महामारीबीच सगरमाथा आरोहणमा आकर्षण, ३९४ आरोही प्रतीक्षामा
सगरमाथा आरोहण गर्न यस वर्ष अनुमति लिएका ३९४ आरोही आधार शिविर पुगिसकेका छन्। मौसम अनुकूल भए आउँदो मे महीनाको पहिलो सातादेखि आरोहणको क्रम शुरू हुनेछ।
कोरोनाभाइरस संक्रमण महामारीका बीच पनि यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या उल्लेख्य बढेको छ।
पर्यटन विभागका अनुसार, यस वर्ष सगरमाथा आरोहणका लागि सहयोगीबाहेक अनुमति लिनेको संख्या ३९४ छ। सन् २०२० मा विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस संक्रमण महामारीका कारण आरोहण अनुमति नै बन्द गरिएको थियो।
सन् २०१९ मा भने ३८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए। जसमध्ये २८० जनाले मात्र सगरमाथा आरोहण गरेका विभागको तथ्यांक छ।
यस वर्ष सगरमाथा आरोहणका क्रममा भीडभाड हुन नदिन एक पटकमा १५० देखि १७० जनालाई आरोहणका लागि पठाउने तयारी सरकारको छ।
आरोहणको अनुमति लिएकाहरू सगरमाथाको आधार शिविर पुगिसकेका नेपाल पर्वतारोहण संघले जनाएको छ। संघका अध्यक्ष सन्तवीर लामाले भने, “सगरमाथा आरोहणका लागि रुट बनाउने काम भइरहेको छ। आवश्यक जनशक्ति आधार शिविरमा खटिइसकेको छ।”
लामाका भनाइमा मौसमले साथ दिए आउँदो मे महीनाको पहिलो सातादेखि आरोहणको क्रम शुरू हुनेछ। यस वर्ष सगरमाथा आरोहणका क्रममा भीडभाड हुन नदिन एक पटकमा १५० देखि १७० जनालाई आरोहणका लागि पठाउने तयारी सरकारको छ। सन् २०१९ मा एकैपटक धेरै आरोही सगरमाथामा जाँदा जामको समस्या भएकाले त्यसो गर्न लागिएको हो।
सगरमाथा आरोहणमा देखिएको आकर्षणले महामारीका कारण बेरोजगार भएर बसेका पर्यटन मजदूर तथा केही व्यवसायीहरूलाई राहत मिलेको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाका अनुसार, एक जना आरोही बराबर २० जनाले रोजगारी पाउँछन्।
कोरोनाभाइरसको महामारीका कारण सन् २०२० को आरोहण रोकिनु र यस वर्ष चीनले उत्तरी मोहडाबाट आरोहणका लागि अनुमति नदिएका कारण पनि नेपाल तर्फबाट सगरमाथा आरोहण गर्नेको संख्यामा वृद्धि भएको संघका अध्यक्ष लामाले बताए।
सगरमाथा आरोहणमा देखिएको आकर्षणले महामारीका कारण बेरोजगार भएर बसेका पर्यटन मजदूर तथा केही व्यवसायीहरूलाई राहत मिलेको छ। लामाका भनाइमा एक जना आरोही बराबर २० जनाले रोजगारी पाउँछन्। अर्थात्, यस पटक ३९४ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिँदा ७ हजार ८८० जनाले दुई महीनाका लागि रोजगारी पाउनेछन्।
कोरोनाभाइरस महामारीका बीच नेपालमा भएको पर्यटकको आगमन र हिमाल आरोहणमा देखिएको आकर्षणले पर्यटन व्यवसायीहरू उत्साहित छन्।
पर्यटन व्यवसायी वसन्त मिश्र महामारीबीच पनि पर्यटन क्षेत्रमा राम्रो चहलपहल देखिएको बताउँछन्। “महामारीको बेला संकटलाई थेग्न सके पर्यटनको भविष्य राम्रो छ,” मिश्र भन्छन्, “वर्ल्ड टुरिजम काउन्सिल लगायतको रिपोर्टले महामारीको अन्त्यपछि पर्यटन क्षेत्र बुम हुने देखाएको छ।”
“महामारीको बेला संकटलाई थेग्न सके पर्यटनको भविष्य राम्रो छ। वर्ल्ड टुरिजम काउन्सिल लगायतको रिपोर्टले महामारीको अन्त्यपछि पर्यटन क्षेत्र बुम हुने देखाएको छ।” - वसन्त मिश्र, पर्यटन व्यवसायी
अध्यागमन विभागका अनुसार, सन् २०२० को नोभेम्बरमा १ हजार ९५६ जना नेपाल आएकोमा डिसेम्बरमा यो संख्या ४ हजार २४५ पुगेको छ। त्यसैगरी, सन् २०२१ को जनवरीमा ८ हजार ८७४, फेब्रुअरीमा ९ हजार १४६ र मार्चमा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए।
पर्यटन व्यवसायी मिश्र आन्तरिक पर्यटकहरूका कारण पनि चितवन, पोखरा लगायतका स्थानहरू चलायमान भएको बताउँछन्। विदेशी पर्यटकहरू नआउँदा पनि आन्तरिक पर्यटकबाट पर्यटन व्यवसायीले राहत महसूस गर्न पाएको उनी बताउँछन्।
“विदेशतिर घुम्न जाने नेपालीहरू पनि यस पटक महामारीका कारण जान नपाएर देशभित्रकै विभिन्न गन्तव्य पुगे। यसले व्यवसायीलाई केही मात्रामा भए पनि भरथेग गरेको छ,” मिश्र भन्छन्।