गर्भावस्थामा खोप लगाए शिशुमा बन्नसक्छ कोरोनाविरुद्ध एन्टिबडी
गर्भावस्थामा कोभिड-१९ विरुद्ध खोप लगाउँदा नवजात शिशुमा पनि कोरोनाभाइरसविरुद्धको एन्टिबडी बनेको पाइएको छ, तर यसबारे पर्याप्त अध्ययन भइसकेको छैन।
गर्भवती भएको सात महीनामा कोभिड–१९ विरुद्धको खोप लगाएकी डा. प्रेरणा श्रेष्ठको नवजात शिशुमा पनि कोरोनाभाइरस प्रतिरोधात्मक क्षमता रहेको पुष्टि भएको छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा बस्ने श्रेष्ठ आफूले खोप लगाएको हुँदा छोरामा पनि एन्टिबडी सरेको थाहा पाएपछि हर्षित छिन्।
दुई हप्ताअघि दोस्रो सन्तानका रूपमा श्रेष्ठले छोरा जन्माएकी थिइन्। त्यसअघि उनले गत १६ फागुनमा फाइजर–बायोएनटेक खोपको पहिलो र ८ चैतमा दोस्रो डोज लगाएकी थिइन्। “गत फेब्रुअरीमा यहाँको सीडीसी (सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन) ले गर्भवतीलाई पनि इच्छा अनुसार खोप लगाउन भनेको थियो,” उनी भन्छिन्, “शुरूमा त के गरौं भयो। डर–डर पनि लागेको थियो। तर, लगाएँ।”
नवजात शिशुमा एन्टिबडी बनेकाे पाइएकाे चिकित्कसले बताएका छन्। “नियमित जाँचका लागि २३ अप्रिल (१० वैशाख) मा छोरालाई हन्टिङ्टन हस्पिटल लिएर गएकी थिएँ,” श्रेष्ठले भनिन्, “डाक्टरले मलाई कोभिड–१९ को खोप लगाए/नलगाएको सोधे। अनि, बच्चाको रगतमा स्पाइक प्रोटिन एन्टिबडी देखिएको बताए। त्यो सुनेर एकदम खुशी भएँ, सही निर्णय लिएछु भन्ने लागेको छ।”
श्रेष्ठ स्टोनी ब्रुक युनिभर्सिटीकी सहायक प्राध्यापक हुन्। त्यहाँको न्युरोबायोलजी एन्ड बिहेबियर विभागमा भर्खर अध्यापन शुरू गरेकाले नियमित कार्यालय जानैपर्ने बाध्यता थियो। विद्यार्थी एवं अन्य कर्मचारीसँग घुलमिल हुनुपर्ने हुँदा कोरोनाभाइरस संक्रमणको जोखिम अत्यधिक देखेर गर्भावस्थामै खोप लगाउने निर्णय लिएको उनी बताउँछिन्।
श्रेष्ठले आफ्नो शिशुमा कोरोनाभाइरसँग लड्नसक्ने तागत रहेकोबारे केही दिनअघि सोसल साइट ट्वीटरमा लेखेकी थिइन्। उनको ट्वीट भाइरल बन्यो। विश्वभरका मानिस यसबारे थप सोधीखोजी गर्न उनलाई सम्पर्क गरिरहेका छन्। आइतबारसम्म उनको ट्वीट ७ हजार ३ सय पटक रिट्वीट भएको छ भने ४३ हजार बढीले लाइक गरेका छन्।
“खोपबारे केही मानिसहरूमा सन्देह रहेकाले मेरो अनुभव साझा गर्दा राम्रै हुन्छ जस्तो लागेर ट्वीट गरेकी थिएँ,” उनले ह्वाट्सएप मार्फतहिमालखबरसँग भनिन्, “मेरो छोराको ब्लडमै ६ देखि १२ महीनासम्मका लागि कोभिड–१९ विरुद्ध प्रतिरोधात्मक क्षमता रहने पुष्टि भएको छ। आमाको दूधबाट पनि सन्तानमा कोरोनाविरुद्धको एन्टिबडी सर्ने बताइन्छ। तर, भ्रूणमै सर्नु थप खुशीको कुरा हो।”
पर्याप्त अध्ययन छैन
त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलजी विभागकी पूर्वप्रमुख प्रा.डा. अन्जना सिंहका अनुसार, गर्भवतीको शरीरमा एन्टिबडी विकास भएको छ भने साल (प्लसेन्टा) बाट बच्चामा पनि जान सक्छ। तर, कोरोनाभाइरसविरुद्धको खोप लगाएकी महिलाबाट उनको नवजात शिशुमा एन्डिबडी सर्छ/सर्दैन भन्नेबारे पर्याप्त अध्ययन भइसकेको छैन।
“आमाको शरीरमा भएको एन्टिबडी भ्रूणमा जाने कुरा सही हो, तर कोभिड खोपको विषयमा पनि यो लागू हुन्छ/हुँदैन अध्ययन गर्न बाँकी छ,” सिंह भन्छिन्, “पूर्ण अध्ययन नभइसकेकाले प्रायः देशमा गर्भवती र तुरुन्तै गर्भवती हुन चाहनेलाई खोप नलगाउन भनिएको छ।”
लन्डनको इम्पेरियल कलेजकी रिप्रोडक्टिभ इम्युनोलजी विषयकी प्राध्यापक भिक्टोरिया मेलले ‘कोभिड–१९ विरुद्धको खोप, प्रजनन, गर्भावस्था र स्तनपान’ शीर्षकमा एउटा जानकारीमूलक विवरण तयार पारेकी छन्। त्यसमा उनले विशेषगरी गर्भावस्थाको तेस्रो महीनाको मध्यतिर गर्भवतीमा कोभिड–१९ को संक्रमणको जोखिम उच्च रहने जनाएकी छिन्। त्यसैले सबै गर्भवतीलाई कोभिड–१९ खोप लगाउन बेलायत सरकारले सुझाव दिएको उल्लेख गरेकी छन्।
संयुक्त राज्य अमेरिकाका अधिकांश राज्यले पनि कोभिड–१९ खोप लगाउनुपर्ने प्राथमिकताको सूचीमा गर्भवतीलाई समेत राखेका छन्। त्यहाँ मोडेर्ना, फाइजर–बायोएनटेक, जन्सन एन्ड जन्सन/जानसेन खोप वितरण गरिएको छ। सीडीसीले खोप लगाउनुअघि आफ्ना डाक्टरसँग परामर्श लिन सुझाव दिनुका साथै गर्भवतीले खोप लगाउने विषयलाई ‘पर्सनल चोइस’ भनेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चाहिँ गर्भवतीहरू कोभिड–१९ को उच्च जोखिम समूहमा परे पनि गर्भावस्थामा खोपको सुरक्षाबारे निकै कम जानकारी उपलब्ध रहेको जनाएको छ। “खोपले निम्त्याउने जोखिमभन्दा खोप लगाउँदाको फाइदा बढी हुन्छ भने गर्भवतीले खोप लगाउन सक्छन्,” डब्लुएचओको बेवसाइटमा लेखिएको छ, “फ्रन्टलाइनमा काम गर्ने र जटिल स्वास्थ्य समस्या भएका गर्भवतीले डाक्टरसँगको परामर्शपछि खोप लगाउन सक्छन्।”
प्राध्यापक मेलका अनुसार, खोप लगाएका गर्भवतीले सालका माध्यमबाट भ्रूणमा एन्टिबडी सार्छन्। त्यसरी सरेको एन्टिबडीले शिशुलाई कोभिड–१९ विरुद्ध सुरक्षा दिन्छ। यो विषयमा भएका चार वटा अध्ययनको लिंक पनि उनले आफ्नो विवरणमा दिएकी छिन्। जन्स हप्किन्स बर्मन इन्स्टिच्यूट अफ बायोइथिक्सका संस्थापक रुथ फडेनका अनुसार, गर्भवती अवस्थाका महिलाले कोभिड-१९ खोपको प्रकृति र आफू संक्रमित हुनसक्ने जोखिम बुझेर खोप लगाउने/नलगाउने निर्णय लिन सक्छन् ।
सरुवा रोग विशेषज्ञ ल्हामो वाई शेर्पाका अनुसार, नेपालमा हालसम्म लगाइएको कोभिशिल्ड र भेरोसेल खोप गर्भवतीले लगाउनु हुन्छ कि हुँदैन, लगाएमा बच्चामा एन्टिबडी सर्छ/सर्दैन अध्ययन भएको छैन। “फाइजरले नवजात शिशुहरूमा क्लिनिकल परीक्षण गरेको छ,” उनी भन्छिन्, “गर्भवतीलाई पनि खोप परीक्षणमा सहभागी गराइँदै छ। स्तनपान गराइरहेकाहरूले खोप लगाउँदा फरक पर्दैन।”
भी–सेफ र मदर टु बेबी कार्यक्रम
कोभिड–१९ खोप लगाएका गर्भवतीका लागि अमेरिकी सरकारले भी–सेफ कार्यक्रम निर्माण गरेको छ। यसमा सामेल भएपछि गर्भवतीले एसएमएस वा अनलाइनबाट सन्देश पठाएर आफ्नो स्वास्थ्य स्थिति जाँच गराउन सक्छन्। उनीहरूका जिज्ञासाको उत्तर दिन विशेषज्ञ टोली खटाइएको छ।
कोभिड–१९ खोप लगाएका महिलाको स्वास्थ्यबारे जानकारी बटुल्न उक्त कार्यक्रम निर्माण गरिएको हो। त्यस्तै, गर्भावस्था र कोभिड–१९ खोपबारे कुनै पनि जिज्ञासा भए मदर टु बेबी संस्थामा सर्वसाधारणले फोन, इमेल वा लाइभ च्याट मार्फत सम्पर्क गर्न सक्छन्। यस्ता कार्यक्रमले खोपप्रतिका सन्देह, जिज्ञासा र हिचकिचाहट कम गर्न मद्दत पुग्ने विज्ञहरूको भनाइ छ।