संक्रमितले भरिए शय्या, घरबाटै बेड लिएर ग्यालरीमा उपचार
कोभिड–१९ का बिरामी बढ्न थालेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भरिएको छ। घरबाटै बेड लिएर संक्रमितहरू अस्पतालको ग्यालरीमा बसिरहेका छन्।
गत वर्ष सेती प्रादेशिक अस्पताल मातहत रहने गरी ५५ शय्याको कोभिड अस्थायी अस्पताल स्थापना गरिएको थियो। अहिले कोभिड अस्पतालका सबै शय्या भरिएका छन्। ५५ शय्या भएको अस्पतालमा गम्भीर बिरामी मात्रै ५७ जना भर्ना भएका छन्।
शय्या अभाव भएपछि बिहीबार मात्रै पाँच शय्या थपिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। “थपिएका शय्या पनि भरिएका छन्,” उनले भने।
संक्रमित थपिँदै गएकाले अस्पतालमा शय्या पाउन मुश्किल भएको छ। एउटा शय्यामा दुई–तीन जना राखिएका छन्। संक्रमण पुष्टि भएका, तर समान्य लक्षण देखिएका संक्रमितलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको उनले बताए। “आकस्मिक कक्षका १६ शय्या पनि भरिएका छन्। बिरामीहरू घरबाटै बेड लिएर ग्यालरीमा बसिरहेका छन्,” श्रेष्ठले भने। उनीहरूकाे ग्यालरीमै उपचार गर्न थालिएकाे छ।
कोभिड–१९ अस्थायी अस्पतालमा गम्भीर बिरामी राखिएका छन्। अस्पताल भर्ना गरिएका ५७ बिरामीमध्ये १२ जना आईसीयूमा छन्। त्यस्तै, तीन जनालाई भेन्टिलेटरमा राखिएको छ भने ३५ जनालाई अक्सिजनको सहायतामा राखिएको छ। बाँकी सात जनालाई पनि अवस्था अनुसार अक्सिजन दिने गरिएको सूचना अधिकारी श्रेष्ठले बताए।
केही दिनयता कोरोनासँग सम्बन्धित लक्षण भएका बिरामी आउने क्रम पनि बढेको छ। “श्वासप्रश्वास र निमोनिया सम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको संख्या अत्यधिक बढेको छ,” श्रेष्ठले भने।
संक्रमित बढ्न थालेपछि अस्पतालमा अक्सिजनको पनि अभाव हुन थालेको छ। सेती प्रादेशिक अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ। अस्पतालको अक्सिजन नपुग्दा बाहिरबाट ल्याएर बिरामीलाई दिने गरिएको छ।
अस्पतालमा दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको उत्पादन युनिट जडान गरिएको छ। त्यो युनिटमा अहिले दैनिक ५० सिलिन्डर अक्सिजन मात्रै उत्पादन भइरहको छ। तर, अस्पतालमा भने अहिले नै दैनिक १४० सिलिन्डर खपत भइरहेको छ।
अस्पतालमा खपत हुने अक्सिजनको ठूलो परिमाण बाहिरबाट ल्याउनु परिरहेको छ। “कोरोना संक्रमित बढ्दै गएकाले अक्सिजनको माग धेरै बढेको छ। अहिले जसोतसो व्यवस्थापन गरिरहेका छौं,” श्रेष्ठले भने।
सरकारी अस्पताल संक्रमितले भरिएपछि कैलालीका निजी अस्पतालमा कोभिड वार्ड सञ्चालन गर्न लागिएकाे छ। प्रदेश सरकारको सहकार्यमा निजी अस्पतालहरूले संक्रमितको उपचारका लागि वार्ड सञ्चालन गर्न लागेको निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष जनकराज जोशीले बताए।
उनका अनुसार, प्रत्येक निजी अस्पतालले ५ देखि १० शय्यासम्मको वार्ड सञ्चालनका लागि सहमति भएको हो। १५ देखि २५ शय्याको अस्पतालले कोरोना संक्रमितको उपचारका लागि पाँच शय्या र ५० शय्याको अस्पतालले १० शय्याको वार्ड सञ्चालन गर्न सहमति जनाएका हुन्।
अत्तरियाको पद्मा अस्पताल र धनगढीको नवजीवन अस्पतालमा १०/१० शय्या, कैलाली, माया मेट्रो, निसर्ग, सीपी, नोभा, सारथि, केजी र ओम आशा अस्पतालमा पाँच/पाँच शय्याको कोरोना वार्ड सञ्चालन गरिन लागेकाे अध्यक्ष जोशीले बताए।
निजी अस्पतालमा हुने उपचार खर्च भने सरकारले नै व्यहोर्ने भएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सरकारी अस्पतालमा हुँदै आएको सेवासुविधा निजी अस्पतालबाट दिइने र सरकारले नै खर्च व्यहोर्ने बताए।
प्रदेश सरकारले सामान्य प्रकृतिका बिरामीलाई प्रतिदिन उपचार खर्च तीन हजार ५००, अक्सिजन दिनुपरेमा सात हजार, आईसीयूमा राख्नुपरेमा १० हजार र भेन्टिलेटरमा राख्नुपरेमा १० हजार उपलब्ध गराउने भएको छ।
त्यस्तै, गेटास्थित मेडिकल कलेजको भवनमा पनि आइसोलेसन बनाउने तयारी गरिएको छ। त्यसका लागि धनगढी उपमहानगरपालिकाले सरसफाइ, खानेपानी डिभिजन कार्यालयले खानेपानी र विद्युत् कार्यालयले विद्युत्को व्यवस्थापन गर्ने सम्झौता भएको छ। यसको व्यवस्थापन प्रादेशिक आयुर्वेद औषधालयले गर्ने भएको छ।