुलुकका मौसमविद्हरूको संगठन साउथ एसियन क्लाइमेट आउटलुक फोरमले २७ अप्रिलमा गरेको ऋतुगत पूर्वानुमान अनुसार, आगामी मनसुनमा दक्षिण एसियाको हिमालय क्षेत्रमा सरदरभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिएको हो। फोरमले यो वर्ष दक्षिण एसियाका धेरै भूभागमा औसतभन्दा धेरै वर्षाको आकलन गरेको छ।
अंग्रेजी महीनाको जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुन अवधि मानिन्छ। नेपालमा, सामान्यतया जुन १० मा मनसुन भित्रिएर २३ सेप्टेम्बरमा बाहिरिने गर्छ। मनसुन अवधिमा नेपालमा सरदर एक हजार ४९६.७ मिलिमिटर पानी पर्छ।
सरदर ९० देखि ११० प्रतिशतसम्म वर्षालाई औसत वर्षा मानिन्छ भने सोभन्दा कम वा बढीलाई अधिक वा न्यून वर्षाका रूपमा बुझिन्छ। मनसुनले दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ। मनसुन अवधिका चार महीनामा वार्षिक वर्षाको तीनचौथाइभन्दा बढी वर्षा हुने गर्छ।
यो वर्षको मनसुनमा दक्षिण एसियाको उत्तर–पश्चिमी र केन्द्रीय भागमा औसतभन्दा बढी वर्षा र सुदूर उत्तर–पश्चिमी केही भूभागमा औसतभन्दा कम वर्षा हुने आकलन छ।
आगामी वर्षायाममा नेपालको अधिकांश भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। यद्यपि, चितवन आसपास र सुदूरपूर्वको केही भागमा भने औसतभन्दा कम वर्षा हुने सम्भावना छ।
मनसुनी वर्षा राम्रो भएमा आकाशेपानीका भरमा गरिने धान खेतीसहितका कृषि उत्पादन बढ्छन्। जस्तै, गत वर्षायाममा पनि मनसुनी वायु राम्ररी सक्रिय हुँदा रासायनिक मलको अभावबीच पनि धान उत्पादन अहिलेसम्मकै धेरै भएको थियो। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करीब एकचौथाइ योगदान कृषि क्षेत्रको छ। कृषि क्षेत्रमा पनि धानको योगदान करीब २१ प्रतिशत छ।
बालीनालीका लागि धेरै पानी पर्नु राम्रो भए पनि बढी वर्षाले बाढी, पहिरोजस्ता विपद् निम्त्याउने जोखिम हुन्छ। नेपालमा हरेक वर्षजसाे वर्षायाममा बाढी, पहिरो, डुबानको विपद् निम्तिँदै आएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिको वर्षाको आकलनको विस्तृत विवरण मंगलबार सार्वजनिक गर्दै छ।