सफाइकर्मीमाथि किन हुन्छ अनागरिकको व्यवहार?
सबैले फोहोर गर्ने र सरसफाइको काम चाहिँ निश्चित जातिलाई सुम्पिने जातीय संस्कृतिले सरसफाइको कामलाई अशुद्ध र सफाइकर्मीलाई अछूत मान्दै आउनु विडम्बना हो।
झन्डै डेढ वर्षयता फैलिएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमण महामारीबाट नेपालसहित अधिकांश देश प्रभावित छन्। यो स्वास्थ्य संकटले हामीलाई सामाजिक, आर्थिक, सांस्कृतिक सबै रूपमा समस्यामा पारिरहेको छ। महामारीले सबै वर्गलाई प्रभावित पारे पनि देशमा पहिलेदेखि आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा बहिष्कृत, गरीब तथा कमजोर दलित–बहुजन समुदाय सबभन्दा बढी मारमा परेको छ।
महामारीले जात, वर्ग, धर्म आदि केही पनि देख्दैन भन्ने भाष्य प्रयोग हुने गरेको छ, जुन ठीक होइन। विपत्तिले सबैसँग समान व्यवहार गर्दैन। असमान तथा अन्यायपूर्ण शक्ति सम्बन्धका कारण उत्पीडनमा परेका समुदायलाई कोभिड–१९ जस्तो महामारीले झन् बढी प्रभावित गर्दै छ।
कोभिड–१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर चीनमा देखियो, र संसारभरि फैलियो। उच्च वर्गमा विकसित तथा सञ्चारित रोगले सीमान्तकृत वर्ग (दलित बहुजन) लाई प्रभावित पार्दा यो महामारीले धेरैको गाँस र सास खोस्यो। रोजीरोटीका लागि शहर पसेका हजारौं मजदूर रोजगारी गुमाउँदा एक्कासि सडकमा आइपुगे। सयौं किलोमिटरको गाउँ हिँडेरै फर्किन बाध्य भए।
कोभिड–१९ उच्च वर्गद्वारा विस्तारित, देशमाथिको महासंकट साबित भएको छ। मानौं, यो भाइरसको संक्रमण कुनै गरीब, दलित तथा सुकुमबासीको झोपडीबाट शुरू भएको भए के हुन्थ्यो? सरकारको प्रतिक्रिया के हुन्थ्यो? पुलिसको रबैया के हुन्थ्यो? सम्भ्रान्त वर्गको दृष्टिकोण के हुन्थ्यो?
गत वर्षको बन्दाबन्दी (लकडाउन) मा सप्तरी कञ्चनरुपका मलर सदा (५०) ले रोजगारी गुमाउँदा भोकभोकै प्राण त्यागे। यस्तै, रोजगारीका लागि भारत गएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदा (१६) त्यहाँ बन्दाबन्दी भएपछि घर फर्किए। संक्रमण देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा भर्ना भएका उनी उपचार अभावमा छटपटिएर मरे। पखाला लागेका उनले जीवनजल समेत पाएनन्।
कोभिड–१९ उच्च वर्गद्वारा विस्तारित, देशमाथिको महासंकट साबित भएको छ। मानौं, यो भाइरसको संक्रमण कुनै गरीब, दलित तथा सुकुमबासीको झोपडीबाट शुरू भएको भए के हुन्थ्यो? सरकारको प्रतिक्रिया के हुन्थ्यो? पुलिसको रबैया के हुन्थ्यो? सम्भ्रान्त वर्गको दृष्टिकोण के हुन्थ्यो? त्यो स्थितिमा सरकारले गर्ने बन्दाबन्दी कहाँ र कस्तो हुन्थ्यो? पक्कै पनि गरीब, दलित तथा सुकुमबासी बस्तीको उठिबास हुन्थ्यो। त्यहाँ कठोर बन्दाबन्दी हुन्थ्यो। संक्रमणको स्रोत भएका बस्तीका मानिसलाई सजिलै अपराधी घोषणा गर्न कुनै ढिलाइ गरिँदैनथ्यो।
‘सामाजिक दूरी’को भाष्य
नेपाल जात–प्रधान देश हो। जातको प्रधानता मिथमा आधारित छ। जन्मदेखि मृत्युसम्म तथा विवाहदेखि रोगसम्ममा जात–प्रधान मिथले निर्णायक भूमिका खेल्दो रहेछ। जात–प्रधान मिथ कोरोनाभाइरसभन्दा पनि खतरनाक रोग हो।
जात–व्यवस्थाले निर्माण गरेको परम्परागत सामाजिक दूरीलाई मजबुत गर्न सवर्ण समाज र सत्ताले कोभिड–१९ को सन्दर्भमा ‘सामाजिक दूरी’को भाष्य निर्माण गरेको छ। कोभिड–१९ को सामाजिक दूरीसँग कुनै सम्बन्ध छैन। यो रोग मूलतः रोगसँगको दूरी (डिजिज डिस्टान्सिङ) को विषय हो।
जात–व्यवस्थाले निर्माण गरेको परम्परागत सामाजिक दूरीलाई मजबुत गर्न सवर्ण समाज र सत्ताले कोभिड–१९ को सन्दर्भमा ‘सामाजिक दूरी’को भाष्य निर्माण गरेको छ। कोभिड–१९ को सामाजिक दूरीसँग कुनै सम्बन्ध छैन, भौतिक दूरीसँग पनि सम्बन्ध देखिँदैन। डाक्टरले कोभिड–१९ का संक्रमितसँग भौतिक दूरी कायम गर्यो भने अवस्था के होला?
सामाजिक दूरीको सवर्ण भाष्य कोरोनाभाइरसभन्दा पनि खतरनाक विचार हो, जसले समाजमा अलगाव पैदा गर्छ। सामाजिक दूरीभन्दा यो बेला सामाजिक ऐक्यबद्धता आवश्यक छ।
कोभिड र ‘स्वच्छता अभियान’
२०१९ जनवरीमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले औद्योगिक शहर वीरगन्जको घण्टाघरमा कुचो बोकेर ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’ अभियानको शुरूआत गरे। स्वच्छता र सरसफाइको आधिकारिक तथ्याङ्क त छैन, तर प्रदेश २ को स्वच्छताको अवस्था बाँकी ६ वटा प्रदेशभन्दा दयनीय रहेकोमा कुनै शंका छैन।
अस्वच्छताको कारण जात व्यवस्थामा लुकेको छ भन्ने कुरा प्रदेश सरकारलाई जानकारी हुनुपर्छ। अस्वच्छताको मूल कारण अज्ञानता होइन, जाति संस्कृति हो। जाति संस्कृतिले मानिसको व्यवहारलाई निर्देशित गर्छ। सरसफाइको व्यवहार जाति संस्कृतिबाट निर्देशित छ।
कोभिड–१९ मा सफाइकर्मी सबभन्दा बढी जोखिममा काम गर्न बाध्य छन्। वीरगन्ज महानगरपालिकाको सरसफाइ महाशाखामा कार्यरत सफाइकर्मीहरू नै स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा कोरोना संक्रमित भएका थिए। जसले सबैलाई स्वच्छ राख्न दिनरात ज्यान जोखिममा राखेर काम गरिरहेका छन्, उनीहरूको स्वास्थ्यको सुरक्षा सरकारको प्राथमिकतामा किन छैन?
अस्वच्छताको जड अरू केही नभई मधेसको जातीय संस्कृतिमा छ। उक्त संस्कृतिले कुनै अमुक जातिलाई सरसफाइ गर्न जिम्मेवार ठान्छ। अर्थात्, फोहोर सबैले गर्ने, तर सफाइ चाहिँ मेस्तर, हलखोर, डोम, भंगी, वाल्मीकि जातिले गर्ने। मधेसको जातीय संस्कृतिको जनक मनुवादी विचारधारा हो, जसले सरसफाइको कामलाई अशुद्ध र सफाइकर्मीलाई अछूत मान्छ।
स्वच्छता सवर्ण सांस्कृतिक कुरा हो। गरीबीसँग यसको कुनै सम्बन्ध छैन। दलितले अस्वच्छताको स्थितिमा काम गर्नुपर्छ। जसरी भूमिहीन कृषि मजदूरका रूपमा काम गर्छन्, गैरकृषि मजदूर निर्माण कार्यमा काम गर्छन्, त्यसरी नै सफाइकर्मीले फोहोरमैला र दूषित वातावरणमा काम गर्नुपर्छ, जुन जातीय संस्कृतिबाट निर्देशित व्यवहार हुन्।
अस्वच्छताको जड अरू केही नभई मधेसको जातीय संस्कृतिमा छ। उक्त संस्कृतिले कुनै अमुक जातिलाई सरसफाइ गर्न जिम्मेवार ठान्छ। अर्थात्, फोहोर सबैले गर्ने, तर सफाइ चाहिँ मेस्तर, हलखोर, डोम, भंगी, वाल्मीकि जातिले गर्ने। मधेसको जातीय संस्कृतिको जनक मनुवादी विचारधारा हो, जसले सरसफाइको कामलाई अशुद्ध र सफाइकर्मीलाई अछूत मान्छ।
देशभर डोम र मेस्तरको जनसंख्या १७ हजार १३५ छ। जसमध्ये प्रदेश २ मा मात्रै १३ हजार १६९ छन्। लगभग ५५ लाख जनताको स्वच्छताको जिम्मा ०.२३ प्रतिशत विशिष्ट जातलाई दिनु जातीय संस्कृतिलाई संरक्षण गर्नु हो। जसरी देशको सुरक्षाको जिम्मा क्षेत्री जातिलाई दिँदा देश सुरक्षित महसूस गर्दैन, ज्ञानको एकाधिकार ब्राह्मणमा सीमित हुँदा विकास र समृद्धिको सम्पूर्ण मानकमा देश पछाडि पर्छ, उसरी नै स्वच्छताको जिम्मा कुनै निश्चित जातिमा सीमित हुँदासम्म स्वच्छ मधेस वा स्वच्छ नेपालको परिकल्पना गर्न सकिँदैन।
सुरक्षित, ज्ञानयुक्त र स्वच्छ समाज त्यतिबेला सम्भव हुन्छ, जतिबेला यी तीन विषयमा सबैको समानुपातिक प्रतिनिधित्व हुन्छ। स्वच्छताका लागि जाति–संस्कृतिको विनाश पहिलो शर्त हो।
नदेखिएको सफाइकर्मीको दुःख
कोभिड–१९ विरुद्धको लडाइँमा, एकातिर डाक्टरलाई ‘गड इन ह्वाइट कोट’ भनिँदै छ, अर्कातिर सफाइकर्मीले जोखिम मोल्दै गरेको योगदानको भने उपेक्षा भइरहेको छ। सफाइकर्मीको समस्याबारे बोलिदिने कोही छैन।
कोभिड–१९ को जोखिमपूर्ण स्थितिमा सरकारको जिम्मेवारी हो, अग्रभागमा खटिएका सफाइकर्मीलाई सुरक्षाको सम्पूर्ण सुविधा उपलब्ध गराउनु। सुरक्षाको उचित व्यवस्था गरेर मात्र उनीहरूको हौसला बढाउन सकिन्छ। सफाइकर्मीका साथै उसको परिवारलाई स्वास्थ्य बीमाको व्यवस्था गरिनुपर्छ।
कोभिड–१९ विरुद्धको लडाइँमा, एकातिर डाक्टरलाई ‘गड इन ह्वाइट कोट’ भनिँदै छ, अर्कातिर सफाइकर्मीले जोखिम मोल्दै गरेको योगदानको भने उपेक्षा भइरहेको छ। सफाइकर्मीको समस्याबारे बोलिदिने कोही छैन। सरकार, राजनीतिक दलका नेता, अधिकारकर्मी, अभियानकर्ता सबै सफाइकर्मीको समस्यामा गजबको मौनता देखिन्छ।
विभिन्न सञ्चारमाध्यममा आइरहेका समाचारबाट थाहा हुन्छ, सफाइकर्मी अस्पतालजन्य फोहोर, नाला, शौचालय, कोरोना अस्पतालको सरसफाइ, क्वारेन्टिनको सरसफाइ आदि काम कुनै सुरक्षाको उपाय अर्थात् मास्क, पन्जा, बूट, सेनिटाइजरको प्रयोगबिना गरिरहेका छन्। महामारीको बेला जीविकोपार्जनको आधार नोकरी खोसिने डरका बीच यी सफाइकर्मी सुरक्षाबिना जोखिमबीच काम गर्न बाध्य छन्।
सफाइकर्मी (वाल्मीकि) लाई सम्बोधन गर्दै एक चोटि महात्मा गान्धीले भनेका थिए, ‘मलाई विश्वास लाग्दैन, सफाइकर्मी आफ्नो जीविकोपार्जनका लागि मात्र यो काम गर्छन्। उनीहरूले सफाइ कार्य गरेर सम्पूर्ण समाज र भगवान्लाई खुशी दिन्छन्। भगवान्ले वाल्मीकिलाई सफाइ कार्य गर्ने जिम्मा दिएका छन्, जसबाट उसलाई आध्यात्मिक सुख प्राप्त हुन्छ। एउटा भंगी समाज हितमा त्यो काम गर्छ, जुन एउटा आमा आफ्नो बच्चाका लागि गर्छे।’
सफाइकर्मीलाई केवल सफाइकर्मीका रूपमा देख्नु र व्यवहार गर्नु खतरनाक मानसिकताको उपज हो। यो दृष्टिकोण रहेसम्म सफाइकर्मीसँग मानवीय तथा नागरिकको व्यवहार हुन सक्दैन।
गान्धीको विचार कति खतरनाक छ! यो विचारलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘स्वच्छ भारत अभियान’को माध्यमबाट आफ्नो फासीवादी हिन्दुत्व विचारधारालाई अगाडि बढाइरहेका छन्। कथित स्वच्छता अभियानबाट जाति–संस्कृतिलाई झन् मजबुत गर्ने कामको सिको नेपालले पनि गर्दै छ।
सफाइकर्मीलाई केवल सफाइकर्मीका रूपमा देख्नु र व्यवहार गर्नु खतरनाक मानसिकताको उपज हो। यो दृष्टिकोण रहेसम्म सफाइकर्मीसँग मानवीय तथा नागरिकको व्यवहार हुन सक्दैन। सफाइकर्मी पनि नागरिक हुन्, उनीहरूको पनि नागरिक अधिकार छ। सुरक्षित बाँच्ने हक छ। तर, जातीय संस्कृतिको मनोविज्ञान र मानसिकताले सफाइकर्मीको दुःखलाई आमनागरिकको साझा दुःख बन्न दिएन।
सफाइकर्मीले आफ्ना सन्तानलाई उच्च शिक्षा प्रदान गरोस्, र भावी पुस्तालाई सक्षम बनाएर सफाइ कार्यबाहेकको पेशा अपनाउने अवस्थामा पुर्याउन सकोस्। भावी पुस्ता स्वाभिमानका साथ आफ्नो जीवन जिउन सकोस्।
(रजक अम्बेडकरी अध्येता हुन्।)