कोरोना संक्रमणबाट सुदूरपश्चिममा एकै दिन ११ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा बिहीबार मात्रै ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका ६ जना, कञ्चनपुरका तीन, अछाम र बझाङका एक–एक जना छन्।
कैलालीको गोदावरी नगरपालिकाकी ८७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
यस्तै, कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो। संक्रमण पुष्टि भएको १२ घण्टामै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत कैलाली लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय युवक कोरोना संक्रमित भएर सेती प्रादेशिक अस्पतालमा भर्ना भएकोमा उनको पनि मृत्यु भएको छ। सूचना अधिकारी जोशीले संक्रमित भई प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाका ४० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको बताए।
महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार, भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको संक्रमणबाट मृत्यु भएको छ। उनलाई ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पनि पुष्टि भएको थियो। यस्तै, भारतबाट आएका अर्का ३० वर्षीय युवक संक्रमित भएर मंगलबार अस्पतालमा भर्ना गरिएका थिए। कडा खालको निमोनिया देखिएको उनको पनि मृत्यु भएको छ।
यस्तै, भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया एक महिलाको पनि आजै मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।
उता, अछाम जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका–५ कालिका बाहुनगाउँका ७७ वर्षीय लोकराज ढुंगानाको संक्रमणका कारण आजै मृत्यु भएको हो।
कोरोना संक्रमणबाट बझाङ जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको पनि बिहीबार दिउँसो मृत्यु भएको छ।