खोप लगाएका अमेरिकीहरूले बाहिर निस्किँदा अब मास्क लगाउनु नपर्ने
अमेरिकामा कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोपको मात्रा पूरा गरेका व्यक्तिहरूले अब मास्कबिना नै बाहिर हिँडडुल गर्न पाउने भएका छन्।
खोप लगाएकाहरूले अपरिचित व्यक्तिहरूको भीडभाडमा बाहेक सानो जमघटमा जाँदा वा बाइक चलाउँदा र दगुर्दा मास्क लगाउनु नपर्ने नयाँ मापदण्ड ल्याइएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले महामारीपछिको सामान्य जीवनमा फर्कने दिशामा महत्त्वपूर्ण कदम उठाउँदै मास्कको प्रयोग सम्बन्धी नियम खुकुलो पार्ने गरी मंगलबार नयाँ निर्देशिका जारी गरेको हो।
सीडीसीको मापदण्डमा भनिएको छ, “जो अमेरिकीले कोभिड-१९ विरुद्धको खोप पूरा मात्रामा लगाएका छन्, अब उनीहरूले बाहिर हिँड्दा, दौडिँदा, हाइकिङ गर्दा वा बाइक चलाउँदा वा आफ्नो घरपरिवारका सदस्यहरूसहित सानो जमघट वा समारोहमा मास्क लगाउन आवश्यक छैन। खेल रंगशाला, कन्सर्ट जस्ता भीडभाडयुक्त सार्वजनिक ठाउँहरूमा भने सबैले मास्कको प्रयोग गर्न जरुरी छ।”
महामारीबाट सामान्य जीवनमा फर्किने यो कदमलाई अमेरिकी राष्ट्रपति जो बाइडनले महामारीमा ऐतिहासिक क्षणको संज्ञा दिएका छन्।
कोभिड-१९ बाट अमेरिकामा हालसम्म ५ लाख ८७ हजार जनाको मृत्यु भइसकेको छ।
सीडीसीले एक वर्षयता अमेरिकीहरूलाई बाहिर निस्किँदा दोस्रो व्यक्तिसँग ६ फुटको दूरी राख्न र मास्क लगाइराख्न सुझाव दिँदै आएको थियो। पछिल्लो पटक सीडीसीले खुकुलो प्रावधान तब ल्यायो, जब अमेरिकामा आधाभन्दा बढी वयस्क व्यक्तिहरूले कोभिड-१९ विरुद्धको खोप कम्तीमा पहिलो मात्रा लगाएका छन् भने एक तिहाइभन्दा बढी व्यक्तिले पूरा मात्रा लगाइसकेका छन्।
अलबमा राज्यको बर्मिङ्घमस्थित अलबामा विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा. माइक सागले मास्क सम्बन्धी खुकुलो प्रावधानको स्वागत गर्दै भने, “यो हाम्रो स्वतन्त्रताको पुनरागमन हो। हामी सामान्य जीवनमा फर्किन लाग्दै छौं।”
नयाँ दिशानिर्देशले खोप नलगाएका अमेरिकीहरूलाई बाहिरी कार्यक्रममा मास्क लगाउन अझै अनिवार्य नै गरिएको छ।