कोभिड-१९ ले रोकिएको माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनाको निर्माण बल्ल शुरू
कोभिड-१९ को महामारीको चपेटामा परेको ३७ मेगावाटकोे माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनाको काम बल्ल शुरू भएको छ।
नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो साता घर गएका चिनियाँ कामदारहरू कोभिड-१९ का कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा आयोजनाको निर्माण करीब १४ महीना ठप्पप्रायः भएको थियो।
ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युत्गृह लगायतका संरचना निर्माणको कार्य गरिरहेको आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध-सञ्चालक मोहनप्रसाद गौतमले बताए। अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिकहरू खटिएका छन्।
गौतमका अनुसार, चीनसँगका भन्सार नाकाहरू अझै पूर्ण रूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरीद गरिसकेका तथा खरीद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्रीहरू ल्याउन सकेको छैन। यसले गर्दा आयोजनाको काम प्रभावित हुने देखिएको उनले बताए।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजना फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण शुरू गरिएको थियो। कोभिड–१९ का कारण लगातार १४ महीना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम शुरू हुन नसकेकाले आयोजनाको निर्माण २०७९ चैतभित्र सक्ने लक्ष्य राखिएको छ।
इन्जिनियरिङ, खरीद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर अर्थात् रू.१ अर्ब ९१ करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो।
ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ। अहिलेसम्म आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत भएको छ।
आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये १.८ किलोमिटर खनिएको छ। विद्युत्गृहको पहिलो चरणको खन्ने र सपोर्टको काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको छ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको क्यास्केड भएकाले त्रिशूली-३ बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन। त्रिशूली-३ एको विद्युत्गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ। यसकाे विद्युत्गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन शुरू गरिएको छ।
आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ। कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ।
अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ। आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ।
आयोजनाबाट सुक्खायाममा (मंसीर १६ देखि जेष्ठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेष्ठ १६ देखि मंसीर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ।