सुदूरपश्चिम प्रदेशमा थपिए २२७ कोरोना संक्रमित
सुदूरपश्चिम प्रदेशमा बुधबार २२७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको नमूना परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण भेटिएको हो।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार, थपिएका संक्रमितमध्ये कैलालीका २०२ जना छन्। तिनमा पनि धनगढी उपमहानगरपालिकामा मात्रै १३६ जना कोरोना संक्रमित थपिएका हुन्।
हाल अस्पतालमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार, ३ जना भेन्टिलेटरमा, ८ जना आईसीयूमा, २३ जना अक्सिजनको सपोर्टमा उपचाररत छन्।
गौरीफन्टा नाकाबाट बुधबार ४१ संक्रमित भित्रिए
भारतसँगको सीमानाका कैलालीको गौरीफन्टाबाट नेपाल फर्किएकामध्ये बुधबार ४१ जनामा कोरोना संक्रमण देखिएको छ।
गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार, सो नाका भएर बुधबार ६८८ जना नेपाल भित्रिएका छन्। तीमध्ये ३५४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो।
उक्त नाकाबाट भित्रिएकामध्ये हालसम्म १३ हजार ४२१ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये १ हजार ४०९ जनामा संक्रमण पुष्टि भएको साउदले बताए। नाकामा भेटिएका संक्रमितहरूलाई धनगढीस्थित कनरीमा स्थापना गरिएको क्वारेन्टिनमा राख्ने गरिएको छ।