खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण
खानेपानी तथा सरसफाइमन्त्री मणि थापालाई कोभिड–१९ को संक्रमण भएको छ। पीसीआर परीक्षण गराउँदा शुक्रबार बिहान मन्त्री थापालाई संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।
छोरी उष्णता श्रेष्ठ थापालाई चार दिनअघि कोरोना संक्रमण भएपछि मन्त्री थापाको बिहीबार स्वाब सङ्कलन गरिएको थियो।
मन्त्री र सचिवालयमा काम गर्ने १० जनाको पीसीआर परीक्षण गर्दा अरूलाई भने संक्रमण नदेखिएको स्वकीय सचिव गौतमले बताए।
गौतमका अनुसार, संक्रमण देखिएपछि मन्त्री थापा अहिले ललितपुर पुल्चोकस्थित मन्त्री निवासमै आराम गरिरहेका छन्। थापालाई सामान्य रुघाखोकी लागेको छ।
कोरोना संक्रमण हुने थापा मन्त्रिपरिषद्का दोस्रो सदस्य हुन्। यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई संक्रमण भएको थियो।
(रासस)