महामारी र भोक छल्न रातारात शहर छाड्ने हतारो (तस्वीरहरू)
कोरोनाभाइरसको संक्रमण अत्यधिक बढेसँगै काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लागू हुने भएपछि उपत्यका छाड्नेहरूको लर्को बढ्दो छ।
निषेधाज्ञा अगावै आफ्नो जिल्ला फर्किन आतुर भएकाहरूको उपत्यकाबाट बाहिरिने नाकाहरूमा भीड लाग्न थालेको छ। निषेधाज्ञामा नियमित कामकाज र गतिविधिमा रोक लगाइएपछि मंगलबार बिहानैदेखि ज्यालादारी श्रमिक, विद्यार्थी र अन्य सर्वसाधारण आफ्नो गाउँ फर्कन थालेका हुन्।
यसअघि ११ चैत २०७६ मा एकाएक बन्दाबन्दी गरिएको बेला राजधानीबाट भोकभोकै दूरदराजका गाउँसम्म पैदल जानेहरूको ताँती लागेको थियो। यस पटक भने स्थानीय प्रशासनले केही दिनको समय दिएर निषेधाज्ञा जारी गरेपछि संक्रमणको दोस्रो लहर र गुजाराको समस्याबाट बच्न सर्वसाधारण सवारी साधनमा आफ्नो थातथलो फर्किरहेका छन्।
मंगलबार साँझ अबेरसम्म पनि उपत्यका छाड्नेहरू आफ्नो गन्तव्य जाने सवारीसाधनको पर्खाइ र बन्दोबस्तमा विभिन्न चोकमा अधैर्य देखिन्थे। कलिला बच्चा र पोकाेपुन्तरो च्यापेर सर्वसाधारण रातारात गन्तव्य पुग्न हतारिएका छन्।
कलंकीबाट बाहिरिनेहरूको भीड, पर्खाइ र व्यग्रता यस्तो देखियो: