महामारीमा स्वास्थ्य पूर्वाधार : एक वर्षमा के गरियो सुधार?
कोरोनाभाइरस संक्रमण शुरू भएको एक वर्षमा मुलुकको स्वास्थ्य प्रणालीमा केही सुधार गरिए पनि संक्रमणको दोस्रो लहर तीव्र बढिरहँदा उपलब्ध पूर्वाधारले सम्भावित संकटमा धान्न नसक्ने जोखिम छ।
गत वर्षको जेठमा ल्याइएको चालू आर्थिक वर्ष २०७७/७८ को बजेटले काठमाडौं उपत्यकामा ३०० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल बनाउने घोषणा गर्यो। कोरोनाभाइरस (कोभिड–१९) महामारीका बीच सरकारले गरेको नयाँ अस्पताल निर्माणको घोषणाले आशा जगाए पनि याे अस्पतालको टुंगो अझै लागेको छैन। मनमोहन मेमोरियल अस्पताल सरकारले खरीद गरेर सरुवा रोग अस्पताल बनाउने योजना भए पनि निर्क्याेल भएको छैन।
हरेक स्थानीय तहमा अस्पताल स्थापनाका लागि सरकारले बजेटको स्रोत सुनिश्चित गरेर यही वर्षदेखि स्थानीय तहहरूलाई रकम दिन शुरू गरेको छ। तर, यी अस्पतालको निर्माण सकिन कैयौं वर्ष लाग्ने निश्चितप्रायः भएकाले अहिलेको महामारीमा ती योजनामा रहेका अस्पताल काम आउने छैनन्।
बजेटले प्रदेश र राजधानीका अस्पतालमा थप २५० आईसीयू शय्या स्थापना, सबै प्रदेश राजधानीमा ५० शय्याको सरुवा रोग अस्पताल सञ्चालन तथा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। घोषणा गरिएकामध्ये आंशिक काम शुरू भए पनि निर्माण कहिले सकिने हो, टुंगो छैन।
हरेक स्थानीय तहमा अस्पताल स्थापनाका लागि सरकारले बजेटको स्रोत सुनिश्चित गरेर यही वर्षदेखि स्थानीय तहहरूलाई रकम दिन शुरू गरेको छ। तर, यी अस्पतालको निर्माण सकिन कैयौं वर्ष लाग्ने निश्चितप्रायः भएकाले अहिलेको महामारीमा ती योजनामा रहेका अस्पताल काम आउने छैनन्। सात वटै प्रदेश राजधानीमा सरुवा रोग अस्पतालको पूर्ववत् घोषणा पनि अहिलेको महामारीलाई सम्बोधन गर्ने हिसाबले निरर्थक हुन पुगेको छ। यद्यपि, काठमाडौंका त्रिवि शिक्षण अस्पतालसहितका केही अस्पतालमा स्वास्थ्य पूर्वाधार विस्तार गरिएको छ। वीर अस्पतालको २०० शय्याको नयाँ भवनमा पनि कोभिड–१९ का बिरामीलाई राखिने तयारी छ।
बजेटले हरेक प्रवेश नाकामा आवश्यक उपकरणसहितको ‘हेल्थ डेस्क’ स्थापना गर्ने घोषणा पनि गरेको थियो। तर, स्थल नाकाबाट आवतजावत गर्नेको परीक्षण गर्न यस्ता डेस्कहरु प्रभावकारी हुन सकेका छैनन् । जसका कारण भारतसँगको सीमानाकाहरूमा स्वास्थ्य जाँचबिना नै निर्बाध रूपमा मानिसहरूको प्रवेश हुने गरेको छ।
गत कात्तिक पहिलो साता सरकारले कोरोना संक्रमितलाई अक्सिजनसहितको बेड उपलब्ध गराउन २ हजार एचडीयू (हाई डिपेन्डेन्सी यूनिट) बनाउने घोषणा गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६ कात्तिक ६ को प्रेस बिफ्रिङमार्फत त्रिवि शिक्षण, पाटन र वीर अस्पतालमा एक–सय बेडको एचडीयू स्थापना गर्ने बताएका थिए । तर, घोषणाबमोजिम एचडीयू बनेका छैनन् । अहिलेसम्ममा करीब ५ सय मात्रै एचडीयू थप भएको मन्त्रालयका एक अधिकारीको अनुमान छ ।
दोस्रो लहरको संकट, छैन पर्याप्त पूर्वाधार र जनशक्ति
कोरोनाभाइरस संक्रमण महामारी शुरू भएको एक वर्षपछि यसको दोस्रो लहर झन् डरलाग्दो गरी फैलिएको छ। यसले महामारीको सामना गर्न हाम्रो स्वास्थ्य पूर्वाधारको विद्यमान अवस्था कस्तो छ, र बितेको एक वर्षमा पूर्वाधार विस्तारमा कति प्रगति भयो भन्ने प्रश्न उठेको छ।
बितेका महीनाहरूमा नेपालमा संक्रमितको संख्या खुम्चिसकेकोमा भारतमा संक्रमण दर बढेसँगै गत चैत तेस्रो सातापछि यहाँ पनि दिनानुदिन बढिरहेको छ। जनस्वास्थ्य क्षेत्रका जानकारहरूले संक्रमण ‘सुनामीसरह बढिरहेको’ बताएका छन्। नेपालगन्जका अस्पताल भरिभराउ छन् भने काठमाडौंसहित देशका कैयौं शहरका अस्पतालमा आईसीयू र भेन्टिलेटरसहितका शय्या पाउन कठिन भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाभाइरसको संक्रमण शुरू भएपछि देशमा करीब ७०० भेन्टिलेटर थपिएको बताए। तर, अहिले देशभरिमा आईसीयू र भेन्टिलेटरको संख्या कति छ भनेर अद्यावधिक विवरण मन्त्रालयका अधिकारीहरू बताउँदैनन्।
नेपालमा महामारीको विस्तार शुरू भएको एक वर्ष भइसक्दा पनि यससँग जुध्ने पूर्वाधार निर्माणमा भने तदारुकताका साथ काम हुन नसकेको भनी आलोचना भइरहेको छ। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बितेको एक वर्षमा महामारीसँग जुध्न स्वास्थ्यका पूर्वाधार निर्माणमा अपेक्षित काम हुन नसकेको बताउँछन्। “अस्पतालहरूमा निश्चय पनि आईसीयू र भेन्टिलेटरको संख्या बढेको छ, तर त्यो पर्याप्त छैन,” मरासिनीले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उपलब्ध गराएको तथ्यांकअनुसार, कोभिड–१९ को संक्रमण शुरु हुनुअघि देशका अस्पतालहरुमा एक हजार १४८ वटा आईसीयू र ४४२ वटा भेन्टिलेटर सञ्चालनमा थिए। गत फागुन पहिलो सातासम्ममा आईसीयूको संख्या बढेर एक हजार ४८६ र भेन्टिलेटरको संख्या ६३४ पुगेको तथ्यांकले देखाउँछ। त्यस्तै, अस्पतालहरुमा कोभिड–१९ को महामारी शुरु हुनुअघि १४ हजार ८९६ सामान्य शय्या रहेकोमा गत फागुन पहिलो सातासम्ममा बढेर १८ हजार ९१७ पुगेको छ।
यसको अर्थ, एक वर्षका बीचमा आईसीयू र भेन्टिलेटरको उपलब्धता क्रमशः २९ प्रतिशत र ४३ प्रतिशत बढेको छ। यद्यपि, गत फागुनयता यी सुविधामा कति वृद्धि भए भन्ने यकिन तथ्यांक छैन। अहिले देशभरिमा आईसीयू र भेन्टिलेटरको संख्या कति छ भनेर अद्यावधिक विवरण मन्त्रालयका अधिकारीहरू बताउँदैनन्। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाभाइरसको संक्रमण शुरू भएपछि देशमा करीब ७०० भेन्टिलेटर थपिएको दाबी गरे। तर, अहिले कति संख्यामा भेन्टिलेटर र आईसीयू छन् भन्ने विवरण उनले खुलाएनन्।
मन्त्रालयले दैनिक रुपमा कोभिड–१९ बारे उपलब्ध गराउने तथ्यांकमा देशभरि कोरोना संक्रमित बिरामीका लागि ४८३ वटा भेन्टिलेटर र एक हजार १७१ आईसीयू शय्या छुट्याइएको उल्लेख छ ।
कोरोना संक्रमितको बढ्दो संख्याले आईसीयू र भेन्टिलेटरको चरम अभाव हुनसक्ने अनुमान गरिए पनि सचिव अर्याल यी उपकरणभन्दा पनि ठूलो अभाव स्वास्थ्यकर्मीको भएको बताउँछन्। “भेन्टिलेटर किनेर मात्र समस्या समाधान हुने होइन, ती सञ्चालन गर्नसक्ने पूर्वाधार र जनशक्ति छ कि छैन भन्ने पनि हेर्नुपर्यो,” अर्यालले भने, “भेन्टिलेटरभन्दा अक्सिजनको अभावले धेरैको ज्यान जानसक्ने जोखिम छ।”
“लामो समयदेखि संरचनागत सुधार नभएको स्वास्थ्य प्रणालीमा सुधारको जग बसाल्न थुप्रै काम भएका छन्,” उनले भने “महामारीसँग जुध्न पूर्वाधारहरू थपिएका त छन्, तर अहिलेको सुनामी थेग्न तिनले भ्याउँदैनन्।” - डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका पूर्वसल्लाहकार
स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन अक्सिजन खपत हुने उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरिसकेको छ। यद्यपि, नेपाल अक्सिजन ग्यास उत्पादक संघले भने अक्सिजन अभावको स्थिति नआउने बताएको छ। नेपालमा अहिले काठमाडौं उपत्यकामा मात्र ८ वटा र उपत्यकाबाहिर १८ वटा प्लान्टबाट दैनिक ८ हजारभन्दा बढी सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ।
कैयौं अस्पतालका बिग्रिएका अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्न सकिने भए पनि तिनको मर्मत तदारुकतासाथ भएको छैन। त्रिवि शिक्षण अस्पतालका तीन वटामध्ये दुई वटा प्लान्ट मात्र सञ्चालनमा छन्। दुबैको क्षमता प्रतिमिनेट ५०० सिलिन्डर छ। प्रतिमिनेट एक हजार सिलिन्डर उत्पादन गर्ने क्षमता भएको प्लान्ट बिग्रिएकोमा त्यसको मर्मत नभएकाले सञ्चालनमा छैन।
गंगालाल अस्पतालको अक्सिजन प्लान्ट पनि मर्मत गर्नुपर्ने अवस्थामा छ। वीर र पाटन अस्पतालका अक्सिजन प्लान्ट पनि बिग्रिएकाले सञ्चालनमा छैनन्। अक्सिजनले अहिलेको माग धानिरहे पनि सिलिन्डर आपूर्तिमा भने समस्या छ। यद्यपि, सरकारले तत्काल २० हजार वटा ठूला आकारका सिलिन्डर नेपाल ल्याउने तयारी गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।
तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्की महामारीसँग जुध्न बितेको एक वर्षमा नेपालले क्षमताले भ्याएसम्म काम गरेको बताउँछन्। “लामो समयदेखि संरचनागत सुधार नभएको स्वास्थ्य प्रणालीमा सुधारको जग बसाल्न थुप्रै काम भएका छन्,” उनले भने “महामारीसँग जुध्न पूर्वाधारहरू थपिएका त छन्, तर अहिलेको सुनामी थेग्न तिनले भ्याउँदैनन्।”
"सघन उपचार चाहिने व्यक्तिका लागि भेन्टिलेटर र आईसीयूको पर्याप्त व्यवस्थापन गर्न सकिएको छैन। संकट आउने आकलन गरेर पूर्वतयारीमा धेरै काम हुन सकेन, जसले गर्दा भेन्टिलेटर, आईसीयूजस्ता पूर्वाधारको अभाव हुने जोखिम छ" - डा. विशाल ढकाल, संस्थापक, नेपाल भेन्टिलेटर सर्भिसेस
जनस्वास्थ्यविद् डा. मरासिनी नेपालमा सामान्य अवस्थाका लागि समेत कम्तीमा पनि ३ हजार भेन्टिलेटर आवश्यक पर्ने बताउँछन्। तर, सबैभन्दा ठूलो समस्या भने चिकित्सकसहितका स्वास्थ्यकर्मीकै अभाव रहेको उनी बताउँछन्। अहिले ठूला सरकारी अस्पतालमा मानव स्रोतको अभाव छ। अस्पतालको जनशक्तिलाई नै संक्रमण हुन थालेको अवस्थामा मानव स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्नेछ। “संसद् विकास कोषसहितका रकम हालेर देशैभरि तत्काल आपत्कालीन अस्पतालका संरचना बनाउने भनी गत वर्षदेखि नै घचघच्याए पनि सरकारको लोसे प्रवृत्तिका कारण बन्न सकेन,” डा. मरासिनीले भने।
नेपाल भेन्टिलेटर सर्भिसेसका संस्थापकमध्ये एक डा. विशाल ढकाल सघन उपचार चाहिने व्यक्तिका लागि भेन्टिलेटर र आईसीयूको पर्याप्त व्यवस्थापन गर्न नसकिएको बताउँछन्। अहिलेको संक्रमणको प्रवृत्ति हेर्दा केही महीनाभित्रमा ठूलो संख्यामा आईसीयू र भेन्टिलेटर आवश्यक पर्नसक्ने उनको तर्क छ। “संकट आउने आकलन गरेर पूर्वतयारीमा धेरै काम हुन सकेन, जसले गर्दा भेन्टिलेटर, आईसीयूजस्ता पूर्वाधारको अभाव हुने जोखिम छ,” उनले भने।