ब्यांक तथा वित्तीय संस्थाका शाखा आलोपालोमा सञ्चालन गर्न राष्ट्र ब्यांकको निर्देशन
नेपाल राष्ट्र ब्यांकले एकचौथाइभन्दा कम मात्रै कर्मचारी राखेर सेवा सञ्चालन गर्न ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
कोभिड–१९ को जोखिम बढ्दै गएसँगै राष्ट्र ब्यांकले ब्यांक, विकास ब्यांक, वित्त कम्पनी र लघुवित्त संस्थाहरूका केन्द्रीय कार्यालयमा बढीमा २० प्रतिशत र शाखा कार्यालयमा सम्भव भएसम्म २५ प्रतिशत मात्रै कर्मचारी राखेर सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।
कार्यालयमा कर्मचारीको कम उपस्थिति बनाउन घरबाटै काम गर्ने व्यवस्था मिलाउन र सूचना प्रविधिको उपयोग गर्न राष्ट्र ब्यांकले निर्देशन दिएको छ। शाखा कार्यालयहरू नजिकै भएमा वैकल्पिक रूपमा शाखा खोलेर आलोपालो सेवा दिन पनि राष्ट्र ब्यांकले निर्देशन दिएको छ।
यसको व्यवस्थापनका लागि बन्द हुने शाखा कार्यालयको मूल ढोका, वेबसाइट र सामाजिक सञ्जालमा सेवा बन्द हुने शाखा कार्यालयबारे जानकारी राख्न पनि भनिएको छ। निषेधाज्ञाको पालनाका लागि स्थानीय प्रशासनसँग समन्वय गर्न पनि राष्ट्र ब्यांकले निर्देशन दिएको छ।