प्रदेश सांसद बर्खास्त प्रकरणः जसपा एक, निर्देशन दुई
लुम्बिनी प्रदेशका चार सांसद बर्खास्त प्रकरणमा जनता समाजवादी पार्टी (जसपा)को विवाद सतहमा देखिने गरी बाहिर आएको छ। बिहीबार लुम्बिनी प्रदेश सभाले जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरेपछि जसपा विवाद छताछुल्ल भएको हो।
प्रदेश सभा सचिव दुर्लभ पुन मगरका अनुसार, जसपा संसदीय दलको कार्यालयले केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार, पार्टी सदस्य र सांसदबाट निकालेको सूचना दिएपछि चारै जनालाई राजनीतिक दल सम्बन्धी ऐन र प्रदेश सभा नियमावली अनुसार पदमुक्त गरिएको हो।
पार्टीको निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री बन्न गएको भन्दै पाण्डेय, यादव, रायमाझी र पाण्डेलाई मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिले बर्खास्त गर्ने निर्णय गरेको थियो।
जसपा अध्यक्ष महन्थ ठाकुरले भने बिहीबार लुम्बिनी प्रदेश सभालाई पत्र लेखेर केन्द्रीयस्तरबाट प्रदेश सभा सदस्यलाई कुनै कारबाही नभएको दाबी गरेका छन्।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरलाई ठाकुरले लेखेको पत्रमा जसपाले ६ सदस्यीय संसदीय दललाई प्रजातान्त्रिक तरिकाले निर्णय गर्ने अधिकार दिइएकोे उल्लेख गरेका छन्। जसपा वरिष्ठ नेता राजेन्द्र महतो अध्यक्ष ठाकुरको यो निर्णयको पक्षमा देखिएका छन्।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुुराम भट्टराई, अर्का वरिष्ठ नेता अशोक राई लगायत भने चारै सांसद बर्खास्तको पक्षमा खुलेरै लागेका छन्।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पनि मन्त्री गएका चार सांसद पार्टी विभाजनको कारक बन्नसक्ने जसपा नेताहरू बताउँछ।