नेपालगन्जमा एक सातामै अक्सिजनसहितको आइसोलेसन सञ्चालन
कोरोनाभाइरस संक्रमितले अस्पताल भरिएपछि नेपालगन्ज उपमहानगरपालिकाले विशेषज्ञ चिकित्सक तथा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ।
संक्रमितको उपचार गर्न उपमहानगरको तालिम केन्द्रलाई आइसोलेसन सेन्टरमा परिणत गरिएको मेयर डा. धवलशमशेर राणाले बताए। अहिले अक्सिजनसहित ५० शय्याको आइसोलेसन सञ्चालनमा आएको छ। त्यसमा अक्सिजन आवश्यक पर्ने १० जना संक्रमित राखिएका छन्।
त्यस्तै, तालिम केन्द्रमै अक्सिजनबिनाको ५० शय्याको आइसोलेसन पनि सञ्चालनमा आएको छ। त्यसमा १५ जना संक्रमित राखिएको उपमहानगरले जनाएको छ।
दुवै आइसोलेसन सेन्टरमा तीन सिफ्टमा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ। विशेषज्ञ चिकित्सकको समेत व्यवस्था गरिएको मेयर डा. राणाले बताए। यसमा उपमहानगरपालिकाले २० लाख खर्च भएको जनाएको छ।
संक्रमितलाई आइसोलेसन सेन्टरसम्म ल्याउन उपमहानगरले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। त्यससँगै निःशुल्क खाना र खाजाको व्यवस्था गरिएको छ।
तालिम केन्द्रको भवनमा आइसोलेसन सेन्टर बनाउँदा खर्च कम लागेको र एक हप्तामै सञ्चालन गर्न सकिएको उनले बताए। “अस्पताल भरिएका छन्, गम्भीर बिरामीलाई पनि भर्ना गर्न कठिन भएको छ,” मेयर डा. राणाले भने, “त्यसैले आइसोलेसन सेन्टर तयार गरेका हौं। धमाधम काम गर्दा एक सातामै सञ्चालन गर्न सफल भएका छौं।”
नेपालगन्जमा संक्रमितको संख्या बढ्दै गएको छ। त्यससँगै अक्सिजनको सहायता चाहिने संक्रमितको संख्या पनि थपिँदै गएको छ।
त्यसैले उपमहानगरले १०० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गर्ने तयारी गरेको छ। आइतबार स्वास्थ्यकर्मी र सरोकारवाला निकायसँग छलफलपछि थप आइसोलेसन सेन्टर बनाउने निर्णय गरिएको उनले बताए। “आजैदेखि काम थालिसकेका छौं, छिटै आइसोलेसन सेन्टर सञ्चालनमा आउनेछ,” मेयर डा.राणाले भने।
अहिले बाँकेमा दैनिक ४०० सयभन्दा बढी संक्रमित थपिँदै आएका छन्। उनीहरूमध्ये केहीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेको छ। अस्पताल भरिँदा उपचार नपाएर ज्यान जाने जोखिम रहेको छ।
उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर आइसोलेसन सेन्टर सञ्चालनमा जोड दिएको उनले बताए। सामान्य उपचार गर्नुपर्ने र अक्सिजन चाहिने संक्रमितलाई आइसोलेसन सेन्टरमा उपचार गरिनेछ। त्यहाँ उपचार हुन नसक्ने र आईसीयू तथा भेन्टिलेटर चाहिने संक्रमितलाई मात्रै अस्पतालमा उपचार गर्न सहज होस् भनेर आइसोलेसनमा जोड दिएको उनले बताए।
यसका लागि उपमहानगरले स्वास्थ्यकर्मीको पनि व्यवस्था गरेको छ। त्यसका लागि ४० जना स्वास्थ्यकर्मी भर्ना गरिसकेको छ। थप २०० जना स्वास्थ्यकर्मी भर्ना गर्न लागिएको उनले बताए। नागरिकको ज्यान जोगाउन हरसम्भव प्रयास गरिरहेको बताउँदै मेयर डा. राणाले नगरबासीसँग अनुरोध गर्दै भने, “केही दिन घरमै सुरक्षित बस्नुहाेस्, हामी कोरोनालाई जित्नेछौं।”