कोरोनाको नयाँ रेकर्ड, अहिलेसम्मकै धेरै संक्रमित थपिए
नेपालमा काेराेनाभाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गरेकाे छ। आज अहिलेसम्मकै बढी पाँच हजार ७६३ जनामा काेराेना पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज १४ हजार ९६९ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार ७६३ जनामा कोरोना संक्रमण देखिएकाे हाे। यसअघि गत वर्ष ५ कात्तिकमा पाँच हजार ७४३ जनामा काेराेना संक्रमण देखिएकाे थियाे।
केही दिनयता काेराेना संक्रमितकाे संख्या बढ्दै आएकाे छ। काेराेनाकाे दाेस्राे लहर चलेसँगै नयाँ थपिएका संक्रमितकाे संख्या अहिलेसम्मकै उच्च हाे।
आज शुक्रबारभन्दा कम परीक्षण हुँदा पनि संक्रमितकाे संख्या बढेकाे छ। शुक्रबार १५ हजार ९१५ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार ७२७ जनामा संक्रमण देखिएको थियो।
आज थपिएकामध्ये १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना पोजेटिभ देखिएको हो।
योसँगै सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ। अहिलेसम्म तीन लाख २८ हजार ९९३ जनामा कोरोना देखिएको छ। आज एक हजार २८७ जना मात्रै निको भएका छन्।
आज थप १९ जनाको कोरोनाबाट ज्यान गएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार २९८ पुगेको छ।