बाँकेमा कोरोना परीक्षण र उपचार नि:शुल्क गर्न उच्च अदालतको आदेश
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले बाँकेमा कोभिड-१९ को परीक्षण र उपचार नि:शुल्क गर्न आदेश दिएको छ।
नेपालगन्जमा मानवअधिकारको क्षेत्रमा क्रियाशील कानून व्यवसायीले दायर गरेको सार्वजनिक सरोकारको निवदेनमाथि सुनुवाइ गर्दै उच्च अदालतले त्यस्तो आदेश दिएको हो।
उच्च अदालतले भारतीय सीमा जमुनाह नजिकै कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण पनि तुरुन्तै गर्न आदेश दिएको अधिवक्ता वसन्त गौतमले जानकारी दिए।
अधिवक्ता लोकबहादुर शाह लगायतले दायर गरेको रिटमा न्यायाधीशहरू रत्नबहादुर बागचन्द र गोकर्ण डाँगीको इजलासले जिल्ला प्रशासन कार्यालय बाँके लगायतका स्थानीय सरकारी निकायलाई १४ बुँदे अन्तरिम आदेश दिएको छ।
यस्तो छ उच्च अदालतको आदेश:
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिड-१९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल बमोजिम कोभिड-१९ को परीक्षण तथा उपचार निःशुल्क रूपमा गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउनू।
- भारतीय सीमा नाका जमुनाह नजिकैको पायक पर्ने स्थानमा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टरको यथाशक्य छिटो निर्माण गर्ने प्रबन्ध गर्नू।
- भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई निःशुल्क मास्क उपलब्ध गराउनू। कोभिड-१९ को लक्षण भएका व्यक्तिको पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउनू। एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएका व्यक्तिलाई अस्पताल वा आइसोलेसन केन्द्र वा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा पठाउन सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्नू। संक्रमणको शंका नभएका व्यक्तिलाई स्वास्थ्य मापदण्ड पालना गराई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गन्तव्यमा पठाई कम्तीमा १० दिन क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनू।
- कोभिड-१९ को उपचारको सन्दर्भमा अस्पताल व्यवस्थापन (प्रयोगशाला, अक्सिजन तथा भेन्टिलेटर समेत), रेफरल, एयरलिफ्ट र एम्बुलेन्स समेतका लागि आवश्यक व्यवस्था मिलाउनू।
- होम क्वारेन्टिन र आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप उपचार आवश्यक परेमा प्रयोगशाला र अस्पतालसम्म पुर्याउन सहजीकरण गर्नू।
- बाँकेमा नयाँ भेरिएन्टको कोभिड-१९ को संक्रमण भयावह भइरहेकाले तत्काल स्थानीय तह, कारागार तथा बाल सुधारगृह समेतबाट स्वाब संकलन गरी परीक्षणको व्यवस्था मिलाउनू।
- कोभिड-१९ को लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा नेगेटिभ आएका व्यक्तिहरूको पीसीआर परीक्षण शीघ्र गर्ने व्यवस्था मिलाउनू। पोजेटिभ व्यक्तिको निकट सम्पर्कमा आएका व्यक्तिको पनि एन्टिजेन परीक्षण गर्नू।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८।०१।०६ को आदेश बमोजिम आवश्यक संयन्त्र निर्माण परिचालन भए नभएको, स्वास्थ्य सेवा, एम्बुलेन्स, शववाहन, ढुवानी लगायतका अन्य अत्यावश्यक व्यवस्था गरे नगरेको अनुगमन र सहजीकरण गर्नू।
- क्वारेन्टिन, आइसोलेसन, केस इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ, उपचार व्यवस्थापन, परीक्षण लगायत अत्यावश्यक सामाग्री खरीद तथा जनशक्ति परिचालनको व्यवस्था मिलाउन समन्वय गर्नू।
- कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो र दोस्रो खोप नलगाएका सर्वसाधारण नागरिकलाई यथाशक्य छिटो खोप लगाउन नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गर्नू।
- निषेधाज्ञा लागू भएको अवधिमा सर्वसाधारण नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुन र बजारमा सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यवस्तु सहजै प्राप्त गर्ने व्यवस्था मिलाउन निरन्तर अनुगमन गर्नू।
- कोभिड-१९ बाट संक्रमित नभएका अन्य रोगी, नियमित औषधि सेवन गर्दै आइरहेका दीर्घरोगी, गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका समेतको आकस्मिक तथा नियमित औषधी उपचारको लागि व्यवस्थापन गर्नू। कोभिड-१९ बाट संक्रमित भएमा उनीहरूलाई प्राथमिकता दिई अस्पतालमा औषधि उपचार, आइसोलेसन र क्वारेन्टिनका लागि व्यवस्थापन गर्नू।
- कोभिड अस्पताल र कोभिड केयर युनिटमा रहेका संक्रमित बिरामीको संख्या (भेन्टिलेटर, आईसीयूसमेतमा) का साथै बेड क्षमता समेत उल्लेख अनलाइनमार्फत सूचना प्रवाह गर्नू।
- मुलुकको अन्य स्थानमा भन्दा बाँकेमा कोभिड-१९ तीव्र रूपमा फैलिरहेकोले आवश्यकता अनुसार थप होल्डिङ सेन्टर, संस्थागत आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्नू।