निषेधाज्ञामा ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीले परिचयपत्र देखाएर हिँड्न पाउने
काठमाडौं उपत्यकामा १६ वैशाखदेखि एक साताका लागि लागू गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयको परिचयपत्र देखाएर आवतजावत गर्न पाउनेछन्।
उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आदेशमा नेपाल सरकारका कर्मचारी, ब्यांक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवाका कर्मचारीले कार्यालयको परिचयपत्र देखाएर आवतजावत गर्न दिने उल्लेख छ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारीबाट जारी हुने पास लिएर अस्पताल आउजाउ गर्ने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने व्यक्ति आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।
कोभिड–१९ को संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकामा १६ वैशाख बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ।