१५ वर्षपछि भेटियाे धौलागिरीमा दुर्घटना भएको हेलिकप्टर र शव
धौलागिरीमा दुर्घटना भएको हेलिकप्टर १५ वर्षपछि भेटिएकाे छ। त्यससँगै दुई वटा शव पनि भेटिएका छन्।
नेपाल सेनाको नेतृत्वमा चलिरहेको ‘सफा हिमाल अभियान २०२१’का क्रममा हेलिकप्टर र दुई वटा शव भेटिएका हुन्। धौलागिरीको आधारशिविरभन्दा एक किलोमिटर इटाली बेस क्याम्पतिर ९ एन–एसीआर हेलिकप्टरको अवशेष भेटिएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडलले बताए।
त्यस्तै, धौलागिरी आधारशिविरको २०० मिटर दक्षिणतर्फ हिमाल आरोहणमा प्रयोग हुने सामग्रीसहित दुई वटा शव भेटिएका छन्। मृतकको पहिचान खुल्न नसकेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। दुवै शव व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता पौडेलले बताए।
जनसम्पर्क निर्देशनालयका अनुसार, सन् २००६ दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टर भएको खुलेको छ। यस सम्बन्धी पनि थप छानबिन भइरहेको उनको भनाइ छ।
सेनाले ‘सफा हिमाल अभियान’ अन्तर्गत सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्दै छ। स्थानीय सरकार, सरोकारवाला संघसंस्थासँग मिलेर सेनाले हिमाल सफाइ गरेको हो।
हिमाल सफाइका क्रममा १२ देखि १६ वैशाखसम्म पाँच हजार १५४ किलोग्राम फोहोर संकलन गरिएको सेनाले जनाएको छ। जसमध्ये सड्ने र कुहिने ५३५ किलोग्राम तथा नकुहिने चार हजार ७९९ किलोग्राम रहेको छ।