अप्ठ्यारो काम गर्ने शेर्पाहरू किन प्रसन्न देखिन्छन्?
अन्य समुदायका मान्छेभन्दा के साँच्चै शेर्पाहरू बढी उत्साही हुन्छन्? शेर्पाबारे टिप्पणी गर्ने विदेशीहरू जो प्रायः आरोहण कार्यका लागि शेर्पालाई काममा लिन्छन्, के उनीहरूसँग शेर्पाबारे बृहत् र गहन ज्ञान छ? के उनीहरूले शेर्पालाई वास्तवमै बुझेका छन्?
विदेशीहरूले दशकौंदेखी नेपालका शेर्पाहरूको प्रसन्न रहने स्वभावको कदर र प्रशंसा गर्दै आएका छन्।
तेन्जिङ नोर्गेको आत्मवृत्तान्तको भूमिकामा एकजना पश्चिमा आरोहीले ‘शेर्पा समुदायको सहनशीलता र राम्रो हास्यचेत, जसका लागि उनीहरू प्रख्यात छन्...’ का सवालमा नोर्गे एउटा प्रतीक भएको उल्लेख गरेका छन्।
“शेर्पाहरू खुशी प्राणी हुन्, उनीहरू सहनशील र हास्यचेतले औधी भरिपूर्ण हुन्छन् भन्ने कुरा उनीहरूसँग यात्रा गर्ने जोकसैलाई थाहा हुन्छ,” ती आरोही पुस्तकमा लेख्छन्, “उनीहरू आफ्ना हरेक गतिविधि उल्लासका साथ सम्पन्न गर्छन्, हरेक कुरामा स्फूर्तिपूर्ण ढंगले जागरुकता देखाउँछन्।”
अन्य अन्तर–सांस्कृतिक सामान्यीकरण जस्तै, शेर्पाबारे भनिने यी कुरा पनि साधारण लाग्छन्, तर यो जति साधारण देखिन्छ, त्योभन्दा धेरै जटिल छ।
यथार्थ चाहिँ के हो त? के साँच्चै अन्य समुदायका मान्छेभन्दा शेर्पाहरू बढी उत्साही हुन्छन्? शेर्पाबारे टिप्पणी गर्ने विदेशीहरू जो प्रायः आरोहण कार्यका लागि शेर्पालाई काममा लिन्छन्, के उनीहरूसँग शेर्पाबारे बृहत् र गहन ज्ञान छ? के उनीहरूले साँच्चै शेर्पालाई बुझेका छन्?
झट्ट सुन्दा शेर्पाहरूको बखान गरिएको भन्ने लागे पनि कतै यो अप्रत्यक्ष रूपमा गरिएको अपमान त होइन? उत्साही, हँसिला–खुशिला भनेर शेर्पाहरूलाई केटौले संज्ञा दिइएको त होइन? शेर्पाहरू अन्य समुदायभन्दा वास्तवमै रमाइला मान्छे हुन् भने उनीहरू किन यस्ता भए त?
सन् १९९० को अन्त्यतिर, शेर्पा संस्कृति र शेर्पाप्रतिको पश्चिमा दृष्टिकोणबारे मानवशास्त्रीहरूमाझ गजबको र निकै महत्त्वपूर्ण बहस भएको थियो।
उक्त संवादमा शेर्पाहरूको प्रसन्नता मुख्य विषय बनेको थियो। यस्ता बहसले हामीलाई विदेशी–नेपाली अन्तर्क्रिया र खासमा सम्पूर्ण इतिहास सुदृढ ढंगले बुझ्न मद्दत गर्छन्।
‘टाइगर्स अफ द स्नो’ (१९९६) भन्ने किताबमा भिन्केन एडम्सले ‘भर्चुअल’ शेर्पा र शेर्पा संस्कृतिलाई शेर्पाहरूबारे पश्चिमा बुझाइको जटिल प्रतिविम्बका रूपमा औंल्याएकी छिन्। शेर्पाबारे पश्चिमाहरूले तिनका आफ्नै आशा र सपनामा आधारित थुप्रै आर्थिक, राजनीतिक र सांस्कृतिक बुझाइ निर्माण गरेका छन्, जसले बाह्य समुदायसँग शेर्पाहरूको वास्तविक अन्तर्क्रियालाई नै प्रभाव पारेको छ।
शेर्पाहरूको निर्माण दुई प्रकारले हुने गरेको उनले लेखेकी छिन्। “पश्चिमा हेराइ र उक्त हेराइका वस्तु बनेका शेर्पाहरूले नै शेर्पाको बेग्लै निर्माण गरिरहेका छन्,” उनी लेख्छिन्। (पृ. २२८)
अर्कोथरी तर्क छ– शेर्पाहरूले वर्षौदेखि, २०औं शताब्दीको शुरूबाटै हिमाल आरोहणमा लागिरहँदा विदेशी आरोहीहरूले केलाई महत्त्व वा इनाम दिन्छन् र उनीहरू के देख्न चाहन्छन् भन्ने बुझे। विदेशीहरू इमानदारी, भ्रातृत्व र प्रसन्नता रुचाउँछन् भन्ने थाहा पाएपछि त्यही अनुसार व्यवहार गर्न थाले।
शेर्पा संस्कृतिले यस्तो ढाँचा अँगालेको छ, जुन केही मात्रामा उद्देश्यवश, तर अन्जानमै समाहित छ र त्यो बाहिरियाहरूले लेखेको स्क्रिप्टमा आधारित छ। अथवा, यसरी भनौं, शेर्पा संस्कृति शेर्पाहरूकै अभिनय रहेको शेर्पा नाटकजस्तो छ, जुन पश्चिमा आरोहीका लागि तयार गरिएको हो।
'लाइफ एन्ड डेथ अन माउन्ट एभरेस्ट’ (२००१) पुस्तकमा अर्टनरले फरक विचार राखेकी छिन्। उनले पश्चिमा आरोही र शेर्पाबीचको सम्पन्नताको दूरीलाई स्वीकार गर्दै के भनेकी छिन् भने, शेर्पाहरू आर्थिक रूपमा थप सम्पन्न भइदिएका भए उनीहरू बाहिरियाहरूको भारी बोकेर आफ्नो ज्यान दाउमा राख्दैनथे।
तर, अर्टनर के पनि भन्छिन् भने, सम्पन्नताको दूरीसँगै अन्य तत्त्व– विशेषगरी परिवर्तनशील शेर्पा समाजबाट उत्पन्न सुदृढ सांस्कृतिक तथा आर्थिक शक्ति– ले पनि शेर्पा आचरण र अर्थ–निर्माणलाई पश्चिमा दृष्टिले भन्दा उन्नत तरिकाले व्याख्या गर्छन्। उनले दिएका उदाहरणमध्ये एउटा प्रख्यात शेर्पा प्रसन्नताबारे छ।
आरोहण कर्मको शुरूआती क्षणमा पश्चिमा आरोहीले पुरुष शेर्पा आरोहीहरू मैत्री स्वभावका हुने र हँसीमजाक रुचाउने खालका हुन्छन् भन्ने बुझे। डरलाग्दा हिमाली बाटाघाटा र उकाली–ओरालीमा दिनभरि गह्रौं भारी बोकिरहँदा समेत उनीहरू मुसुक्क मुस्कुराउने र जोखिमपूर्ण काम समेत प्रसन्नतासाथ गर्ने पश्चिमाको ठहर थियो।
पश्चिमा साहेबहरूले शेर्पाबारे अक्सर तीन चिजमा टिप्पणी गर्ने गरेको अर्टनरले औंल्याएकी छिन्। एक, राम्रो हास्यचेत वा असल स्वभावका साथै सहजै मुस्कुराउने वा हाँस्ने आदत भएको शेर्पा ‘चरित्र’बारे। दुई, ठट्टा र जिस्क्याइमा प्रवेश हुन तयार भइहाल्ने बानीबारे। र, तेस्रो, शेर्पाहरूसँगको गफगाफ सुखद र रमाइलो बनाउने उनीहरूको मिलनसार स्वभाव। (पृ. ५८) यिनै तीन कुरा उनले उल्लेख गरेकी छिन्।
एडम्सका अनुसार, शेर्पाहरूको प्रसन्न स्वभावलाई ‘शेर्पाहरू यस्ता भइदिए हुन्थ्यो’ भन्ने पश्चिमा अपेक्षाको ‘भर्चुअल’ (अप्रत्यक्ष) प्रतिविम्बका रूपमा बुझिनुपर्छ। पश्चिमा आरोहीले हिमाली क्षेत्रका शेर्पालाई आधुनिक जीवनशैलीको भ्रष्ट प्रभावबाट मुक्त रहेका ‘सच्चा’ स्वभावका, ‘सच्चा’ मानिस मान्न चाहे। तिनको रोमाञ्चक परिकल्पनाले शेर्पाहरू हिमालझैं पवित्र र अछुता हुन्छन् भन्ने ठान्यो।
यो रोमाञ्चकताले पक्कै पनि पश्चिमा विचारको शक्तिशाली बहाव झल्काउँछ। बाहिरिया (पश्चिमा)हरूको एउटा लामो इतिहासले पूर्वआधुनिक वा परम्परागत ‘अन्य (मानिस)हरू’ को यस्तो छवि निर्माण गरेको छ, जसले तिनलाई खुशी, साहसी र सच्चा हुन्छन् भन्ने दर्शाउँछ। यो चित्रणले ‘सन्त जंगलीहरू’ (नोबल स्याभेजेज) र गैरपश्चिमेली ग्रामीण समाजबारे तिनको व्याख्यालाई भन्दा पनि पश्चिमाहरू र पश्चिमालाई सिर्जना गर्ने पश्चिमा समाजका रहर र उग्र–आकांक्षालाई उदांगो पार्छ।
पश्चिमासँग व्यवहार गर्न सिपालु शेर्पाहरूले तिनका रोमाञ्चक कल्पनालाई टपक्कै टिपेर आफूमा समाहित गरेका छन्। ती कल्पनालाई कसरी व्यवहारमा उतार्ने भन्नेबारे शेर्पालाई राम्रो ज्ञान छ। पछिल्लो दशक नेपाली संस्कृतिमा पर्यटन घुलमिल भएपछि गैरपश्चिमेली मानिसबारे पश्चिमेली समाजका रोमाञ्चक परिकल्पनाबारे नेपालीहरूको ज्ञान व्यापक बढेको छ।
(रोचक कुरा त के छ भने, ग्रामीण पर्यटनको सोख सिर्जना गरेको नेपालको शहरिया मध्यम वर्ग हिजोआज ‘अथेन्टिक' प्रि–मोर्डनको खोजीमा तल्लीन देखिन्छ। उनीहरूको यो खोजले पश्चिमा आरोहीको रोमाञ्चक सपनाहरूको याद दिलाउँछ।)
यो अप्ठ्यारो अन्तर–सांस्कृतिक बहुआयाम बुझ्न एडम्सका लेख सहयोगी हुन्छन्। उनले पाठकलाई सोचविचारका लागि प्रशस्त खुराक दिन्छिन्।
लाइफ एन्ड डेथ पुस्तकमा लेखक अर्टनरले शेर्पाहरूको हाँसो वा प्रसन्नता पश्चिमा ‘साहेब’हरूले गैरयूरोपेलीहरूबारे गर्ने परिकल्पनासँग मिल्दो हुन्छ भनी स्वीकार गरेकी छिन्।
‘साहेबहरूको गहन रोमाञ्चकता, हिमाल आरोहण गरेर आधुनिकताबाट मुक्त हुने तिनको चाहना शेर्पाप्रतिको बुझाइसँग जोडिन्छ,” उनी लेख्छिन्, “शेर्पाहरू हिमालझैं निर्दोष, अप्रभावित र प्राकृत छन् भन्ने पश्चिमा बुझाइ छ।” (पृ. ४५) प्रसन्नतालाई पश्चिमाले शेर्पाको निर्दोषपनको बाह्य संकेत माने।
यति हुँदाहुँदै पनि शेर्पाको प्रसन्न मुद्रा बाह्य प्रभावका कारण निम्तिएको हो भन्ने चाहिँ अर्टनरले स्वीकार गरेकी छैनन्। उनका अनुसार, शेर्पाहरू प्रि-मोर्डन एसियाली (पूर्व–आधुनिक एसियालीहरू ?) हँसिला–खुशिला होऊन् भन्ने पश्चिमा अपेक्षा पूरा गर्न शेर्पाहरूले हाँस्ने/जिस्किने गरेका होइनन्। उनीहरू आफ्नै कारण (स्वाभाविक भावमा) त्यसो गर्छन्। खासमा उनीहरू साँच्चिकै खुशी प्राणी हुन्। उनीहरू जन्मजात, हरेक ठाउँ र हरेक समयमा खुशी हुन्छन् भन्ने होइन, तर बीसौं शताब्दीको शुरूवातमा आरोहणमा जाने विशेषतः पुरुष शेर्पालाई विभिन्न ऐतिहासिक तत्त्वले खुशी बनाउन सिकायो।
अर्टनरले यी ऐतिहासिक तत्त्वबारे पनि बताएकी छिन्। एक थियो, शेर्पाहरूको बौद्ध आस्था, जसले शान्तिलाई श्रद्धा गर्न र विलासी चाहनाबाट टाढा रहन प्रेरित गर्ने मानवशास्त्री क्रिस्टोफर भन फुरेर–हाइमनडर्फले उल्लेख गरेका छन्। अर्को थियो, व्यापार परम्परा, जसले बाह्य मानिससँग उनीहरूको संसर्ग बढाएको कुरा मानवशास्त्री माइक थम्सनले उल्लेख गरेका छन्।
अर्टनरका अनुसार, यीबाहेक अन्य कारकले पनि ठूलो भूमिका खेलेका थिए। पहिले–पहिलेका अधिकांश भरियाहरू विपन्न शेर्पा परिवारका हुन्थे। राणा शासनमा अत्यधिक र कठोर रूपमा कर वृद्धि हुँदा उनीहरूको जीवन अत्यन्तै कष्टकर हुन्थ्यो। निकै शारीरिक बल खर्च हुने भए पनि भारी बोक्ने काम उनीहरूका लागि आकर्षक थियो र कामको कदर हुन्थ्यो। ज्यालादारीको काम भए पनि अग्रज आरोही समुदायको तुलनामा उनीहरूको आम्दानी राम्रै थियो। पाकिस्तानको हुन्जा समूहकै उदाहरण लिऊँ, तिनले फोर्स्ड लेबर (बँधुवा मजदुर ?) का रूपमा भरिया हुनुपर्थ्याे।
योसँगै, सन् १९३० र १९४० को दशकमा शेर्पाहरूले पश्चिमा मालिकसँग आफ्नो ज्याला बढाइदिन र काम गर्ने वातावरण सुधारका कसरी सफलतापूर्वक जोडबल गरे भन्नेबारे अर्टनरले लेखेकी छिन्। आफ्नै पहलमा कसरी कामको अवस्था सुधारियो भन्नेबारे शेर्पाहरू पछाडि फर्केर हेर्न सक्छन्। यसलाई लिएर खुशी नहुनुपर्ने कुनै कारण छैन।
शेर्पाहरूले पैसाका लागि भारी बोके र त्यसबाट राम्रो आम्दानी गरेको हुनाले उनीहरू प्रसन्न हुन्छन् भन्नु उनीहरू भ्रष्ट छन् भन्ने आशय होइन। पश्चिमा आरोहीहरू हिमाल चढ्नुलाई उच्च दिव्य दर्शनको खोजमा गरिने आदर्शपूर्ण यात्राका रूपमा लिन्छन्। र, शेर्पाहरूले पनि सोही रोमाञ्चक उद्देश्यसाथ इमानदारीपूर्वक हिमाल चढ्छन् भन्ने तिनको विश्वास छ। शेर्पाहरूले पैसाप्रति स्वाभाविक मानवीय चाहना देखाउँदा समेत कतिपय पश्चिमाले तिनलाई ‘अशेर्पा’ वा भ्रष्ट भन्ने गर्छन्।
शेर्पा र पैसालाई लिएर अर्टनरको फरक बुझाइ छ। उनका अनुसार, शेर्पाहरू विदेशीसँगको कामबाट पैसा कमाएर आफ्ना परम्परागत क्रियाकलाप सम्पन्न गर्न सकिन्छ कि भनेर आम्दानी गर्न चाहन्छन्। शेर्पा आरोहीकाे पैसाले धेरैवटा अर्थ राख्छ। उनी भन्छिन्, “यसले आर्थिक लाभ हासिल गर्ने भन्ने पनि जनाउँछ। यसले परिवार पाल्ने वा बच्चालाई दार्जीलिङका निजी विद्यालय पठाउने वा धार्मिक अनुष्ठानका लागि यात्रा गर्ने वा गुम्बा निर्माणमा सहयोग जुटाउने भन्ने पनि जनाउँछ।” (पृ. ६७)
खास कुरा के हो भने, अर्टनर भन्छिन्, पैसाका लागि हिमाल चढ्नुलाई धनी आदर्शवादी पश्चिमाहरूले अपवित्र काम माने पनि शेर्पाहरूका लागि हिमाल चढेर आर्जन गरेको रकमले वास्तवमा ‘हामीले कल्पना गर्ने ‘आधिकारिक’ शेर्पा सांस्कृतिक समुदाय वा त्यो क्षेत्र जहाँ उनीहरू आफ्ना चाहना आफ्नै हिसाबले अभिव्यक्त गर्न सक्छन्’– त्यस्तो संरचना निर्माणका लागि दिशानिर्देश गरेको छ।
पैसाका लागि उनीहरूले आरोहण गर्नु ‘अथेन्टिक’ हो, किनभने यसले शेर्पा समुदायभित्रका क्रियाकलाप र रुचिहरूलाई झाँगिन दिन्छ। यहाँ मैले अथेन्टिकलाई कोष्ठकभित्र यसकारण राखेको हुँ कि त्यो वास्तविक र गहन रूपमा अनुभूत गरिएको विषय भए पनि त्यसको अर्थ स्थिर र अपरिवर्तनशील थिएन।
बीसौं शताब्दीको शुरूआततिरका हिमाल आरोही भरिया शेर्पाहरूको खुशीबारे विमर्श गर्न म निकै मन पराउँछु। यसले हामीलाई बीसौं शताब्दीमा भएका यूरोपेली र एसियालीहरूबीचको बढ्दो जम्काभेट (सम्बन्ध) लाई आकार दिने जटिलताबारे थप बुझ्न मद्दत गर्छ।
शेर्पाहरूको आरोहण संस्कृतिले यी सम्बन्धको वास्तविक, तर गतिशील शक्ति सन्तुलनको यथार्थ पनि व्यक्त गर्छ। यसले विकल्प रोजाइको सवालमा फरक शक्तिहरूका असन्तुलनबीच पनि प्रत्येक नेपाली (र अन्य एसियाली) ले पश्चिमासँगको सम्बन्ध र भेटघाटबारे कसरी आफ्नै मौलिक व्याख्या निर्माण गरे भन्ने पनि बुझ्न मद्दत गर्छ।
इतिहास, संस्कृति, शक्ति, अर्थ-निर्माण र एजेन्सीबारे विमर्श गर्न अर्टनरले निकै महत्त्वपूर्ण मोडल प्रदान गरेकी छिन्। यो मोडल म आफैंले पनि मेरो लेखहरूमा कसरी विभिन्न नेपालीहरू -काठमाडौंका योजनाकारदेखि फिल्डमा खटिने कार्यक्रम कार्यान्वयनकर्ता वा विभिन्न उमेर तथा आर्थिक हैसियतका थारू महिला र पुरुष- ले सन् १९५० र १९६० को दशकमा चितवनजस्ता ठाउँमा अन्तर्राष्ट्रिय विकास कार्यक्रमले ल्याएको रूपान्तरणलाई कसरी आफ्नो हिसाबले अर्थ लगाउँथे भन्ने बुझ्नका लागि प्रयोग गर्छु।
शेर्पाहरूको खुशीको बहसले इतिहासबारे हाम्रो बुझाइ बढाउन पनि मद्दत गर्छ। नेपालमा इतिहासलाई अक्सर काठमाडौंभित्रको राजनीतिक षड्यन्त्रका रूपमा बुझ्ने गरिन्छ। ती षड्यन्त्रहरू निश्चय पनि महत्त्वपूर्ण छन्, तर विकट हिमाली क्षेत्रका भरियाहरूले गह्रौं भारी बोक्दै गरेका जटिल र जोखिपूर्ण काम र ती कामलाई तिनले दिएका समृद्ध र आकर्षक अर्थहरू पनि उत्तिकै महत्त्वपूर्ण छन्।
(रबर्टसन वातावरण-इतिहासकार हुन् र ‘मीठो लेखाइ’ भिडिओ श्रृंखलाका रचनाकार हुन्।)