कोरोना संक्रमण युवामा उच्च, सिकिस्त र मृत्यु हुने संख्या पनि किन देखियो बढी?
कोरोनाभाइरस संक्रमणको दोस्रो लहरमा बढी संख्यामा युवा संक्रमित भएको मात्र होइन, गम्भीर बिरामी हुने र मृत्यु हुने संख्या पनि बढी देखिँदा यसलाई विज्ञहरूले चिन्ताको विषय भनेका छन्।
कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरू हुँदा नेपालमा संक्रमितको संख्या दिनानुदिन उकालो लागिरहेको छ। सरकारले संक्रमणको चक्र रोक्न काठमाडौं उपत्यकासहित संक्रमण दर उच्च भएका ठाउँहरूमा निषेधाज्ञा लागू गरेको छ।
संक्रमणको पहिलो लहरमा ज्येष्ठ नागरिक बढी प्रभावित भएका थिए। यस पटक संक्रमणको चपेटामा बढीजसो युवा परेको देखिन्छ। सिकिस्त भएर अस्पताल आउने पनि २० देखि ४० वर्षका व्यक्ति बढी छन्।
नयाँ संक्रमित थपिने क्रमसँगै यस पटक संक्रमणको चपेटामा युवा परेको देखिन्छ। सिकिस्त भएर अस्पताल आउने पनि २० देखि ४० वर्षका व्यक्ति बढी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, बिहीबार १३ हजार ५६० जनामा कोरोना परीक्षण गरिएकोमा ४ हजार ९२८ जना संक्रमित देखिए। नयाँ थपिएका संक्रमितमध्ये २० देखि २९ वर्षका युवाको संख्या बढी छ। यो उमेर समूहका १ हजार २६७ जना संक्रमित भएका छन्। यसपछि ३० देखि ३९ वर्ष समूहका १ हजार २६० जनालाई कोरोना संक्रमण देखिएको छ।
७ वैशाखयताको तथ्यांक हेर्दा पनि संक्रमित हुनेमा २० देखि २९ वर्षका युवाकै संख्या बढी छ। दोस्रोमा ३० देखि ३९ र तेस्रोमा ४० देखि ४९ वर्ष उमेर समूहका बढी छन्।
७–१६ वैशाखको तथ्यांक केलाउँदा २०–२९ वर्ष उमेरका ७ हजार ९८३ जना संक्रमित भएका छन्। त्यस्तै, ३०–३९ वर्षका ७ हजार ७७८ र ४०–४९ वर्षका ५ हजार ७२१ जना संक्रमित भएका छन्।
सिकिस्त र मृत्युदर पनि युवाकै बढी
युवामा संक्रमण दर बढी देखिएको मात्र छैन, सिकिस्त भएर अस्पताल आउने र मृत्यु हुनेमा पनि युवाकै संख्या बढी देखिन थालेको चिकित्सकहरु बताउँछन्। यो तथ्यप्रति स्वास्थ्य क्षेत्रका विज्ञहरूले अचम्म मानेका छन्।
काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुन युवामा संक्रमण बढी देखिनु स्वाभाविक भए पनि यही उमेर समूहका व्यक्तिहरू सिकिस्त भएर अस्पताल आउनु र मृत्यु पनि बढी हुनु गम्भीर विषय भएको बताउँछन्।
“संक्रमितको संख्या त जति धेरै परीक्षण गर्यो उति बढी देखिन्छ, गम्भीर समस्या भएर अस्पतालमा भर्ना हुने अवस्था सिर्जना हुनु र मृत्यु हुनु चाहिँ अनुसन्धानको विषय हो,” पुन भन्छन्।
पहिलो लहरमा भन्दा दोस्रो लहरमा संक्रमितको संख्या किन बढिरहेको छ, नेपालमा अहिलेसम्म यसको विस्तृत अध्ययन भएको छैन। तर, विज्ञहरू भाइरसको जीनमा आएको परिवर्तनलाई मुख्य कारण मान्छन्।
डा. पुनका अनुसार, कोरोना संक्रमणको पहिलो लहरमा अस्पतालमा भर्ना हुने व्यक्तिहरू प्रायः ६० वर्षमाथिका थिए। अहिले भने भर्ना हुने र मृत्यु हुने पनि युवाहरू देखिनु आश्चर्यजनक भएको उनको भनाइ छ।
शुक्रराज अस्पतालकै प्रमुख कन्सलट्यान्ट डा. अनुप बास्तोला स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा लापरवाही गरेका कारण युवामा संक्रमण बढी देखिएको बताउँछन्।
“संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा निस्केका र्यालका छिटा सतह वा हावामा रहँदा त्यसमार्फत भाइरस सर्ने हो,” बास्तोला भन्छन्, “युवाहरू बाहिरका गतिविधिमा धेरै निस्किए, स्वास्थ्य मापदण्ड पालना गरेनन्, जसका कारण उनीहरूमा धेरै संक्रमण भयो।”
पहिलो लहरमा भन्दा दोस्रो लहरमा संक्रमितको संख्या किन बढिरहेको छ, नेपालमा अहिलेसम्म यसको विस्तृत अध्ययन भएको छैन। तर, विज्ञहरू भाइरसको जीनमा आएको परिवर्तनलाई मुख्य कारण मान्छन्।
“कारण यही हो भन्न सकिन्न। तर, भाइरसले आफूलाई बलियो बनाएका कारण यस्तो भएको हुनसक्छ,” पुन भन्छन्, “त्यसबारे पत्ता लगाउन भाइरसको जीन सिक्वेन्स (पहिलेको र अहिलेको तुलना गरी भाइरसको विशेषता केलाउने काम) गर्नुपर्छ।”