कोशीटप्पुमा ‘ब्याक क्रस’ थपिँदा अर्नाको वृद्धि न्यून
कोशीटप्पु वन्यजन्तु आरक्षमा घरपालुवा भैंसी छोड्ने गरेकाले ‘ब्याक क्रस’को संख्या अत्यधिक बढ्दा अर्नाको वृद्धि भने न्यून पाइएको छ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा तीन वर्षमा ५७ वटा मात्रै अर्ना बढेका छन्।
केही वर्षयता ‘ब्याक क्रस’को संख्या बढ्न थालेपछि अर्नाको वृद्धि सोचे अनुसार नभएको आरक्षले जनाएको छ। आरक्षमा छाडिएका घरपालुवा भैंसी र अर्नाको संसर्गले जन्मिएका अर्नालाई ‘ब्याक क्रस’ अर्ना भनिन्छ ।
कोशीटप्पुमा ६ देखि ११ वैशाखम्म अर्ना गणना गरिएको थियो। गणनामा ४९८ अर्ना भेटिएका छन्। तीन वर्षअघि सन् २०१८ मा गरिएको गणनामा ४४१ अर्ना पाइएका थिए। यो तथ्यांकले अर्नाको संख्या केही वृद्धि भएको देखिए पनि कतिपय माउले तीन वर्षमा एउटा पनि पाडापाडी नपाएको देखिएको छ।
यस पटकको गणनामा वयस्क भाले २२१, वयस्क पोथी १६२, अर्धवयस्क ४८, दुईवर्षे पाडापाडी ३५ र एकवर्षे पाडापाडी ३२ वटा पाइएको आरक्षले जनाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र आरक्षले ६ दिन लगाएर गणना गरेका हुन्।
गणनामा संलग्न प्राविधिकहरूका अनुसार, एउटा वयस्क माउले एक वर्षमा एउटा बच्चा जन्माउनुपर्ने हो। घरपालुवा भैंसीले जस्तै अर्नाले बच्चा जन्माएको भए कोशीटप्पुमा अर्नाको संख्या धेरै हुने कोशी पक्षी समाजका सहसचिव चक्र तिम्सिना बताउँछन्। “टप्पुभित्र रहेका १६२ वयस्क माउले तीन वर्षको अवधिमा दुइटा मात्रै बच्चा जन्माएको भए ३२४ वटा अर्ना बढ्ने थिए,” तिम्सिनाले भने।
घरपालुवा भैंसी आरक्षमा छाडिएकाले अर्नासँगको संसर्गले ‘ब्याक क्रस’ अर्नाको संख्या पनि बढ्दो क्रममा रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए। उनका अनुसार, अर्नासँग मिल्दोजुल्दो ३०२ वटा ‘ब्याक क्रस’ पाइएका छन्। तर, तिनको गणना गरिएको छैन।
अर्ना र पाल्तु भैंसीको संसर्गबाट जन्मिएका ‘ब्याक क्रस’को पहिचान गरी गणना गरिँदैन। “घाँटी, खुट्टा, मुख र पुच्छरमा सेतो धर्का भएकालाई मात्रै हामीले अर्ना मानेर गणना गरेका छौं,” प्रमुख संरक्षण अधिकृत रामले भने, “हाउभाउ अर्नाकै जस्तो छ, सिङ पनि मिल्छ, तर अर्नाको जस्तो सेतो धर्का छैन।”
घरपालुवा जनावरले अर्नाको बासस्थान र चरनलाई असर गरेकाले पनि अर्नाको संख्या उल्लेख्य रूपमा बढ्न नसकेको जनाइएको छ। आरक्षभित्रको चरन क्षेत्रमा हजारौंको संख्यामा घरपालुवा गाईभैंसी चर्ने भएकाले अर्नाले पर्याप्त आहार पाउँदैन।
अहिले सुक्खायाम भएकाले आरक्षभित्र घाँसको अभाव हुँदा अर्ना दुब्ला–पातला देखिएको गणनामा संलग्न आरक्षकर्मीले बताएका छन्। कोशी तटबन्धको पूर्वी भागमा १२ वैशाखमा घाँसको खोजीमा आएकाे भाले अर्नाको झुन्ड देखिए पनि सबै दुब्ला–पातला थिए।
अर्ना संरक्षणकै लागि २०३२ सालमा सुनसरी, सप्तरी र उदयपुरको सीमा क्षेत्रको १७५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेर कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गरिएको थियो। सन् १९८७ मा रामसार सूचीमा सूचीकृत कोशीटप्पुलाई नेपालकै ठूलो रामसार क्षेत्रका रूपमा लिइन्छ। तर, घरपालुवा जनावरका कारण अर्नालाई आहार पाउन मुश्किल हुने गरेको छ।
अर्नाको अवस्था बुझ्नकै लागि हरेक दुई वर्षमा गणना हुँदै आएको छ। कोभिड–१९ को महामारीका कारण गत वर्ष गणना भएको थिएन। अहिलेसम्म हरेक गणनामा अर्नाको संख्या वृद्धि भइरहेको पाइएको छ।
सन् २०१६ मा भन्दा २०१८ मा गणना गर्दा कोशीमा नौ वटा मात्रै अर्ना बढेको देखिएको थियो। सन् २०१४ मा भन्दा २०१६ मा १०५ वटा अर्ना बढेको पाइएको थियो। आरक्षका रेन्जर अंकित पौडेलका अनुसार, २०१४ को गणनामा ३२७ पाइएको अर्ना २०१६ मा ४३२ पुगेका थिए।
गैंडा गणनाकै विधि अपनाएर अर्ना गणना गरिएको विभागका सहायक इकोलोजिस्ट हेमराज आचार्यले बताए। उनका अनुसार, अर्ना गणनामा आरक्षको भित्री भागलाई चार वटा ब्लकमा विभाजन गरेर सञ्चार उपकरणसहितका गणकहरू परिचालन गरिएका थिए।
कुनै नछुटोस् र कुनै नदोहोरियोस् भनेर सञ्चार उपकरणबाट एकले अर्कासँग कुराकानी गर्ने र अर्नाको फोटोसम्म खिचेर गणना गरिएको उनले बताए। अर्नाको संख्या र अवस्था अद्यावधिक हुँदा दिगो संरक्षणको योजना तयार गर्न सहयोगी हुने भएकाले गणना नियमित हुनुपर्ने आचार्यले बताए।