भारतबाट पश्चिमी नाका भएर भित्रिए १३ सय संक्रमित
सुदूरपश्चिमका दुई नाका भएर भारतबाट एक हजार तीन सयभन्दा बढी कोरोनाभाइरस संक्रमित भित्रिएका छन्।
भारतसँगका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीमा गरिएको परीक्षणमा एक हजार तीन सय ८९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, गत १६ चैतदेखि १३ वैशाखसम्म गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।
त्रिनगर नाकामा १३ हजार एक सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ११९ जनामा संक्रमण देखिएको छ। त्यस्तै, गड्डाचौकी नाकामा चार हजार २०० जनाको एन्टिजेन परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो।
देशका अन्य नाकाभन्दा सुदूरपश्चिमका दुई नाकामा भित्रिएकाहरूमा संक्रमण बढी देखिएको हो। यो एक महीनाको अवधिमा देशका प्रमुख १० नाकामा १९ हजार ४५० जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ५८५ जनामा कोरोना देखिएको थियो। जसमध्ये एक हजार ३८९ जना सुदूरपश्चिमकै दुई नाकामा भेटिएका हुन्।
सोमबार देशका १० नाकामा गरिएको परीक्षणमा ११४ जनामा कोरोना भेटिएको छ। जसमध्ये सुदूरपश्चिमका दुई नाकामा मात्रै १०३ जना रहेका छन्। अन्य आठ नाकामा ११ जनामा मात्रै संक्रमण देखिएको छ।
सोमबार मात्रै गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले बताए। उनका अनुसार, गौरीफन्टा नाका भएर सोमबार ७ सय जना भित्रिएका हुन् । उनीहरूमध्ये ६ सय ८० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिम प्रदेश खुला सीमानाका भएको कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। कोभिड अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि सिंगो प्रदेशमै भयावह अवस्था हुने सम्भावना देखिन थालेको नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा. प्रदीप मिश्रले बताए।
छिमेकी मुलुक भारतबाट दैनिक हजारौँको संख्यामा नेपालीहरू स्वदेश फर्किरहेका छन्। सीमा क्षेत्रमा होल्डिङ सेन्टरको व्यवस्थापन नहुँदा आधाभन्दा बढी परीक्षणबिना नै गाउँ फर्किरहेका छन्।
सवारी साधनमा जोर–बिजोर
कोरोना संक्रमण बढ्दै गएपछि कैलाली र कञ्चनपुरमा सवारी साधन जोर–बिजोर प्रणालीमा चल्ने निर्णय भएको छ। दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।
तोकिएको मापदण्डको पालना गरी आवश्यक सेवाका सवारी साधनहरू र लामो दूरीका सवारी साधनबाहेक अन्य छोटो दूरीका सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो। यस्तै, कैलाली–कञ्चनपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।
होल्डिङ सेन्टर स्थापना गर्ने तयारी
कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले गौरीफन्टा सीमानाकाको निरीक्षण गरेका छन्। नाकाको अवस्था बुझ्न कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो गौरीफन्टा नाका पुगेका हुन्।
उनीहरूले होल्डिङ सेन्टर स्थापनाका लागि गौरीफन्टा नाका नजिक पर्ने उपयुक्त स्थान उपलब्ध गराउन धनगढी उपमहानगरपालिकालाई अनुरोध समेत गरेका छन्। कञ्चनपुरको हकमा गड्डाचौकी नाका भई नेपाल प्रवेश गर्ने नागरिकहरूका लागि भीमदत्त नगरपालिकालाई उपयुक्त स्थानमा होल्डिङ सेन्टर स्थापना गर्ने गरी अनुरोध गर्ने निर्णय भएको छ।