'दक्षिण एसियामा यति आकर्षक प्राचीन दरबार कतै भेटिएको छैन'
हामीले ‘सग्लो समाज’को दुइँटा अंकका लागि ऐतिहासिक कपिलवस्तुको लुम्बिनी र तिलौराकोट अवलोकन गर्यौं। लुम्बिनी क्षेत्र संरक्षित पायौं, तीर्थालु र पर्यटकको आगमनका लागि तयार रहेको। तिलौराकोटमा उदाहरणीय पुरातात्त्विक उत्खनन कार्य भइरहेको छ। रामग्राम, निगालिहवा, गोटिहवाको महत्त्वबारे जनमानसमा सूचना पुर्याउन बाँकी रहेको छ। समग्रमा नेपालको बुद्ध परिपथले हाम्रो समाजको ऐतिहासिकता दर्शाउँछ र संरक्षणमा राज्य तथा जनता जुट्नुपर्ने आवश्यकता औंल्याउँछ। यही पृष्ठभूमिमा एक दशकदेखि कपिलवस्तु क्षेत्रमा अध्ययन गरिरहेका तथा अहिले तिरौलाकोट उत्खननमा संलग्न बेलायती पुरातत्त्वविद् डा. रविन कोनिङह्यामसँग कनकमणि दीक्षित काे कुराकानी :
यहाँ केही काम हुँदै छ जस्तो छ। त्यो के यन्त्र हो र उहाँ के गर्दै हुनुहुन्छ? बताइदिनुहोस् न।
उहाँ आर्कियोलोजिकल सर्भिसेजका प्राविधिक डंकन। त्यो यन्त्र म्याग्नेटोमिटर हो। यसले भुइँमुनिको प्रबलता नापिरहेको छ र एक खालको तस्वीर खिचिरहेको छ।
पोलेको इँटाको चुम्बकीय प्रबलता बढी हुन्छ। जमीनमुनि कुनै बेला पर्खाल लगाइएको रहेछ भने त्यो तस्वीर जस्तो गरी देखिन्छ। डंकनले अगाडि-पछाडि गर्दै जमीनको प्रबलता नाप्दै त्यसलाई 'ब्याकप्याक'मा रहेको माइक्रो कम्प्युटरमा सार्दै गरिरहनुभएको छ।
पहिले-पहिले माटाको ढिस्को हेरेर त्यसमुनि पुरातात्त्विक वस्तु छन् कि भनेर खनेर हेर्ने गरिन्थ्यो। अहिले भुइँ नछोईकन हेर्न सकिने भएको हो?
हो। पहिले पुरातात्त्विक अध्ययन गर्दा भुइँ खन्नुपर्थ्याे। त्यो भनेको भत्काउनु हो। खनिसकेपछि सामग्री फेरि राख्न सकिँदैन। यो नयाँ प्रविधिबाट फराकिलो ठाउँमा जमीनमुनि के छ भनी थोरै समयमा थाहा पाउन सक्छौँ। त्यसो गर्दा भुइँ खोतलेर बिगार्नु परेन।
पहिले कुन ठाउँमा घर थिए, बाटो कता थियो भन्ने कुराको सही अनुमान गरेर त्यहाँ उत्खनन गर्न पाउँछौँ। यहाँ तिलौराकोट शहरको पर्खालबाहिर के थियो भन्ने कुरा हेर्न हामी र पुरातत्त्व विभाग एकदमै उत्सुक छौं।
तिलौराकोटको पर्खालबाहिरका फाँटहरू उत्खनन गरिएका छैनन्। त्यसैले संरक्षण नहोला कि भन्ने पीर छ। लुम्बिनी र कपिलवस्तुबीच के फरक छ? बताइदिनुहाेस् त।
यहाँको जमीन राम्रोसँग सुरक्षित छ। यो दक्षिण एसियाकै सबैभन्दा सुरक्षित इतिहास भएको शुरूआतका बेलाको शहरी क्षेत्र हो। यसमा शंका छैन।
भारत र बाङ्लादेशका यस बेलाका प्राचीन शहरका भग्नावशेष खनेर इँटा अरू काममा लगाइएको हुन्छ। यहाँको जमीन भने यत्तिकै छाडिएको छ। पुराना अवशेषलाई क्षति पुर्याइएको छैन। ती अवशेष जमीनभन्दा २० सेन्टिमिटरमुनि मात्र छन्। यहाँको जमीनमा खेती भएको भए ती वस्तुलाई क्षति पुग्थ्यो।
पुरातत्त्वविद्हरू पहिल्यैदेखि तिलौराकोटभित्रको शहरबारे चासो राख्दै आएका छन्। अहिले हामी पुरानो शहरबाहिर उभिएका छौँ। यहाँ दुइँटा ढिस्का छन्। एउटा त्यहाँ, अर्को त्यहाँ। त्यहाँभन्दा पूर्वतिर खेती गरिएको जस्तो देखिन्छ, तर त्यहाँ ठूलो विहार रहेको छ। उ त्यहाँ रूखमुनिको थुम्को छ नि, त्यो बुद्धले गृहस्थी त्याग गरेको ठाउँको पूर्वी स्तूप हो।
याे बुद्ध घरबार छाडेर हिँडेको ठाउँ हाे।
हाे, बुद्ध घरबार छाडेर हिँड्दाको ठाउँ।
यो घेराबाराले नेपाल सरकार र पुरातत्त्व विभाग पुरातात्त्विक दृष्टिले मूल्यवान् तिलौराकोट बस्तीभन्दा बाहिरको ठाउँको संरक्षणमा सक्रिय भएको जस्तो लाग्यो?
हो। कपिलवस्तु शहरको केन्द्र भाग, यहाँको घेराबन्दी गरिएको ठाउँ र धार्मिक सेरोफेरोबाहेक दक्षिणतिर औद्योगिक क्षेत्र पनि थियो। सबैको संरक्षण चाहिन्छ।
ती नयाँ पुरातात्त्विक ठाउँ यही प्रविधिले पत्ता लगाउनुभएको हो?
हो, हामीले जियोफिजिक्स विधिले पत्ता लगाएका हौं, जहाँ जहाँ जमीनमुनि प्रबलता बढी छ।
तिलौराकोट त शुद्धोधनको राजधानी भइहाल्यो, सिद्धार्थ गौतमको पुर्ख्यौली शहर। हामीले देख्यौं, यस बस्ती वरपरका ठाउँको पनि पुरातात्त्विक महत्त्व छ। कपिलवस्तु र लुम्बिनीको अवस्था के कसरी फरक छ? यहाँ यति ठाउँ चाहिँ पुरातात्त्विक जस्तो छ। त्यसो हुँदा पुरानो पर्खालबाहिरका सम्पदा नष्ट हुने डर हुन्छ?
हामीसँग दुई वटा तरिका छन्। एक त संरक्षण गरेको ठाउँ वरपर पर्खाल लगाएर घेर्ने। यसो गर्दा त्यसबाहिरको ठाउँमा शहरी अतिक्रमण हुनसक्छ। अहिले लुम्बिनीमा भए जस्तै। केन्जो टाङ्गेले लुम्बिनीको गुरुयोजना बनाएका बेला त्यही तरिकालाई उपयुक्त ठानिन्थ्यो। त्यो एउटा सीमित ठाउँका लागि परिकल्पना थियो। तीन माइल लम्बाइ र एक माइल चौडाइको।
प्राचीन शहर भएको मुख्य ठाउँ मात्र होइन, गाउँ बस्ती, धार्मिक र औद्योगिक क्षेत्र पनि शहरका अभिन्न अंग थिए। त्यसैले मुख्य भागको मात्र संरक्षण गरेर हुँदैन। कपिलवस्तु भनेको शहर मात्र होइन, यो पूरै भेग हो।
यसले प्रकृति र पुरातत्त्वलाई उति ध्यान दिएको छैन। यहाँ तिलौराकोट हामीले पुरातात्त्विक क्षेत्रबाहिर मध्यवर्ती क्षेत्र बनाउने मौका पाएका छौं। प्राचीन शहर भएको मुख्य ठाउँ मात्र होइन, गाउँबस्ती, धार्मिक र औद्योगिक क्षेत्र पनि शहरका अभिन्न अंग थिए। त्यसैले मुख्य भागको मात्र संरक्षण गरेर हुँदैन। कपिलवस्तु भनेको शहर मात्र होइन, यो पूरै भेग हो।
अब तिलौराकोट कपिलवस्तु प्रवेश यही पूर्वीद्वारबाटै गरौं, जहाँबाट शाक्यमुनिले गृहत्याग गरेका थिए।
हो। यहीँबाट जाऊँ न त।
हामी पूर्वी गेटमा छौँ। बुद्ध हुनका लागि सिद्धार्थ गौतमले घरबार त्यागेर हिँडेको गेट।
यो शहरको पर्खालको अन्तिम ठाउँ हो। ती इँटा देख्दै हुनुहुन्छ नि। यहाँ धेरै अग्लो टावर थियो भनेर कल्पना गर्न सकिन्छ। त्यस उता दुइँटा थुम्का छन्। अनि हेर्नुहाेस्, यो बाटो असाध्यै राम्रो योजनाबद्ध ढंगले बनाइएकाे।
यो यहाँको पुरानो शहरी गोरेटोमाथि बनाइएको हो। पुरानो शहरको विचार गर्दा, यो बाटो १० मिटर चौडा थियो। वरिपरि दुबैतिर घर र पसल थिए। पूरै शहर दुई भागमा बाँडिएको थियो। पर्खाल भित्र-बाहिर चार-पाँचवटा गेट थिए। पूरै शहर सुन्दर ढंगले बनेको थियो।
पुरानो शहरको विचार गर्दा, यो बाटो १० मिटर चौडा थियो। वरिपरि दुबैतिर घर र पसल थिए। पूरै शहर दुई भागमा बाँडिएको थियो। पर्खाल भित्र-बाहिर चार-पाँचवटा गेट थिए। पूरै शहर सुन्दर ढंगले बनेको थियो।
यो कपिलवस्तु शहर आजभन्दा २७ सय वर्षजति पहिले बसाइएको हो। शहरी योजनाको अवधारणाको शुरूआती समय तिलौराकोट बस्तीको बीचमा चार पर्खालले घेरिएको ठाउँभित्रको सबैभन्दा मध्य भाग हो।
यो शाक्यमुनिको भन्दा पहिले देखिएको बस्ती?
अहिले हामी शहर भन्ने बित्तिकै ठूलो बस्ती भन्ने बुझ्छौँ। यो शहर अहिलेभन्दा २८ सय वर्षपहिलेको हो। पहिला यहाँ तीन बस्ती थिए। २६ सय वर्षजति पहिले यो ठाउँलाई काठको खम्बाले घेरियो।
त्यतिबेला गाउँ चाहिँ कस्ता थिए होलान्?
हामीले थाहा पाएसम्म यस वरपर स-साना गाउँ थिए। लुम्बिनी नजिक गोटिहवा गाउँ भएजस्तै तिलौराकोट छेउमा पनि गाउँ थिए। ती ठाउँ अलि होचो भएकाले त्यहाँ धेरै पटक बाढी आएको देखिन्छ। यस ठाउँमा सर्भे गर्दा के पायौँ भने, यहाँका बस्ती अलि अग्ला ठाउँमा बसेका थिए, बाढीले दुःख नदेओस् भनेर।
अब यो पुरानो सडकमा हिँडौं न त!
पुरानो बाटोमाथि हामीले काठ राखेका छौँ, यहाँको जमीनमुनिको सम्पदा बचाउन। यहाँ पुरातात्त्विक वस्तुहरू जमीनको सतहको थोरै मात्र मुन्तिर छन्। यहाँ तीर्थयात्री आउने क्रम बढ्दै छ। सतहमुनिको अवशेष खलबलिन सक्छ। यहाँ आउने तीर्थालुलाई यो ठाउँ पहिले कस्तो थियो भन्ने झलक देखाउन सकियोस्। साथै, पुरातात्त्विक वस्तुको संरक्षण पनि गर्न सकियोस् भनेर हामीले यसरी काठको सडक बनाएका हौं।
यहाँ आउने तीर्थालुलाई यो ठाउँ पहिले कस्तो थियो भन्ने झलक देखाउन सकियोस्। साथै, पुरातात्त्विक वस्तुको संरक्षण पनि गर्न सकियोस् भनेर हामीले यसरी काठको सडक बनाएका हौं।
यहाँ जमीनमुनि पुराना इँटा छन् भन्नुभयो। तर पनि त यहाँको माटोमाथि खेती गर्न सकिन्थ्यो। अरू ठाउँमा खेती भएको छ। यहाँ किन भएन होला ?
दुइँटा कारण हुनसक्छन्। पहिलो त यो वरपरका ठाउँभन्दा चार मिटरजति अग्लो छ। यो ठाउँ सुक्खा पनि छ। दोस्रो, पुरातत्त्वविद् पीसी मुखर्जीले यो ठाउँ पत्ता लगाएका बेला सन् १८९९ मा यहाँ घना जंगल थियो। यहाँ हिँड्दा बाघसँग डर लागेको कुरा लेखेका छन्। यहाँको आधाजति भाग त अहिले पनि बाँझै त छ, मिनी प्राकृतिक आरक्ष जस्तो।
पुरातत्त्वको ज्ञान नभएका मानिस आउँदा यहाँ मैदान मात्र देख्छ। तपाईंले भने के देख्नुहुन्छ?
जियोफिजिक्स अध्ययनबाट देखेका कुरा बताउँछु। त्यो रूखमुनि अलि अग्लिएको ठाउँ देख्नुहुन्छ नि, ती ठूला रूखका जराले जमीनमुनि रहेका ढुंगाका थुप्रा समाएका छन्। भत्केका घरका अवशेष माथि बनेका छन्। इतिहास लेखनको क्रम शुरू भएको समयमा यहाँ १० मिटर चौडा बाटो थियो।
हामीले त्यस सडकका पसलजस्ता टहरा देख्छौं। त्यसपछाडि मानिस बस्ने घर। यो ठाउँमा बाक्लो बस्ती थियो। घरको भुइँ माटोको थियो। पर्खालको जग इँटाको थियो। घरको भित्ता माटोकै थियो र अधिकांश घर खरले छाइएका थिए।
पुरानो दरबार भएको ठाउँतिर जाँदै गर्दा यति बताइदिनुहोस्, यहाँका झुपडीहरू अझै पनि नेपालमा देखिने घर आँगनजस्ता छन्?
हुनसक्छ। केही थारू गाउँमा माटोले लिपेका र चित्र बनाइएका घर देखिन्छन् नि, त्यस्तै पनि थिए होलान् यहाँका घर बस्ती। यहाँ आउने तीर्थयात्रीले प्राचीन कपिलवस्तु भनेपछि अग्ला घर, गुम्बज र सिंहमर्मरले सजिएका भनेर कल्पना गर्दछन्। यहाँकै बालबालिकामाझ हरेक वर्ष चित्र प्रतियोगिता पनि गराउँछौं र उनीहरूले पनि यस्तै भव्य दरबारका चित्र बनाउँछन्, तर खासमा त्यतिबेलाको कपिलवस्तुका घर माटोले बनेका र खरले छाएका हुन्थे। सबै घर एकै खालका हुँदैनथे। यो शहरको बीच भागमा रहेको दरबारको कम्पाउन्ड हो। यहाँ फरक खालका घर थिए भन्ने प्रमाण हामीसँग छ। धेरैजसोको जगमा मात्र इँटा हुन्थ्यो।
यस ठाउँले हामीलाई चकित बनायो। दरबार यस ठाउँमा थियो होला भनी पीसी मुखर्जीले १८९९ मा अनुमान गरेका कारण अधिकांश तीर्थयात्री त्यहाँ पूजाआजा गर्छन्, त्यो ध्वजापताका भएको ठाउँमा। हामीले गरेको जियोफिजिक्स अध्ययनले भने दरबार क्षेत्र बस्तीको मध्य भागमा रहेछ भन्ने देखायो। यहाँ कम्पाउन्ड पर्खाल थियो।
यो बाटो अलि तेर्सो लागेको छ। अलि अनौठो लाग्छ। जियोफिजिक्स अध्ययन गर्दा यहाँ बाटो घुमेको देखियो।
यो बाटो सीधा जाँदैन नि?
हो, सीधा छैन। यहाँ अलि तेर्सो लाग्छ। यसको कारण हामीलाई थाहा छैन।
दरबार जाने प्राचीन सडक पनि यसरी घुमेको थियो?
बाटोका दुबैतिर घर थिए। अनि त्यहाँ अत्यन्त राम्रो प्रांगण पनि थियो। यो कुन समयको हो भनेर हामी अझै पनि छलफल गर्दै छौं, तर २२-२३ सय वर्षअघिको हुनुपर्छ। हाम्रो सामु यहाँ उत्तर जाने बाटो छ, जो बाहिरी पर्खालसम्मै पुगेको थियो होला। बाटो यहाँ अलिकति घुमेको छ, यसको दुबैतिर पर्खाल लगाइएको छ।
हामीले के पाएका छौं भने, पर्खालबाहिरका घरभन्दा यहाँका घर फरक थिए। बाहिर सर्वसाधारणका घरका भुइँ माटोका भेटिए। यहाँ भुइँमा इँटा लगाइएको पाइयो। पर्खालबाहिरकाे घरमा माटोको भित्ता थियो, यहाँभित्रका भित्ता इँटाको पाइयो।
हामीले यहाँ पाएजस्तो ऐतिहासिक दरबार यसअघि भेट्टाएका थिएनौँ। दक्षिण एसियामा यति आकर्षक प्राचीन दरबार कतै भेटिएको छैन। यहाँ हामीले कल्पना गर्नुपर्छ, यो पर्खाल एकदमै होचो थियो।
पर्खाल अग्लो हुँदो हो त, त्यो भत्कँदा खसेका इँटाको खात वरपर भेटिनुपर्थ्याे। ती भेटिएनन्। यसो किन भयो होला? मुस्ताङ जानुभएको छ भने तपाईंले पक्कै देख्नुभएको होला, त्यहाँ पर्खालको जग ढुंगाको हुन्छ। पर्खाल चाहिँ माटोको हुन्छ। इँटाको जग हालेपछि पर्खाल माटोको बनाइयो र बर्खाको पानी तर्काउन त्यसको शिरमा खरको छानो हालियो। अनुमान मात्र हो। सही पनि हुनसक्छ। गलत पनि हुनसक्छ।
यो पर्खाल चानेचुने थिएन, यति ठूलो जगमा ५ वा ६ मिटर अग्लो पर्खाल हुनुपर्छ। दुईतिर अग्ला पर्खालबीच यहाँ प्रवेशद्वार हुनुपर्छ। यो गेटको अगाडिको भाग हो, गेटको खम्बा चाहिँ यहाँ थियो। ती खम्बा ठड्याउन भनी इँटा राखिएको थियो। धेरै ढुंगा भेटिएनन्, इँटा मात्र भेटिए।
हामीलाई लागेको छ, एउटा गेट यहाँ थियो, अर्को त्यहाँ। यहाँ गार्ड बस्ने ठाउँ थियो।
यो दरबार क्षेत्रका पुरातात्त्विक अवशेष सुरक्षित छन् र हेर्दा भव्य देखिन्छन्। यो अग्लो ठाउँमा हामीले उत्खनन गर्न बाँकी नै छ। तर, हामीले के पाएका छौँ भने, पर्खालबाहिरका घरभन्दा यहाँका घर फरक थिए। बाहिर सर्वसाधारणका घरका भुइँ माटोका भेटिए। यहाँ भुइँमा इँटा लगाइएको पाइयो। पर्खालबाहिरका घरमा माटोको भित्ता थियो, यहाँभित्रका भित्ता इँटाको पाइयो।
त्यो हेर्न पाए हुन्थ्यो!
पाइँदैन, किनभने ती अहिले माटामुनि छन्। ती घरबाट खसेका इँटाका आधारमा घरको भित्ता तीन मिटरजति अग्लो भएको अनुमान गर्न सकिन्छ। तिलौराकोटको या मध्यभागका घर अन्तका भन्दा फरक थिए, त्यसैले यो दरबार क्षेत्र हुनुपर्छ।