मनमोहनजी भन्थे, ‘काठमाडौंमा खसीको मासु कि पैसा हुनेले खान्छ कि मूर्खले खान्छ’
त्यतिवेलाको कम्युनिष्ट पार्टी सदस्य भएपछि अनुशासन र आचरण पालना गर्ने विषयमा कडिकडाउ हुन्थ्यो। पार्टीको जिम्मेवारीमा एउटा मुख्य काम त हुन्थ्यो नै, कथम् त्यो काम हुन सकेन भने त्यसको विकल्पमा के गर्ने भनेर पनि सोच्नुपर्ने पद्धति बसालिएको थियो।
मनमोहन अधिकारीसँग २००९ सालदेखि नै मेरो चिनजान थियो। त्यसै वर्ष नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको थिएँ म। उतिवेला संस्कृत छात्र संघमा आबद्ध थिएँ। संघमा मेरो सक्रियता देखेर कम्युनिष्ट पार्टीले सम्पर्क बढाएपछि समर्थक हुँदै सदस्य बनेको थिएँ। पार्टीमा लागेपछि सङ्गठन बनाउने, सदस्यहरूबाट लेबी रकम उठाउने जस्ता काममा सक्रिय हुन थालें।
स्थापनाको चार वर्षपछि २०१० सालमा कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन भयो, जसबाट कमरेड अधिकारी महासचिव निर्वाचित भए। जेल तथा सिंहदरबार कब्जा गर्ने के.आई. सिंह काण्डसँग जोडेर सरकारले पार्टीलाई प्रतिबन्ध लगाएपछि हामीले भूमिगत रूपमा काम गर्न थाल्यौं।
मनमोहन, पुष्पलाल श्रेष्ठ, कमर शाह, तुलसीलाल अमात्य, डी.पी. अधिकारी, शैलेन्द्रकुमार उपाध्यायहरू हामीलाई पढाउँथे। काठमाडौंका ठमेल, न्हैकन्तला, इटुम्बहाल लगायत ठाउँका ठूल्ठूला घरका बुइँगलमा पार्टीले कक्षा चलाउँथ्यो।
२०१० सालमै पार्टीको काठमाडौं जिल्ला कमिटीको तीनदिने सम्मेलन आयोजना गरियो। सम्मेलन काठमाडौं म्हैपीस्थित एक किसानको घरमा भएको थियो । सम्मेलनमा पी.एन.राणा, अरबिन्द रिमाल, वासुदेव ढुङ्गाना, मथुराप्रसाद श्रेष्ठ, कुसुम श्रेष्ठ, रामेश्वरप्रसाद प्रधान, भुवन राणा, भरतराज जोशी, साधना प्रधान, साहना प्रधान, लक्ष्मीलाल हलुवाई लगायत धेरै जना थियौं।
सम्मेलनमा सहभागी सबैलाई ओढ्ने आफैंले ल्याउन भनिएको थियो। सुत्न भने सुकुलको व्यवस्था थियो, सिरानीका लागि दुई वटा इँटा पाइने। राति एघार बजेसम्म सम्मेलन चल्थ्यो, त्यसपछि सुकुलमुनि इँटाको सिरानी राखेर मस्तसँग निदाउँथ्यौं। दिनमा एक छाक मासु पनि खान पाइन्थ्यो– झाेल हालेको राँगाको मासु र उसिना चामलको भात।
म त्यो मासुको चोक्टा खान सक्दिनथें, झाेल भने काइदाको लाग्थ्यो। मनमोहनजी भन्थे, ‘काठमाडौंमा खसीको मासु कि पैसा हुनेले खान्छ कि मूर्खले खान्छ।’ त्यतिवेला खसीको मासु एकपाउ (२०० ग्राम) को रु.१ थियो।
त्यतिवेलाको कम्युनिष्ट आन्दोलनमा पार्टी सदस्य भएपछि अनुशासन र आचरण पालना गर्ने विषयमा कडिकडाउ हुन्थ्यो। पार्टीको जिम्मेवारीमा एउटा मुख्य काम त हुन्थ्यो नै, कथम् त्यो काम हुन सकेन भने त्यसको विकल्पमा के गर्ने भनेर पनि सोच्नुपर्ने पद्धति बसालिएको थियो।
जसले काम पूरा गर्न र कार्यकर्ताको बुद्धि तिखार्न सघाउँथ्यो। यस्ता कल्पनाशीलताले कम्युनिष्ट अति सिपालु हुन्थ्यो। त्यसैले त एउटा कम्युनिष्ट कार्यकर्ता अरू पूँजीवादी पार्टीका दश जना कार्यकर्ता बराबर हुन्छ भनिन्थ्यो। २४ घण्टामा कम्तीमा तीन घण्टा पढ्नैपर्ने, पढेको पुस्तक वा विषयको रिपोर्ट गर्नैपर्ने । त्यो रिपोर्ट अरूलाई पढाउन प्रयोगमा आउँथ्यो ।
एउटालाई अर्कै भन्ठानेपछि...
२०२७/२८ सालदेखि म पार्टीमा सक्रिय भइनँ । कमरेड मनमोहनजीसँग आक्कलझुक्कल भेटघाट भने भइरहन्थ्यो । म राष्ट्रिय समाचार समिति (रासस) मा काम गर्थें । २०४१ सालतिर रासस का महाप्रबन्धक राधेश्याम विष्टले मनमोहनजीसँग भेट्ने इच्छा व्यक्त गरेपछि हामी उनको घर विराटनगर गयौं । त्यसवेला टेलिफोन छ्यास्छ्यास्ती थिएन। हामी सम्पर्क र खबर नै नगरी गएका थियौं । धन्न भेट भयो।
कमरेड साधनाले हाम्रो आतिथ्य सत्कार गर्नुभयो। चियापानका क्रममा मैले मनमोहनजीसँग विष्टको परिचय गराएँ। तर, कुरा गर्दै जाँदा कमरेड झुक्किएर पार्टीको गुप्त योजना र कार्यक्रम पो बताउन थाले । पञ्चायती शासनको वेला छ, सरकारी स्वामित्वकोे समाचार संस्थाको महाप्रबन्धकसामु मनमोहनजी भित्री कुरा खोल्दैछन् । म बडो असमञ्जसमा परें।
मनमोहनजीले राधेश्याम विष्टलाई अंग्रेजी अखबार मदरल्याण्ड का सम्पादक–प्रकाशक मणिन्द्रराज श्रेष्ठ भन्ठानेछन्। निजी लगानीको त्यो अखबारमा कम्युनिष्ट पार्टीको समाचार महत्वसाथ छापिन्थ्यो। त्यही भएर मनमोहनजी बडो उत्साहित भएर बोलिरहेका थिए। पार्टीका गोप्य कुरा चुहाउलान् कि भन्ने पिरलो भयो । त्यत्रो ठूलो नेतालाई कोसँग के भन्ने, के नभन्ने थाहा नहोला भन्ने कसरी मान्नु?
राधेश्यामजीलाई पनि पत्रकारिताको आचरण र मर्यादा राम्रै गरी थाहा थियो। कमरेड मनमोहनबाट जतिसुकै गुप्त कुरा थाहा पाए पनि उनले तत्कालीन सरकार वा दरबारसम्म नपुर्याउनेमा म पूरापूर विश्वस्त नै थिएँ। तैपनि के हो के हो भन्ने लागिरह्यो। धन्न त्यस्तो कुनै समस्या निम्तिएन।
(२०७६ काे हिमालखबरबाट)