खोप लगाएपछि पनि लाग्नसक्छ कोरोना, विज्ञ भन्छन्– आत्तिनु भने पर्दैन
कोभिड-१९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि भाइरस संक्रमणको जोखिम हुने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने हुन्छ। खोप लगाएपछि संक्रमण हुनेको संख्या कम भएको र संक्रमित भए गम्भीर बिरामी हुनबाट बचाउने विज्ञको भनाइ छ।
कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोपका दुवै मात्रा लगाएपछि पनि कोरोना संक्रमण भएर गोरखापत्र दैनिकका पत्रकार लक्की चौधरी अहिले आइसोलेसनमा छन्। उनले गत २६ माघमा कोभिशिल्डको पहिलो मात्रा र ९ वैशाखमा दोस्रो डोज लगाएका थिए। दोस्रो पटक खोप लगाएको पाँच दिनपछि, १६ वैशाखमा उनलाई संक्रमण पुष्टि भयो।
“दुई डोज नै लगाएपछि कोरोनाले समात्दैन भन्ने आत्मविश्वास थियो,” चौधरीले हिमालखबरसँग फोनमा भने, “तर कोभिड खतरनाक हुँदो रहेछ। खोप लगाएपछि पनि ढुक्क भएर बस्न मिल्दैन रहेछ। सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नैपर्ने रहेछ।”
खोपको पहिलो मात्रा लगाएपछि उनी सभा–सम्मेलन र भेटघाटका लागि धनगढी, बर्दिया र कैलालीतिर गएका रहेछन्। अरू बेला मास्क नफुकाले पनि खानपिन र फोटो खिच्दा भने खोलेको उनले बताए। “त्यही बेला संक्रमण भयो कि?” चौधरी भन्छन्, “धनगढीबाट फर्केको भोलिपल्टदेखि झाडापखाला शुरू भयो। त्यसपछि ज्वरो आयो।”
अहिले उनलाई सुक्खा खोकी लाग्नुका साथै अझै पनि हल्का ज्वरो आएको छ। स्वाद र गन्ध हराएको अनि जोर्नी र टाउको दुख्ने गरेको उनले बताए। कक्षा १२ मा पढ्ने उनका छोरालाई पनि ज्वरो आउन थालेकोमा चौधरी चिन्तित छन्। “अहिले घरमा बाबु–छोरा मात्रै छौं, अलग–अलग कोठामा बसेका छौं,” उनी भन्छन्, “तर, भान्सा एउटै हो। अब छोरालाई पनि जँचाउनु छ।”
चौधरीको जस्तो समस्या केहीमा देखिएको छ। कोभिड–१९ विरुद्धको खोप लगाएपछि पनि कतिपय मानिसहरू संक्रमित हुने गरेका छन्। यस्तो हुँदैमा ‘खोप लाएपछि पनि कोरोना लागिहाल्दो रहेछ’ भनेर चिन्तित वा सशंकित हुन जरुरी नरहेको जनस्वास्थ्यविद्हरू बताउँछन्। खोप के हो र यसले कसरी काम गर्छ भन्ने बुझियो भने यसप्रतिको आशंका हट्ने उनीहरूको भनाइ छ।
सरुवा रोग विशेषज्ञ ल्हामो वाई शेर्पाको भनाइमा भ्याक्सिन लगाएपछि पनि संक्रमणको जोखिम हुन्छ। “खोप लगाउने बित्तिकै शरीरमा एन्टिबडी बनेको हुँदैन। सामान्यतया खोप लगाएको दुई सातादेखि १२ सातामा एन्टिबडी बन्छ,” उनी भन्छिन्, “खोप लगाएपछि पनि संक्रमण हुनेको संख्या ०.०४ देखि १ प्रतिशत मात्रै छ।”
खोप लगाएका व्यक्ति संक्रमित हुने अवस्था सानो संख्याभित्र पर्ने र संक्रमित भइहाले पनि गम्भीर बिरामी भने नहुने शेर्पाले बताइन्।
दोस्रो मात्रा खोप लगाएपछि पनि कोरोना संक्रमित हुनेमा क्लिकमान्डु अनलाइन पोर्टलका सम्पादक आशिष ज्ञवाली पनि पर्छन्। उनले ८ वैशाखमा कोभिशिल्ड खोपको दोस्रो डोज लगाएका थिए। १५ वैशाखमा उनमा कोरोना संक्रमण पुष्टि भयो। त्यसअघि उनकी श्रीमतीका कार्यालयका चार–पाँच जना साथीलाई कोरोना संक्रमण भएको थियो। श्रीमतीबाट आफूलाई सरेको हुनुपर्ने आशिषको अनुमान छ।
“श्रीमतीले पनि पहिलो डोज खोप लगाएकी थिइन्,” आशिष भन्छन्, “उनले पीसीआर परीक्षण गराउँदा पोजेटिभ आयो। त्यसपछि मैले परीक्षण गराएँ, मलाई पनि कोरोना भएछ। तर, अहिलेसम्म कुनै लक्षण देखिएको छैन।”
संक्रमण भए पनि आफूलाई साह्रोगाह्रो नभएकाले घरबाटै आरामले काम गरिरहेको उनले बताए। खोप लगाएको हुनाले डाक्टरले उनलाई त्यति गाह्रो नहुने र चाँडै निको हुने बताएका छन्।
खोपले शतप्रतिशत प्रतिरोध गर्दैन
माइक्रोबायोलोजिस्ट प्रा.डा. अन्जना सिंह खोपको पहिलो मात्रा लगाउँदा त्यसले ३० देखि ८० प्रतिशतसम्म रोग (भाइरस) लाई छेक्नसक्ने बताउँछिन्। “त्यसैले खोप लगाएपछि शरीरमा एन्टिबडी बनिसक्यो, अब कोभिड–१९ लाग्दै लाग्दैन भन्नु गलत हो। शरीरमा विकास भएको एन्टिबडीले केही हदसम्म छेक्ने हो, शतप्रतिशत होइन।”
दोस्रो मात्राको खोप लगाएको कम्तीमा दुई हप्तापछि मात्रै एन्टिबडी विकास हुने प्रा.डा. सिंहले बताइन्। खोप लगाइसकेपछि पनि बाहिर निस्किँदा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबनुपानीले बेलाबेला हात धुने वा सेनिटाइजरको प्रयोग निरन्तर गर्नुपर्ने उनको सुझाव छ।
पहिलो र दोस्रो मात्रा खोप लगाउँदा धेरै लामो ग्याप भयो भने पनि संक्रमणको जोखिम हुनसक्ने सरुवा रोग विशेषज्ञ शेर्पा बताउँछिन्। उनका अनुसार, पहिलो मात्राको खोप लगाएको ६ देखि १२ साताभित्र दोस्रो मात्रा खोप लगाउनुपर्छ। हालसम्म नेपालमा २० लाखभन्दा बढी डोज कोभिशिल्ड र भेरोसेलको खोप लगाइसकिएको छ। कोभिशिल्डको दोस्रो डोज ३ लाख ६२ हजार १ जनाले लगाएको तथ्यांक छ।
दोस्रो मात्रा खोप लगाइसकेपछि संक्रमित हुनेमा धेरैजसो वयस्क रहेका र कतिपय संक्रमितमा लक्षण समेत नदेखिएको विशेषज्ञहरू बताउँछन्।
प्रा.डा. सिंहका अनुसार, खोप लगाएपछि पनि शतप्रतिशत सुरक्षित भइँदो रहेनछ, मास्क लगाउनैपर्ने रहेछ भन्ने बुझेपछि एकथरी मानिस खोपप्रति उत्साहित देखिएका छैनन्। त्यसरी निरुत्साहित हुनुभन्दा खोपले गम्भीर बिरामी हुनबाट बचाउँछ र कहिलेकाहीँ त रोगै लाग्न दिँदैन भन्नेतर्फ ध्यान दिनु बुद्धिमानी हुने भनाइ छ। कोभिड–१९ पोजेटिभ भएको बेलामा भने खोप लिन नहुने उनले बताइन्।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि खोपलाई लिएर सशंकित हुन आवश्यक नरहेको, तर सावधानी भने अपनाउनुपर्ने बताएका छन्। खोपले जोखिमबाट बचाउने मात्र हुनाले स्वास्थ्य मापदण्ड पालना गर्न उनको आग्रह छ।
“कुनै पनि जोखिमबाट पूर्ण रूपमा बचाउन संसारमा अहिलेसम्म कुनै चिज विकसित भइसकेको छैन,” मन्त्री त्रिपाठीले भने, “त्यसैले अहिलेको महामारीबाट सुरक्षित रहन सबैलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गर्छु। संवेदनशील होऔंं, आतंकित हुन भने जरुरी छैन।”