संसारभर थपिएका संक्रमितमध्ये झन्डै आधा भारतमा
कोरोनाभाइरसको दोस्रो लहरमा पछिल्लो २४ घण्टामा संसारभर थपिएका संक्रमितमध्ये झन्डै आधा भारतमै पुष्टि भएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, आज तीन लाख ८६ हजार ८२९ संक्रमित थपिएका छन्। जब कि संसारभर आठ लाख ८६ हजार ६०७ संक्रमित पुष्टि भएका छन्।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३१ लाख ७७ हजार २२५ पुगेको छ। सक्रिय संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव भएको छ।
समयमा उपचार नपाउँदा गम्भीर बिरामीको ज्यान गइरहेको छ। पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ५०१ जनाको ज्यान गएको छ। पछिल्लो सात दिनदेखि दैनिक तीन हजारभन्दा बढीको मृत्यु भइरहेको छ।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख आठ हजार ३१३ पुगेको छ। अझै कैयौं गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि अस्पताल भरिएका छन्। गम्भीर बिरामीले पनि भर्ना नपाउने अवस्था आएपछि भारत सरकारले होम आइसोलेसनमा बस्नुपर्ने नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ।
संक्रमण देखिएको सात दिनसम्म घरमै बस्न भनिएको छ। त्यो अवधिमा चिकित्सकको सल्लाह लिएर औषधि सेवन गर्न सचेत गराएको छ। सात दिनसम्म निको नभएपछि मात्रै अस्पताल आउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। केही राज्यमा अस्पतालमा ठाउँ नभएपछि र मृत्युदर बढ्न थालेपछि नयाँ मापदण्ड ल्याइएको हो।
अहिले महाराष्ट्र, केरला र उत्तर प्रदेश लगायतका राज्यमा संक्रमित अत्यधिक बढेका छन्। पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ६६ हजार १५९, केरलामा ३८ हजार ६०७ र उत्तर प्रदेशमा ३५ हजार १५६ संक्रमित थपिएका छन्।