महाव्याधिको चोटिलो सन्देश- अस्तित्वका लागि सामूहिक प्रयास
कोरोना कहरको अहिलेको र यसपछिका उभारहरूबाट जो-जो बाँचेर निस्किनेछन्, उनीहरूले बुझ्नेछन् कि महामारीजस्तो संकटबाट पार पाउन सामूहिक प्रयास अनिवार्य छ।
सन् २०२० को सेप्टेम्बरमा ‘द इकोनोमिस्ट’ले कोरोनाभाइरस संक्रमण महामारीको पहिलो लहरले सिकाएका पाठहरूको चर्चा गर्दैगर्दा दुई कुरा, राज्यको पूर्वाधार र संकटको समयमा डेलिभरी गर्ने क्षमताबीच ठूलो खाडल देखिएको बतायो।
पूर्वाधार, स्रोतसाधन, अनुसन्धान र महामारी लगायत महासंकटसँग लड्ने तयारी समेत अन्य देशको तुलनामा बलियो भएका अमेरिका र बेलायतजस्ता मुलुकहरूलाई पहिलो लहरले थिलथिलो बनाउनुको कारण उक्त मुलुकहरूको व्यावहारिक क्षमता कमजोर रहेछ भन्ने निष्कर्ष निकालियो। अर्थात्, स्रोतसाधन हुनु एउटा कुरा रहेछ, संकटको बेला त्यसविरुद्ध उभिनसक्नु अर्काे कुरा रहेछ। नियन्त्रित अवस्थामा गरिएका तयारी, पूर्वाभ्यास र प्रक्षेपण वास्तविक संकटको अन्योलग्रस्त स्थितिमा असफल हुनसक्दो रहेछ।
केही दिनअघि यसैको सेरोफेरोमा काठमाडौंमा आयोजित एक अनौपचारिक कार्यक्रममा बोल्दै गर्दा एक अर्थशास्त्रीले लख काटे– ‘नेपालका दशौं हजार महिला स्वास्थ्य स्वयंसेवीले कोरोना सम्बन्धी चेतना फैलाएर धेरैको ज्यान जोगाएको हुनुपर्छ।’
स्रोतसाधन हुनु एउटा कुरा रहेछ, संकटको बेला त्यसविरुद्ध उभिनसक्नु अर्काे कुरा रहेछ। नियन्त्रित अवस्थामा गरिएका तयारी, पूर्वाभ्यास र प्रक्षेपण वास्तविक संकटको अन्योलग्रस्त स्थितिमा असफल हुनसक्दो रहेछ।
सन् १९८० मा नेपालमा शुरू गरिएको महिला स्वयंसेविका कार्यक्रममा अहिलेसम्म ५० हजार दिदीबहिनीहरू सक्रिय रहेको तथ्यांक छ।
गत वर्ष जतिबेला अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको जोखिमलाई कम आँकिरहेका र आफ्ना समर्थकहरूलाई लापरवाही गर्न उत्प्रेरित गरिरहेका थिए, नेपालजस्तो अत्यन्तै कमजोर स्वास्थ्य संरचना भएको र राज्यको स्रोत पनि सीमित भएको मुलुकमा कोरोनाबाट मानवीय क्षति कम गराउनमा महिला स्वयंसेविकाबाहेक धेरैको योगदान पक्कै रह्यो। जसको चर्चा सन्निकट भयावह उभारबाट पार पाउनेहरूबाट हुने नै छ।
कोरोनाको मित्र 'व्यक्तिवाद'
कोरोनाभाइरसको कहरले दिएको अर्काे पाठ हो, यस्तो विपत्तिमा व्यक्तिवाद खतरनाक हुन्छ। असीमित वैयक्तिक ‘अधिकार’को खोजी, उपभोग र संरक्षण नै जीवनको सार हो कि भनी निस्फिक्री बन्न थालेको मानव जातिलाई कोरोनाको स्पष्ट जवाफ छ– कम्तीमा अहिलेलाई त्यो दिशा गलत हो।
इन्टरनेटले जोडिएको आजको दुनियाँमा नेपाल पनि व्यक्तिवादको रोगबाट कोरोनाको आगमन अगावै ग्रस्त थियो। यो रोगबाट कोरोनाको आगमनपछि समेत नेपाल प्रताडित भएको कसैबाट लुकेको छैन। पहिलो उभार नसेलाउँदै सडकमा जुलुश, आमसभा, सरकार परिवर्तनको खेलकुद अनि भीडभाडमा गरिएका उद्घाटनजस्ता गर्नै नहुने कर्महरू यसैका प्रमाण हुन्। यी कर्महरूले के कति क्षति गर्यो, त्यो त दैनिक उक्लिरहेको संक्रमण ग्राफले संकेत गरी नै सक्यो।
नेपाल पनि व्यक्तिवादको रोगबाट कोरोनाको आगमन अगावै ग्रस्त थियो। यो रोगबाट कोरोनाको आगमनपछि समेत नेपाल प्रताडित भएको कसैबाट लुकेको छैन। पहिलो उभार नसेलाउँदै सडकमा जुलुश, आमसभा, सरकार परिवर्तनको खेलकुद अनि भीडभाडमा गरिएका उद्घाटनजस्ता गर्नै नहुने कर्महरू यसैका प्रमाण हुन्।
अहिले पनि कोरोनालाई ख्यालख्याल नै हो कि भनी यसविरुद्धको सावधानी नअपनाउने जमात नेपालमा नभएको होइन। पहिलेभन्दा कम चाहिँ भएको हो, किनभने यसपालि सबैभन्दा ठूलो विपत् अमेरिका, बेलायत वा ब्राजिलमा नभएर सीमापारि भारतमा देखिएको छ। यसपालि भाइरस झन् शक्तिशाली भएर फर्किएको छ, फैलिने र ज्यान लिने दुबै हिसाबले।
यसैले हुनुपर्छ, सो अनौपचारिक कार्यक्रममा एक धनाढ्यले भने, “पैसा भएर के गर्नु? थला परियो भने त नेपालमा न अस्पतालमा बेड पाइने अवस्था छ, न त दिल्ली, बैंकक वा सिंगापुर उडेर उपचार लिन सम्भव छ।”
नसिक्ने हठ
कोरोनाले ध्वस्त पार्दै गएको अर्काे रोग हो– विज्ञानलाई शंका गर्ने प्रवृत्ति। मास्क लगाउनुपर्छ, साबुनपानीले हात मिचीमिची धुनुपर्छ र व्यक्तिगत दूरी कायम राख्नुपर्छ भन्ने सावधानीका उपायहरू हिजो पनि उपयोगी थिए र आज पनि छन्। चीनको वुहानमा कोरोना देखिएको डेढ वर्ष पुग्न लाग्दा अझै पनि हामीकहाँ राज्यका जिम्मेवार पदमा बसेकाहरूदेखि प्रभावशाली नागरिकहरूसम्मको व्यवहारबाट विज्ञानप्रतिको अरुचि देखियो। यस्तोमा सर्वसाधारण अलमलमा पर्नु स्वाभाविक भयो।
नागरिकलाई सुसूचित गर्ने दायित्व बोकेका सञ्चारमाध्यमहरूले सचेतनामूलक समाचार र विचारहरू पस्किरहँदा माथि उल्लिखितहरूको विज्ञानविरोधी आचरणलाई समाचार, तस्वीर र भिडिओमार्फत उत्तिकै महत्त्वका साथ स्थान दिँदा स्वास्थ्य मापदण्ड पालनाको विषय आम नागरिकका लागि हल्का विषय बन्न गयो।
चीनको वुहानमा कोरोना देखिएको डेढ वर्ष पुग्न लाग्दा अझै पनि हामीकहाँ राज्यका जिम्मेवार पदमा बसेकाहरूदेखि प्रभावशाली नागरिकहरूसम्मको व्यवहारबाट विज्ञानप्रतिको अरुचि देखियो। यस्तोमा सर्वसाधारण स्वास्थ्य सुरक्षाको मापदण्डबारे अलमलमा पर्नु स्वाभाविक भयो।
विशेष गरी विगत चार महीनामा केही सञ्चारमाध्यमले महामारीलाई कम र राजनीतिलाई बढी स्थान दिँदा पाठकलाई लाग्यो– महामारीमाथि विजय प्राप्त गरिसकियो र अब राजनीतिक ‘रमाइलो’ को पालो। एक सम्पादक मित्रका अनुसार, समाचारको मेनुलाई आकर्षक बनाउने होडमा यस्तो हुन जान्छ। विशेषगरी फराकिलो पाठक वर्ग सुनिश्चित भइसकेका ठूला सञ्चारगृहले विभिन्न उद्देश्यसाथ यसो गरिदिँदा अनलाइन पोर्टलहरू नियतवश वा प्रतिस्पर्धाको कठोर नियमका कारण ठूलाकै सिको गर्नेतर्फ लागेको देखिन्छ।
‘मलाई केही हुन्न’ भन्ने भ्रम
सबैलाई लाग्छ– ‘मलाई त के होला र?’ जीवनलाई गतिशील राख्न यो विश्वास जरुरी पनि छ। तर, कोरोना महाव्याधिको अहिलेसम्मकै भयावह उभारको सँघारमा उभिँदै गर्दा यस्तो सकारात्मकता घातक हुनसक्छ। नेपालमा यो महाव्याधिबाट अहिलेसम्म ज्यान गुमाएका ३२ सयमध्ये कतिलाई लागेको थियो होला र, ज्यानै जाला भन्ने? अनि कतिलाई लागेको थियो होला, संक्रमणले फोक्सोमा पुर्याएको क्षतिलाई स्वीकार गरेरै बाँकी जीवन बिताउनुपर्ने हुनसक्छ भन्ने?
अब यो भन्नु निराशावाद मानिने छैन– हामीमध्ये धेरै जना आउने दिन, साता र महीनाहरूमा स्मृतिलोकका बासिन्दा बन्नेछौं। प्रश्न चाहिँ हामीमध्ये कति धेरै र के कस्तो दुरवस्थामा बिदा हुनेछौं भन्ने मात्र हो। यी प्रश्नका धेरै आयाम छन्, जसबारे यो संकटबाट पार पाउनेहरूले चर्चा गर्ने नै छन्।
कोरोनाले सबैभन्दा प्रष्टसँग पराजित गरेको डोनाल्ड ट्रम्पको आत्मकेन्द्रित ‘अमेरिका प्रथम’ नीति हो। यसको अवयवको रूपमा अझै विद्यमान व्यक्तिवादी सोच र पैसा भए सबथोक किन्न पाइन्छ भन्ने सोच ढल्दै छ, विश्वव्यापी रूपमा।
सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, विचार निर्माता र समाजका सबै तप्काका नागरिकले अहिले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन, संक्रमण सकेसम्म नियन्त्रित गर्न र मानवीय क्षति सकेसम्म कम गर्न आपसमा व्यक्तिगत दूरी कायम गरेर हातेमालो गर्नुको विकल्प छैन।
कोरोनाले सबैभन्दा प्रष्टसँग पराजित गरेको डोनाल्ड ट्रम्पको आत्मकेन्द्रित ‘अमेरिका प्रथम’ नीति हो। यसको अवयवको रूपमा अझै विद्यमान व्यक्तिवादी सोच र पैसा भए सबथोक किन्न पाइन्छ भन्ने सोच ढल्दै छ, विश्वव्यापी रूपमा। छिमेकी मुलुक भारत क्वाड (अमेरिका, जापान, अस्ट्रेलिया र भारत स्वयं) को घेरामै सुरक्षित नहुने देखिइसक्यो। यो सामरिक समूहको घोषित शत्रु चीन हो। चीनको सहयोगबिना भारतले यो डरलाग्दो उभारलाई नियन्त्रित गर्नसक्ने सम्भावना न्यून छ।
जो–जो यो र यसपछिका उभारहरूबाट बाँचेर निस्किनेछन्, उनीहरूले बुझ्नेछन् कि महामारीजस्तो संकटबाट पार पाउन सामूहिक प्रयास अनिवार्य छ। यसलाई वा उसलाई दोष लगाएर आफू पन्छिने सजिलो समयको अन्त्य भएको बताएको छ, कोरोनाले।
कोरोनापछिको समय सहकार्य र समन्वयको समय हुनेछ। यो विश्वव्यापी हुनेछ। ब्रेक्सिट र डोनाल्ड ट्रम्पको राष्ट्रपतीय कालअघि जोडिएका वा जोडिने क्रममा रहेका विश्व सम्बन्धहरू कोरोनाकालपछि थप मजबूत बनाउनुमा र साझा चुनौतीहरूसँग लड्न राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता र सहकार्य गर्नुमा नै मानव जातिको अस्तित्व सुनिश्चित रहनेछ। यो कहरमा देखिएको चाँदीको घेरा यही हो।