भारतमा कोरोनाको भयावहता देखाउने यी दर्जन तस्वीर
भारतमा कोरोनाभाइरस संक्रमणले डरलाग्दो स्वरूप लिएको छ। संक्रमणको नयाँ लहरले पछिल्ला दिनहरूमा अत्यधिक संक्रमित थपिएपछि त्यहाँको स्वास्थ्य प्रणालीलाई थेग्नै मुश्किल परिरहेको छ।
अस्पतालहरूमा पुग्ने गम्भीर संक्रमितलाई पनि अक्सिजन र शय्याको कमीका कारण फर्काउने गरिएको छ। कुनै परिवारले आफ्नो बिरामीका लागि शय्या पाउँदा पनि अस्पताल लैजान अर्को चुनौती छ।
भारतीय राज्यहरूमध्ये खासगरी दिल्लीको हालत सबैभन्दा खराब देखिएको छ। त्यहाँका अस्पतालहरूमा अक्सिजनको कमीका कारण संक्रमितहरूको मृत्यु भइरहेको छ।
स्रोतसाधनको अभावबीच स्वास्थ्यकर्मीहरू निकै दबाबमा काम गरिरहेका छन्।
शवदाह गृह र श्मशानघाटहरूका दृश्यले महामारीको हृदयविदारक तस्वीर पेश गरेको छ। संक्रमणका कारण प्रियजन गुमाएका परिवारहरूले अन्त्येष्टिका लागि घन्टौं पर्खनुपर्ने अवस्था छ। यस्तै, श्मशानघाटहरूमा शव पुर्ने ठाउँको अभाव हुन थालेको बीबीसी हिन्दीले जनाएको छ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मंगलबार मध्याह्न १२ बजेसम्म एक लाख ९७ हजार ८९४ पुगेको छ। त्यहाँ संक्रमणका कारण दैनिक दुई हजारभन्दा बढीको ज्यान गइरहेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्याबारे सरकारी तहबाट जुन दाबी गरिएको छ, उक्त आँकडाको सत्यतामा विभिन्न शहरमा सञ्चारमाध्यमहरूले प्रश्न उठाइरहेका छन्। तर, सम्बन्धित शहरका अधिकारीहरूले अहिलेसम्म मृतकको संख्या सम्बन्धमा सरकारी आँकडामा कुनै परिवर्तन गरेका छैनन्।
कोरोना संक्रमण दर दैनिक बढ्दै गएको भारतमा पाँच दिनदेखि दैनिक ३ लाखभन्दा बढी संक्रमित थपिँदै आएका छन्। मंगलबार मध्याह्नसम्म त्यहाँ सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजार नाघिसकेको छ। भारतमा कोरोना संक्रमण अझै बढ्ने बताएका विज्ञहरूले अर्को सातादेखि दैनिक ४ लाख ४० हजारको हाराहारीमा संक्रमित देखिने प्रक्षेपण गरेका छन्।
तस्वीरहरु: रोयटर्स / गेट्टी / बीबीसी / ईपीए