सगरमाथाकाे सफाइमा जुट्यो अभियान समूह, बेस क्याम्पमा फाेहाेर संकलन
नयाँवर्ष वैशाख १ गतेदेखि लुक्लाबाट शुरु गरिएको सगरमाथा सफाइ अभियानको समूह सगरमाथाको आधार शिविर ‘बेस क्याम्प’ पुगेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रूपमा सरसफाइ गर्दै टोली बेस क्याम्प पुगेको अभियानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
यसबीचमा नेपाली सेनाको एम आई १७ हेलिकोप्टरबाट करीब तीन हजार किलो संकलित फोहोरमध्ये दुई हजार किलो फोहोर ओखलढुंगा राख्ने र करीब एक हजार किलो काठमाडौं ल्याएर ब्ल्युओष्ट टु भ्यालु नामक संस्थालाई हस्तान्तरण भइसकेको पर्यटन विभागका महानिर्देशकसमेत रहेका अभियानको सूचना प्रवाह समितिका संयोजक डण्डुराज घिमिरेले बताए ।
सफाइ अभियानअन्तर्गत नेपाली सेनालगायत शेर्पासहितको टोली बेस क्याम्प व्यवस्थापनमा खटिने सम्पूर्ण सदस्यका लागि आवश्यक रसद पानी र बन्दोवस्तीलगायत आवश्यक सामग्री आधार शिविर पुगिसकेको र क्याम्प–२ का लागि तयारी भइरहेको जनाइएको छ ।
यसैगरी अभियानका लागि करीब रु दुई करोड ६७ लाख जम्मा भइसकेको अभियानले जनाएको छ । विभिन्न निकायबाट आएको सहयोग रकम पारदर्शी ढंगले व्यवस्थित रूपमा सरसफाइमा खर्च गरिने महानिर्देशक घिमिरेको भनाइ छ ।
अहिले उठेको रकम बढी भए अर्को वर्षको अभियानलाई खर्च गरिनेछ । सरकारी निकायको सरकारी खाता र निजीतर्फबाट आएको सहयोगको सगरमाथा प्रदूषण नियन्त्रण समितिको खातामा जम्मा हुने उनले उल्लेख गरे ।
सगरमाथा सफाइ अभियानबाट आधार शिविर र वरपरबाट करीब पाँच हजार किलो साउथ कोलबाट करीब दुई हजार किलो र क्याम्प २ र ३ बाट करीब तीन हजार किलो फोहोर संकलन गरिनेछ । सम्भव भएसम्म शव संकलन गरी व्यवस्थापन गर्ने लक्ष्य लिइएको अभियानले जनाएको छ ।
सगरमाथाबाट संकलित फोहोरलाई आगामी जेठ १५ गते सगरमाथा दिवसका दिन नाम्चे (सोलुखुम्बु) मा प्रदर्शन गरिनेछ भने कानूनी रूपमा पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई काठमाडौं ल्याएर जेठ २२ गते विश्व वातावरण दिवसका दिन प्रदर्शनी गरी पुनःप्रयोग गरिनेछ ।
४५ दिनमा सम्पन्न गरिने सफाइ कार्यक्रममा १२ जना शेर्पा जनशक्ति प्रयोग गरिनेछ । अभियानका लागि करीब रु दुई करोड ३२ लाख १६ हजार ३०७ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उद्धार टोली र हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिने छ ।
अहिले नेपाली सेनाका तीन हेलिकोप्टरमध्ये दुई फोहोर बोक्न र एक उद्धारका लागि तयारी अवस्थामा छन् । आठजना शेर्पा क्याम्प २ मा बसेर तीनजनाको टोली तलमाथि गरी पालैपालो साउथकोलसम्म पुगेर फोहोर जम्मा गरिनेछ । साउथकोल पुग्ने टोली पाँच दिनसम्म त्यहीँ बस्ने र सफाइ टोली अन्तिम समयसम्म बसेर सफाइ गरिने जनाइएको छ ।