काठमाडौं उपत्यकामा १६ वैशाखदेखि एक साता निषेधाज्ञा, के खुल्छन्, के खुल्दैनन्?
कोरोनाभाइरस (कोेभिड–१९) को संक्रमण तीव्र मात्रामा फैलिएपछि काठमाडौंमा एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ।
१६ वैशाख बिहान ६ बजेदेखि २२ वैशाख राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमाहल, शपिङ मल, सैलुन, जीमखाना, स्विमिङ पुल, संग्रहालय लगायत सञ्चालन गर्न नपाइने भएको छ। विवाह, व्रतबन्धमा भने जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर स्वास्थ्य मापदण्ड पालना गर्ने गरी १५ जनासम्म सहभागी हुन पाइनेछ।
निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी र कुरुवासहित बढीमा दुई जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेश र सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल व्यवसायबाहेक अन्य पसल व्यवसाय हाललाई बन्द गरिने भएको छ। खाद्य सामग्रीका पसल तथा व्यवसाय बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने तोकिएको छ।
डिपार्टमेन्टल स्टोरमा ग्रोसरी कक्ष मात्र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ। यी पसल तथा व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भने अनिवार्य गरिएको छ।
निषेधाज्ञाको अवधिमा पनि ब्यांक तथा वित्तीय संस्था भने सञ्चालन हुनेछन्। नेपाल सरकारका कर्मचारी, ब्यांक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्र देखाएर आवतजावत गर्न पाउनेछन्।
यस्तो छ, जिल्ला प्रशासन कार्यालय काठमाडौंको निषेधाज्ञा आदेश: