गाईघाटमा अटो चालकलाई क्यूआर कोड वितरण
ग्लोबल आइएमई ब्यांक लिमिटेडको गाईघाट शाखाले सिटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकलाई क्यूआर कोड वितरण गरेको छ।
गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच ब्यांकको प्रदेश १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्साचालकलाई क्यूआर कोड वितरण गरेका हुन्। छिटो, छरितो र सरल ढङ्गबाट नगदरहित कारोबार गर्न सहयोग पुर्याउने उद्देश्यले क्यूआर कोड वितरण गरिएको सापकोटाले बताए।
क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरीद गर्दा नगद बोक्नुपर्ने र ब्यांकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने ब्यांकका गाईघाट शाखा प्रबन्धक रबिनराज दाहालले बताए। यसले कोभिड–१९ को संक्रमणको जोखिम पनि कम हुने उनको भनाइ छ।
यससँगै ब्यांकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीलाई क्यूआर हस्तान्तरण गरेको छ।