महामारी लक्षित कार्यक्रम शुरू गर्न गैरसरकारी संस्थाहरूलाई समाज कल्याण परिषद्को निर्देशन
समाज कल्याण परिषद्ले देशमा सञ्चालनमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई परियोजनाको ५ देखि २० प्रतिशतसम्म रकम कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा राहतमा खर्च गर्न निर्देशन दिएको छ।
परिषद्ले आइतबार एक निर्देशन जारी गर्दै कोभिड-१९ को महामारीसँग जुध्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई आफ्नो बजेटको निश्चित हिस्सा खर्च गर्न भनेको हो।
परिषद्का प्रवक्ता दुर्गाप्रसाद भट्टराईले परिषद्सँग आबद्ध संस्थाहरूलाई कोभिड-१९ सम्बन्धी परियोजना सञ्चालनका लागि अनुरोध पठाइएको बताए।
परिषद्ले रू.५ करोडसम्म स्वीकृत मूल परियोजना भएका संस्थाले महामारीमा २० प्रतिशतसम्म खर्च गर्नसक्ने उल्लेख गरेको छ। त्यस्तै, ५० करोडभन्दा माथि बजेट भएका संस्थाले महामारीका लागि ५ प्रतिशत खर्च गर्नुपर्नेछ।
महामारीमा काम लाग्ने अक्सिजन, सिलिन्डर, आईसीयू, भेन्टिलेटर जस्ता सामग्रीको खरीद तथा श्रमिक, विदेशबाट फर्किएका कामदार, महिला तथा विपन्नलाई राहतका लागि यो रकम खर्च गर्न सकिनेछ।