संक्रमणले खतराको संकेत गरेका पाँच जिल्ला
कोभिड-१९ को दोस्रो लहर आएसँगै देशका केही जिल्लामा संक्रमण अत्यधिक बढेको छ। पछिल्लो तथ्यांकले देशका पाँच जिल्लामा संक्रमण दरले खतराकाे संकेत गरेकाे देखाएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, काठमाडौं, बाँके, रुपन्देही, कैलाली र ललितपुरमा संक्रमणले खतराको संकेत गरेको छ। पछिल्लो २४ घण्टामा देशभर पुष्टि भएका संक्रमितमध्ये आधाभन्दा बढी यी पाँच जिल्लाका छन्।
आज देशभर चार हजार ९२८ जनामा संक्रमण देखिएको छ। यसमध्ये यी पाँच जिल्लाका दुई हजार ७३५ जना छन्। एकै दिन दुई सयभन्दा बढी संक्रमित थपिएका जिल्ला यी पाँचै हुन्।
काठमाडौंमा एक हजार १२७ संक्रमित थपिएका छन्। त्यस्तै, ललितपुरमा २५२ र भक्तपुरमा २७ गरी उपत्यकामा आज एक हजार ५६१ संक्रमित थपिएका छन्।
काठमाडौंका तीन वटा प्रयोगशालामा गरिएको परीक्षण र पोजेटिभ देखिएका संक्रमितको संख्या डरलाग्दो छ। पछिल्लो २४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा ३५४ स्वाब परीक्षण गर्दा १४१ जनामा कोरोना देखिएको छ।
त्यस्तै, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा ३४३ स्वाब परीक्षण गर्दा १०६ जनामा र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा २८६ जनाको परीक्षण गर्दा १३७ जनामा कोरोना देखिएको छ।
यस्तै, पाटन अस्पतालमा २८४ स्वाब परीक्षण गर्दा १४० जनामा, बीएन्डबी अस्पतालमा २५० स्वाब परीक्षण गर्दा १०८ जनामा कोरोना देखिएको छ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५२८ जनामा कोरोना देखिएको छ। रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा ८० स्वाब परीक्षण गर्दा ५७ जनामा, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४१९ स्वाब परीक्षण गर्दा २३४ जनामा र नेशनल पाथ ल्याबमा ६०७ स्वाब परीक्षण गर्दा ३१६ जनामा कोरोना देखिएको छ।
बाँकेमा कोरोना संक्रमण झन् भयावह देखिएको छ। आज बाँकेमा ४८९ जनामा कोरोना पुष्टि भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा २८८ स्वाब परीक्षण गर्दा २१३ जनामा र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा २६५ स्वाब परीक्षण गर्दा २०५ जनामा कोरोना देखिएको छ।
यसैगरी सुदूरपश्चिमको कैलालीमा आज ३३९ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कैलालीमा परीक्षण र संक्रमितको अनुपात झन् डरलाग्दो देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३७४ स्वाब परीक्षण गर्दा ३६० जनामा कोरोना देखिएको छ।