‘अक्सिजन उत्पादन गर्न नेपाली उद्योग सक्षम छन्, सरकारी भरथेग चाहियो’
आजको दिनसम्म नेपाल अक्सिजन उत्पादनमा आत्मनिर्भर छ। तर, अहिलेको कोरोना महामारीको बेला सरकारले अक्सिजन उत्पादनको अवस्था कस्तो छ, यो स्वास्थ्य संकटलाई तपाईंहरूले कसरी थेग्न सक्नुहुन्छ भनेर त सोधखोज नै गरेको छैन।
कोभिड–१९ को स्वास्थ्य संकटको अवस्था विचार गरेर अक्सिजन ग्यासका लागि सरकारले पहिल्यैदेखि तयारी गर्नुपर्थ्यो। तर, संकट सँघारमा आएपछि मात्र खोज्ने प्रवृत्ति देखियो। जब भारतमा अभाव देखियो, त्यसपछि यहाँ पनि अक्सिजन चाहियो भन्न थालियो। बल्ल यहाँ अक्सिजनको अवस्था के छ भनेर खोजी गरेको देखियो।
आजको भोलि नै अक्सिजन ग्यास त बन्दैन, त्यसका लागि पनि तयारी गर्नुपर्छ। आवश्यक स्रोतसाधन व्यवस्थापनमा विगतमा समय हुँदा पूर्वतयारी राम्रोसँग गर्नुपर्नेमा त्यसो गरेको पाइएन। यो महामारी त एक वर्षअघि नै देखिएको हो। विगतमा करीब चार महीना सरकारले नै बन्दाबन्दी गरेको हो। यो बीचमा तयारी गरेको देखिएन।
आजको दिनसम्म नेपाल अक्सिजन उत्पादनमा आत्मनिर्भर छ। अहिले देशभर अक्सिजन उत्पादन गर्ने करीब २२ उद्योग सञ्चालनमा छन्। तीमध्ये उपत्यकामा आठ वटा छन्। तीन वटा उद्योग बजार नपाएर बन्द भए।
अक्सिजन ग्यासका लागि अर्को समस्या हो, सिलिन्डर अभाव। त्यसैले सबैभन्दा पहिले पर्याप्त सिलिन्डरको व्यवस्था गर्नुपर्छ। विडम्बना के छ भने, कुनै पनि सरकारी अस्पतालका आफ्ना सिलिन्डर छैनन्। अस्पतालहरूले सिलिन्डर महीनौंसम्म राखिदिँदा उद्योगमा सिलिन्डर हुँदैनन्।
१५ वर्षअघि अक्सिजनको एउटा सिलिन्डरको मूल्य रू.५५० थियो भने अहिले ४०० छ। अहिले अक्सिजन ग्यास उद्योगहरू घाटामा सञ्चालन भएका छन्। अक्सिजनविना बिरामी बाँच्न सक्दैन। तर, त्यही सेवा दिने उद्योगमा काम गर्नेहरूलाई सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छैन।
महामारीको यो संकटको बेलामा पनि न सरकारले हामीसँग कुनै सोधखोज गरेको छ, न त भरथेग नै गरेको छ। कम्तीमा, देशमा महामारी बढेको बेला अक्सिजन उत्पादनको अवस्था कस्तो छ, यसलाई तपाईंहरूले कसरी थेग्न सक्नुहुन्छ भनेर त सोध्नु वा बुझ्नुपर्ने हो।
अक्सिजन ग्यासका लागि मुख्य समस्या हो, सिलिन्डर अभाव। त्यसैले सबैभन्दा पहिले पर्याप्त सिलिन्डरको व्यवस्था गर्नुपर्छ। विडम्बना के छ भने, कुनै पनि सरकारी अस्पतालका आफ्ना सिलिन्डर छैनन्। अस्पतालहरूले सिलिन्डर महीनौंसम्म राखिदिँदा उद्योगमा सिलिन्डर हुँदैनन्। सधैं निजी क्षेत्रको टाउकोमा राखेर अक्सिजन पुगेन, अभाव भयो भनेर सरकार पन्छिन मिल्दैन।
नेपालमा अहिले अक्सिजनका करीब एक लाख सिलिन्डर रहेको अनुमान छ। संक्रमण दर र गम्भीर संक्रमितको अनुपात हेर्दा अहिले नै कति सिलिन्डर आवश्यक छ भनेर ठ्याक्कै बताउन त सकिँदैन। तर, अनुमानित हिसाब गर्दा थप २५ देखि ३० हजार सिलिन्डर आवश्यक छ।
अक्सिजन ग्यास उत्पादन गर्न यहाँका उद्योग सक्षम छन्। तर, उनीहरूका समस्याबारे पनि सरकारले बुझिदिनुपर्यो। देशभित्र रहेका अक्सिजन उद्योग सञ्चालन भए रोजगारी सिर्जना हुन्छ र अक्सिजनका लागि पूँजी पलायन पनि रोकिन्छ।
(कुराकानीमा आधारित)