दीप बस्न्यातले दिए सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन
जटिल स्वास्थ्य समस्या झेल्दै डिल्लीबजार कारागारमा रहेका बखत कोरोना संक्रमित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका छन्।
चाबहिलस्थित ओम अस्पतालमा अक्सिजन दिएर उपचार गराइरहेका बस्न्यातले आफ्ना छोरीज्वाइँमार्फत सर्वोच्च अदालतमा निवेदन दिएर आफूलाई थुनामुक्त गर्न माग गरेका छन्।
अख्तियारको प्रमुख आयुक्तबाट ६५ वर्षे उमेरहदका कारण सेवानिवृत्त भएपछि उनलाई भौतिक योजना तथा निर्माण सचिवको हैसियतले बालुवाटारस्थित ललिता निवास जग्गा सम्बन्धमा गरेको निर्णयमा विशेष अदालतमा मुद्दा चलाइएको थियो। १ फागुन २०६७ मा सचिवबाट सेवा निवृत्त भएका बस्नेत १९ चैत २०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नियुक्त भएका थिए भने ८ जेठ २०७४ मा प्रमुख आयुक्त बनाइएका थिए।
त्यसपछि १ फागुन २०७४ मा उमेर हदका कारण प्रमुख आयुक्तबाट सेवा निवृत्त भएका उनीविरूद्ध त्यसको दुई वर्षपछि विशेष अदालतमा मुद्दा चलाइएको थियो। ८ मंसीर २०७७ मा विशेष अदालतमा आफैँ उपस्थित भएर बयान दिएका बस्नेतलाई विशेषका न्यायाधीशहरूले तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भन्दै मुद्दाको टुंगो नलागुन्जेल पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए।
थुनुवा पुर्जी दिएर डिल्लीबजार कारागारमा रहेका उनले त्यहींबाट विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्चले विशेष अदालतको आदेशको प्रति माग गर्ने आदेश दिएको छ। तर, कोभिड–१९ को संक्रमण दर उच्च भएसँगै १५ वैशाखदेखि सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण, कोभिड–१९ तथा जनस्वास्थ्यसँग सम्बन्धित निवेदन मात्र सुनुवाइ गर्नेगरी अन्य सेवा हाललाई स्थगित गरेको छ।
आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेश गैरकानूनी भएको र त्यसउपर माथिल्लो अदालतबाट आफूले पाउने वैकल्पिक उपचारको बाटोसमेत कोभिडका कारण हाललाई प्रभावहीन भएको भन्दै उनले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन्।
निवेदनमा बस्नेतले आफूलाई मुटुमा गम्भीर समस्या देखिएको तथा रक्तनली सुन्निएको कारण पेटको दुवैतर्फ स्टेन्ट राखिएको उल्लेख गरेका छन्। उच्च रक्तचाप र सुगर रोगका समेत बिरामी बस्नेतले आफ्नो मुटु सम्बन्धी समस्याबारे गंगालाल हृदयरोग केन्द्रका चिकित्सकको परामर्शपछि शुरूमा स्टेन्ट राख्ने भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा नै फलोअपमा जानुपर्ने चिकित्सकको सुझाव आफूले पाएको निवेदनमा उल्लेख गरेका छन्।
उनलाई थुनामा पठाउने विशेष अदालतका आदेशलाई बुँदागत रूपमा खण्डन गर्दै थुनामुक्त गर्न माग गरिएको निवेदनमा बस्न्यातले आफ्नी श्रीमती, छोरा, बुहारी, दुई जना छोरीहरू र नाति नातिनासमेतलाई कोभिड–१९ भएको विवरण राखेका छन्।
बस्न्यातको निवेदनमाथि सर्वोच्च अदालतमा आगामी आइतबार सुनुवाइ हुनेछ।